काठमाडौँ । सरकारले भदौ १५ सम्म भर्ना र परीक्षा सञ्चालन गर्न नपाउने निर्णय गरेपछि शैक्षिक गतिविधि थप समस्याग्रस्त बन्ने भएको छ । लकडाउन हटाउने निर्णयसँग सरकारले भदौ १ बाट विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने निर्णय गरेको थियो ।कोभिड–१९ को संक्रमण बढ्दै गएकाले मन्त्रिपरिषद्ले सोमबार अर्को निर्णय गरेको हो ।

संक्रमण कम नभएसम्म शैक्षिक क्षेत्र चलायमान हुन नसक्ने शिक्षाकर्मीहरू बताउँछन् । राष्ट्रिय परीक्षा बोर्डले तयारी पूरा भइसकेको एसईईको नतिजा प्रकाशित गर्न रोकेको छ भने कक्षा ११ को आन्तरिक परीक्षा सञ्चालन नगर्न पनि विद्यालयहरूलाई निर्देशन गरेको छ । वैशाखदेखि रोकिएको कक्षा १२ को परीक्षा झनै अनिश्चित छ ।

स्रोतका अनुसार शिक्षा मन्त्रालयले विद्यार्थीको चहलपहल बढ्ने भन्दै नतिजा प्रकाशन र परीक्षाको काम अघि नबढाउन बोर्डका पदाधिकारीहरूलाई निर्देशन दिएको छ । यसबाट एसईई, कक्षा ११ र १२ का करिब १५ लाख विद्यार्थी प्रभावित छन् । त्रिभुवन विश्वविद्यालयसहितका विश्वविद्यालयले भदौमा सञ्चालन गर्ने भनिएका परीक्षा स्थगित गरेका छन् ।

चैतदेखि रोकिएको परीक्षा भदौ दोस्रो साताबाट सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरिएको थियो । विश्वविद्यालयहरूले अत्यावश्यकबाहेकका अन्य गतिविधि केही समय बन्द गर्ने सूचना सार्वजनिक गरेका छन् । शिक्षण संस्थामा सञ्चालित वैकल्पिक कक्षा पनि प्रभावकारी नभएको गुनासो छ ।

विद्यार्थीले शैक्षिकसत्र नै क्षति हुने भन्दै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न आग्रह गर्दै आएका छन् । विश्वविद्यालय अनुदान आयोगले पनि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न कार्यविधि तयार गरिसकेको छ ।

त्रिवि भने सरकारले परीक्षा सञ्चालन गर्न सक्ने निर्णय गर्नेबित्तिकै परम्परागत विधिबाटै परीक्षा गर्ने तयारीमा जुटेको थियो । ‘सरकारले लकडाउन मात्रै अन्त्य गरेको हो, कोरोनाको संक्रमण जुन कुनै दिन फैलन्छ भन्ने कुरा पदाधिकारीले बुझ्न सकेनन्,’

त्रिविका एक सहप्राध्यापकले भने, ‘भदौ दोस्रो साताबाट परम्परागत विधिबाटै परीक्षा गर्न सूचना जारी गरियो, अहिले कोरोनाको केस बढ्दै गएपछि न परम्परागत विधिबाट परीक्षा हुन सक्यो, न वैकल्पिक विधि लागू गर्न सकियो ।’

त्रिवि आफैंले आन्तरिक मूल्यांकन, ‘ओपन बुक’ र अनलाइन माध्यमबाट परीक्षा गर्न सक्ने निष्कर्ष निकालेको थियो । लकडाउन खुल्नेबित्तिकै अन्य वैकल्पिक विधिलाई छाडेर परम्परागत विधिमै रमाउन खोज्दा शैक्षिक गतिविधि ठप्प हुन पुगेको ती सहप्राध्यापकले बताए ।

त्रिविले चिकित्सा, इन्जिनियरिङ, विज्ञान प्रविधि, व्यवस्थापन, मानविकी, शिक्षा संकायलगायत सबैको परीक्षा स्थगन गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशन गरेर अर्को सूचना नभएसम्मका लागि परीक्षा रोकिएको जनाएको छ ।

विश्वविद्यलायका अति आवश्यकबाहेक अन्य सेवामा रोक लगाइएको छ । त्रिविको निर्णयपछि क्याम्पस र विभागहरू ठप्प छन् । काठमाडौं विश्वविद्यालयले पनि १५ दिनका लागि स्कुल अफ मेडिकलबाहेकका निकायका सेवा स्थगन गर्ने निर्णय लिएको छ ।आजको कान्तिपुर दैनिकमा खबर छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु