१८ घण्टा नपुग्दै कोरोनाबाट थप ७ जनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार ३ भदौ, २०७७

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) नेपालका लागि झनै जटिल देखिदै आएको छ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो १८ घण्टा नपुग्दै थप ७ जनाको मृत्यु भएको छ । हिजो २४ घण्टामापनि ७ जनाको मृत्यु भएको थियो । आज ललितपुर एक हेटौंडा, धरान र वीरगञ्‍जमा दुई –दुई गरी थप ७ जनाको मृत्यु भएको हो ।

 

भक्तपुर सुर्यविनायक निवासी ६१ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान पाटन अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी गत साउन २१ गते अस्पताल भर्ना भएकी थिइन् । हेटौँडा उपमहानगरपालिकाभित्र पछिल्लो २४ घण्टामा मृत्यु भएका दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलका ६१ बर्षीय पुरुष वृद्धको मंगलबार राति मृत्यु भएको थियो । उनी मृगौला, उच्च रक्तचाप लगायत दीर्घरोगीका रुपमा उपचाररत थिए । यस्तै हेटौँडा उपमहानगरपालिका वडा नं १९ सान्ननटारकी ६२ बर्षीया बृद्धाको हिजो मृत्यु भएको हो ।

 

तीनमहिनादेखि कलेजोको क्यान्सरबाट पीडित भई चितवनस्थित मेडिकल कलेजमा उपचारका लागि लगिएकी उनको मृत्यु हुनुअघि गरिएको परिक्षण पोजेटिभ रिर्पोट आएको जानकारी मेडिकल कलेजले दिएको हेटौँडा उपमहानगरपालिका १९ नं वडाध्यक्ष नवराज सुवेदीले बताए ।

 

 

कोरोना संक्रमणबाट सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङको बूढीगंगा २ की ६७ वर्षीय महिला रहेकी छिन् । हिजो बिहान २ बजे अस्पताल भर्ना भएकी उनकोे उपचारका क्रममा हिजै साँझ पौने पाँच बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता निदेश सापकोटाले जानकारी दिए । मृतक महिलामा मुटुको समस्या रहेको सापकोटाले बताए । यस्तै ७१ वर्षीया महिलाको उपचारको क्रममा बिहान ११ बजेर १५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । साउन २१ गते संक्रमण पुष्टि भएकी उनी खोकी लाग्ने, सास फेर्न गाह्रो हुने र ज्वरोको समस्या देखिएपछि साउन २४ गते बिहान अस्पताल भर्ना भएकी थिइन् । उनी दम र मुटुको समस्याका कारण उपचाररत रहेको अस्पतालले जनाएको छ ।

 

कोरोनाबाट वीरगञ्‍जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्‍जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो । मृत्युपश्चात उनमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी गण्डक कोभिड अस्पतालमा उपचार गराइरहेका वीरगञ्ज बिर्ताका ८४ वर्षका पुरुषको मंगलबार राति साढे १० बजे मृत्यु भएको छ । साउन २७ गते उनी अस्पताल भर्ना भएका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु