काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । “हामीले स्थिति सहज भएपछि परीक्षाको तयारी गरेका थियौँ”, उनले भने, “ तर अहिले फेरि सङ्क्रमण बढिरहेको छ । त्यसैले परीक्षा गर्ने तयारी गरे पनि पुनः स्थगन गरेका छौँ ।” त्रिविले सामान्यावस्था भए मात्र परीक्षा चलाउने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले अब हुने परीक्षाको जिम्मा डीन कार्यालयलाई दिइएको जानकारी दिए । “कस्तो अवस्थामा परीक्षा गर्ने नगर्ने भन्ने जिम्मा डीन कार्यालयलाई दिएका छौँ”, उनले भने, “ सामान्य अवस्था भए पनि डीन कार्यालय नै परीक्षाको तयारी गर्ने छ ।”

भदौ १ गतेदेखि लामो दूरीका यातायात सञ्चालन भएपछि विद्यार्थी काठमाडौं आउने र त्यसपछि परीक्षा सञ्चालन गर्ने तयारी गरिएको थियो । कोरोना भाइरसको सङ्क्रमण बढदै गएपछि गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १५ गतेसम्मका लागि लामो दूरीका यातायात चल्न नदिने निर्णय गरेको छ ।

२८ परीक्षाफल प्रकाशित
पनिकाले बन्दाबन्दी यता २८ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । बन्दाबन्दी समयमा १६ र साउन ७ यता १२ वार्षिक तथा सेमेष्टर परीक्षाको परीक्षाफल प्रकाशन गरिएको परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।

पनिकाले बन्दाबन्दीमा प्राध्यापकलाई कार्यालय बोलाई उत्तरपुस्तिका परीक्षण गरी वैशाख १८ गतेदेखि नतिजा प्रकाशन गर्न थालेको हो । उनका अनुसार अब बन्दाबन्दी अगाडि परीक्षा भएका आठ परीषाका परीक्षाफल मात्र प्रकाशन बाँकी छ । रासस

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु