काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरी अर्को तरंग पैदा भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पल्लामा उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री राम बहादुर थापा (वादल) आएपछि ओली इतर गुटमा ठूलै कम्पन पैदा भएको हो । ओली आफैले आफ्नो गुट भेला बोलाएर उनीहरुसँग सहमति गरेको खुल्न आएको छ । आन्तरिक विवाद निरुपणका लागि ६ सदस्यीय कार्यदल बनाएर काम भैरहेका बेला बालुवाटारमा मंगलबार साँझ आफ्ना समूहका प्रभावशाली नेताहरु र आफूलाई सहयोग गर्ने पूर्व माओवादीका नेताहरुलाई समेत राखेर भेला गरेका हुन् ।

 

पार्टीभित्रैबाट प्रधानमन्त्री तथा अध्यक्ष दुवै पदबाट राजीनामा दिन चर्को दबाब परेका बेला कार्यदल बनाएर त्यसलाई टार्ने कोसिसमा रहेका ओलीले आफ्ना समूहका नेताहरुलाई बोलाएर पछिल्लो परिस्थितिबारे जानकारी गराएको स्रोतले जनाएको छ । आन्तरिक विवाद सुल्झाउन ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर कार्यदल गठन गरेका थिए ।

 

 

अन्य नेताहरु माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ समेतलाई थाहा नदिई प्रचण्डले ओलीको कार्यदल बनाउने प्रस्तावमा सहमति गरेपछि प्रचण्डको गुटमा खैलाबैला भएको थियो । पछि त्यही कार्यदललाई सचिवालय बैठकले अनुमोदन गरेर कार्यदललाई वैधानिक बनाइएको थियो ।

 

उक्त कार्यदलबाट काम भैरहेको अवस्थामा ओलीले भने गुट भेला शुरु गरेका हुन् । सो भेलामा वामदेव गौतम, रामबहादुर थापा, लेखराज भट्ट सहभागी थिए । कर्णाली प्रदेशको बाजुरा पुगेका गृहमन्त्री थापा पनि साँझ सो भेलामा पुगेको स्रोतको दावी छ। भेलामा ईश्वर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञावाली, शंकर पोखरेल लगायतका नेताहरु सहभागी भएका थिए।

 

कार्यदलको वैधानिकतामा वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नै प्रश्न उठाएपछि उनीहरुको चित्त बुझाउन सचिवालय बैठक गरेका ओली प्रचण्डले कार्यदलमा पनि तीन नेताहरुलाई समर्थन गर्ने प्रभावशाली स्थायी कमिटी सदस्यहरुको टिम बनाएर अघि बढाएका छन् । कार्यदलको प्रस्तावबारेमा तीन वटै नेताहरुलाई आफ्नो समूहबाट व्रिफङ भैरहको बेला ओलीले भने आफ्नो समूहसँग छुट्टै छलफल गरेको स्रोतको दावी छ ।

 

कहिले छुटाछुटै नेताहरु त कहिले सामुहिक रुपमा ओलीले आफनो समुहसँग परामर्श गरिरहेको स्रोतको दावी छ। सो भेलामा महासचिव विष्णु पौडेल भने सहभागी थिएनन् । बैठकमा ओलीले उपाध्यक्ष वामदेव गौतम र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापालाई पनि बोलाएका थिए । त्यस्तै प्रचण्ड समुह छोडेर ओलीतिर लागेका उद्योगमन्त्री लेखराज भट्ट पनि उक्त भेलामा सहभागी भएका थिए । तर त्यो भेलाको अन्तिममा पुगेका गौतमले आफू प्रधानमन्त्रीले बोलाएर आएको बताउदै कुनै पनि गुट वा समूहमा आफूलाई नराख्न भन्दै बाहिरिएको स्रोतको दावी छ ।

 

भेलाले कार्यदलको सुझाव आएपछि सचिवालय बैठकबाट अनुमोदन गरेर मात्रै स्थायी कमिटीको बैठक राख्न सुझाव दिएको थियो । असार १० देखि सुरु स्थायी कमिटी बैठक पटक–पटक स्थगन, दुई अध्यक्ष ओली–दाहालबीच श्रृंखलाबद्ध संवाद र पार्टीभित्र बढ्दो धु्र्वीकरणले शीर्ष नेताहरु असफल भएको हो कि भन्ने कोणबाट पनि छलफल भएको थियो । उपाध्यक्ष वामदेव गौतमले भने सचिवालय सदस्यहरुवीच भएको विवाद सचिवालयबाटै टुग्याउनु पर्ने भन्दै आएका छन् । उनले नेताहरु असफल भएका हुन भन्ने प्रश्न उठाएको बेला ओली गुट भेलामा पनि सो विषयले प्राथमिकता पाएको थियो ।

 

ओलीमाथि अ हंकार, आलोचना पचाउन नसक्ने स्वभाव र अधिनायकवादी कार्यशैली रहेको आरोप लगाइएको बारेमा भने गुट भेला मौन रहेको थियो । दाहाल नेपाल समूहले गुट भेला गरेको भन्दै आएका ओली आफैले गुट भेलालाई निरन्तरता दिएको टिप्पणी पनि पार्टीभित्र शुरु भएको छ। सरकारी निवास वालुवाटारमा उनले यस्तो भेला एक पटक होइन दर्जन पटक गर्दै आएको एक केन्द्रीय सदस्यले दावी गरेका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु