काठमाडौ । नेपालमा विश्वासको अर्को नाम थियो लोकसेवा आयोग । जसले अहिलेसम्म विश्वास गिराएको थिएन । तर पछिल्लो समय केही यस्ता कुरा बाहिरिरहेका छन् जसले यो गरिमामय संस्थामाथीको विश्वास चुक्दै आएको छ । प्राविधिकतर्फको सहसचिव पदका लागि लिएको परीक्षाको नतिजामा समेत ‘सेटिङ’ भएको शंका लागेपछि नतिजा आइसकेको लिखित परीक्षाको सम्पूर्ण प्रक्रिया रद्द गरेको छ ।

लिखितको परिणाम आएको झन्डै ५० दिनपछि आयोगले नतिजा र परीक्षाको प्रक्रिया रद्द गरेको हो । अन्तर्वार्ता यसअघि नै स्थगित गरिएको थियो । आयोगले बिहीबार विज्ञापन नं. १७१६७–०७६–७७ वाट विविध सेवा, राजपत्रांकित प्रथम श्रेणी, सूचना प्रविधि विज्ञ पदको पदपूर्तिका लागि लिइएको लिखित परीक्षाको नजिता प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया रद्द गर्ने निर्णय गरेको हो । आयोगले उक्त पदका लागि पुनः लिखित परीक्षा लिने जनाएको छ । तर, यसअघि दरखास्त स्वीकृत भएका व्यक्तिहरू मात्रै परीक्षामा सम्मिलित हुन पाउनेछन् ।

 

राजपत्रांकित प्रथम श्रेणी सूचना प्रविधिविज्ञको रिक्त एक पदका लागि आयोगले गत पुसको १५ र १६ गते लिखित परीक्षा लिएको थियो । त्यसको नतिजा असार ११ गते आएको हो । लिखितमा तीन जना उत्तीर्ण भएका थिए । उनीहरूको अन्तर्वार्ता असार ३१ गते तोकिएको थियो । आयोग स्रोतका अनुसार अन्तर्वार्ताभन्दा आधा घण्टा अगाडि आयोग अध्यक्ष उमेश मैनालीलाई लिखित परीक्षाको परिणाममा परीक्षार्थी र कापी जाँच्ने विज्ञबीच ‘सेटिङ’ भएर परिणाम आएको सूचना आएको थियो ।

सहसचिव पदको अन्तर्वार्ता अध्यक्ष नेतृत्वकै टोलीले लिने हो । अध्यक्ष, आयोगका अन्य पदाधिकारी र एकजना विज्ञ सम्मिलित अन्तर्वार्ता टोली अन्तर्वार्ता लिन तयार रहेका बेला आएको सूचनाका आधारमा तत्कालै अन्तर्वार्ता स्थगित गरिएको थियो । उक्त सूचनामा विश्वास गर्न सकिने केही आधार भेटिएपछि थप छानविन तथा परीक्षाको मर्यादा उच्च राख्न तत्कालै अन्तर्वार्ता स्थगित गरिएको आयोग उच्च स्रोतले बतायो ।

सहसचिवको परीक्षाको कापी जाँच्न आयोगले अवकाश प्राप्त सचिवहरूलाई जिम्मा लगाउँदै आएको छ । आईटी क्षेत्रका अवकाश प्राप्त सचिव सीमित व्यक्ति मात्रै छन् । स्रोतले भन्यो, ‘सीमित विज्ञ भएकाले त्यसको सम्पर्कमा परीक्षार्थी पुगेको र त्यहाँ ‘सेटिङ’ भएको केही आधार भेटिएको छ । ठ्याक्कै प्रमाण नभेटिएकाले कसैलाई कारबाहीको दायरामा आयोगले ल्याउन सकेको छैन ।’ आयोग पदाधिकारीहरूले यस विषयमा औपचारिक रूपमा केही बोल्न चाहेका छैनन् ।

विज्ञ र परीक्षार्थीबीच व्यक्तिगत सम्बन्ध रहेको आशंका पनि आयोगलाई छ । कहाँ कोबाट बदमासी भएको हो, त्यसको खोजी कार्य आयोगले गरिरहेको स्रोतको भनाइ छ । केही अगाडि आयोगमै कार्यरत एक जना अधिकृतले लोक सेवाको परीक्षामा आफ्नै छोरीलाई उत्तीर्ण गराउन भूमिका खेलेको विषय बाहिरिएको थियो । आयोगले उक्त परीक्षा रद्द गरी बाबुछोरीलाई नै कारबाही गरेको थियो ।

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु