नेपाली साहित्य आकाशका चम्किला नक्षत्र हुन् । राष्ट्रकवि माधव प्रसाद घिमिरे ! नेपाली काव्य जगतमा भावमा स्वच्छन्दता र शैलीमा परिष्कार भएका आधुनिक कविका रूपमा चिरपरिचित भएतापनि आदिकविदेखि वर्तमानसम्मको नेपाली कविताको मियोका रूपमा चिनिन्छन् राष्ट्रकवि घिमिरे !

 

किनकि नेपाली छन्द कवितामा आदिकवि भानुभक्तको सरलता र कविशिरोमणि लेखनाथको परिष्कार र महाकवि लक्ष्मीप्रसादको स्वच्छन्दताको त्रिवेणी अर्थात् संगमका रुपमा पनि उहाँलाई लिइन्छ भने आधुनिक कालमा त छन्दकविताको मेरुदण्डरूपी विरासत उहाँबाट अरू कसैले खोस्न सकेन । यो पनि हो कि नेपाली साहित्यमा आदरणीयहरूको नाम लिँदा अर्थात आदिकवि भानुभक्त, युवाकवि मोतीराम, कवि शिरोमणि लेखनाथ, महाकवि लक्ष्मीप्रसाद, नाट्यसम्राट् बालकृष्ण सम सँगैसँगै राष्ट्रकवि माधव प्रसाद घिमिरेको नाम लिन हामीले कहिल्यै भुलेनौँ र भुल्दैनौँ पनि ।

 

 

आज हामीले उहाँलाई गुमाइसक्यौँ । उहाँलाई भेटेर वा उहाँसँग कुनै पारिवारिक साइनो भएर म उहाँलाई चिन्दिनँ । यस्तो चिन्नु र मान्छेको कृतिले चिन्नु आकाश पातालको फरक हुन्छ ! मान्छेको कृति नै उसको पहिचान हो । मान्छे चिन्ने आधार हो । मान्छेको अमरताको कारण हो भन्ने मलाई लाग्छ र कवि माधव घिमिरेलाई सानैदेखि उहाँका कविता र गीत सुन्दै र पढ्दै आएको नाताले चिन्छु । उहाँलाई चिन्ने र चिनाउने आधार भनेकै उहाँकै नयाँ नेपाल, पापिनी आमा, राजेश्वरी, धर्तीमाता , राष्ट्रनिर्माता, गौरी, मालती मङ्गले जस्ता कालजयी कृतिहरू नै हुन् । यही अर्थमा या दृष्टिकोणमा राष्ट्रकविलाई सरसर्ती लेख्ने जमर्को गरेको छु । तर, राष्ट्रकवि एक बसाइमा लेखिसकिने मान्छे भने पक्कै होइनन् । मेरो बुझाइलाई सङ्केत मात्र गर्नेछु ।

 

मलाई त्यतिबेलाको एउटा कुरा सम्झना छ । जुन बेला गणतन्त्र नेपालको राष्ट्रिय गानको आह्वान गरिएको थियो ! त्यसबेला उहाँको गाउँछ गीत नेपाली... गीत नै राख्ने भन्ने प्रस्ताव पनि आएको थियो । तथापि जनताले ल्याएको गणतन्त्र भएकाले यो गीत छँदै छ । जनतामा आह्वान गरौँ र नयाँ छनौट गरौँ भन्ने विषयले प्राथमिकता पाएर जनतामा आह्वान गरियो । जुन राष्ट्रिय गान छनौट मण्डलमा उहाँ प्रमुख भूमिकामा पनि हुनुहुन्थ्यो । जे होस् गाउँछ गीत नेपाली... नेपाली काव्यमा यति विराट भाव बोकेको अर्थात राष्ट्रप्रेमले ओतप्रोत भएको कविता वा गीत हो । यत्तिकै सामर्थ्य भएको अर्को कविता छैन भन्ने लाग्छ मलाई ।

 

एकदिन म डा. माधव पोखरेल गुरुसँग एउटा कविता लेखेर भूमिका लेखिमाग्न जाँदा काव्य शील्पीबारे पढाउँदै गुरुले उही कविता गाउँछ गीत नेपाली ज्योतिको पङ्ख उचाली... लाई उदाहरण दिँदै यो हरफ राष्ट्रकविको दसौँ वर्षको साधनाबाट जन्मिएको थाहा पाउँदा म आश्चर्यचकित बनेको थिए । जुन ज्योतिको पङ्ख उचालीको अर्थ एउटा परेवाको दुई पखेटाझैँ नेपालको झन्डाका दुई त्रिकोण भएको तुलना गर्दै प्रत्येक नेपालीले झन्डाको पखेटा लगाई गीत गाउँछन् भन्ने कविको परिकल्पना भएको पनि बुझेँ ।

यो प्रतिनिधिमूलक हरफ हो । उहाँका कवितामा प्रत्येक शब्द शब्दमा राष्ट्रप्रेम यति गहन र फराकिलो रूपमा पाइन्छ कि जति नै विराट भावको समालोचना गर्छु भन्नेहरू पनि चिप्लिन्छन् । त्यति सामर्थ्य र शिल्प पाइन्छ उहाँका कवितामा । पूर्वमा टिस्टा, पश्चिममा काँगडा (बृहत् नेपालको सीमाना) कुनै शक्तिका सामु नेपाली वीरता नझुकेको कुरा ! जुन कविताको अंशले बोकेको भावको व्याख्या सिङ्गो नेपालको एकीकरण अभियानको पूर्ण पाठ हो । यहाँनेर राष्ट्रकविका बारेमा भन्नुपर्ने विषय के हो भने, यदि राष्ट्रकवि कुनै वाद वा धारामा आस्था राखेर लेख्थे भने त्यो हो राष्ट्रवाद अर्थात राष्ट्रप्रेम । यसकै अर्को अनुपम उदाहरण हो ।

 

नेपाली हामी रहुँला कहाँ नेपालै नरहे !
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे !!

 

यस्तै उहाँका कविताबाट पर्गेल्नुपर्ने अर्को पाटो हो पूर्ण कवित्व । उहाँका कवितामा पूर्ण कवित्व भाव पाइन्छ अर्थात् आग्राका कुरालाई पुष्टि गर्न गाग्राका कुरा ल्याउने प्रवृति उहाँमा छैन । जसरी फूलको पुङ्केशरमा त्यसको सुगन्ध र आकर्षणले चराले उडिउडी पखेटाको थरथराहटमा आनन्द लिइरहन्छ । जति नै दुःख भए पनि ऊ त्यहाँबाट भाग्न सक्दैन । प्रकृतिमा हामी यो अवस्था बिरलै देख्छौ । त्यस्तै कष्टपूर्ण थरथराहटमा पनि असीम आनन्द र प्रेम हुनुपर्छ कवितामा ! विषयवस्तुको केन्द्रीयतामा कविता रहनुपर्छ र घिमिरेका कविता यसप्रकारका छन् । यसको उदाहरणका रुपमा उहाँको रूपरानी कवितालाई लिन सकिन्छ । यसरी कवि घिमिरेका कविताले कविताको विराट र वास्तविक परिभाषा समेटेको पाइन्छ । अर्थात् उहाँका कविताबाट कविताको वास्तविक परिभाषा पर्गेल्न सकिन्छ ।

 

उहाँका कविताहरूबाट निस्कने अर्को आवाज हो मानवतावाद । मानवतावादको व्याख्या गर्नु भन्दा पनि उहाँको एउटा कृतिको नाम लिए पुग्छ जस्तो लाग्छ मलाई । त्यो हो गौरी, ममता, करुणा, प्रेम, वियोग, नारी (पुरुष, बालक जम्मै यही कृतिमा पाइन्छ । जसको गहनता केलाउने सामर्थ्य पनि कमै ऋषिमुनिहरूको रहला । यो स्तरको शोककाव्य नेपाली साहित्य जगत्मा छैन होला, सायद ।

यी रोए पनि दुःख लाग्छ यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि दुःख लाग्छ यिनले बिर्से कि आमा भनी ।

यस्तै गरी एउटा प्रसङ्ग यहाँ जोड्नु पर्छ भन्ने मलाई लागेको छ । हामीले इन्द्रिय अर्थात् ज्ञानेन्द्रियहरूबारे पढेका छौँ तर एउटै कविताको एउटै श्लोक पाँच ज्ञानेन्द्रियको प्रयोग भएको हामी विरलै मान्छेलाई थाहा छ। त्यही कविता हामीले स्कुलदेखि विश्वविद्यालयसम्म पढ्यौ तर हाम्रा गुरुहरूले त्यो पक्षबाट कविताको विश्लेषण गर्नुभएन । उनै राष्ट्रकविको वैशाख कविताको एक श्लोकमा पाँचै इन्द्रियको प्रयोग भएको छ ।

 

डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मीठो हावाले
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुहेली
गोठालाले वनवन डुली हाल्न थाल्यो सुसेली ।

प्रस्तुत पद्यमा पहिलो हरफमा आँखा, दोस्रो हरफमा नाक र छाला तेस्रो हरफमा जिब्रो, चौथो हरफमा कान गरि पाँचै इन्द्रियको प्रयोग भएको छ । यसप्रकारको काव्यकारिताको विशिष्टता सायद नेपाली साहित्यमा बिरलै पाइएला । यो प्रसङ्ग एक मित्र गुरुबाट उहाँलाई स्वयं कविले भन्नुभएको भनी थाहा पाउँदा म आश्चर्यचकित बनेको थिए ।

 

जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि सायद यस्तै प्रसङ्गहरूले पुष्टि गर्दछन् होला । कवि घिमिरेका कवितामा पाइने अर्को पाटो हो प्रकृति र संस्कृति । कस्तुरी मृगको सुगन्ध बहने कैलाश मेरो घर ।। यस्ता पद्यहरू उहाँका हरेक कविता, नाटकहरूमा पाइन्छन् । अर्थात्, उहाँका कवितामा प्रकृति संस्कृतिको भुल्को पाइन्छ, संगम पाइन्छ, सरगम पाइन्छ । मौलिकता, मधुरता सरलता, गहनता,गेयात्मकता साथै समाज, राष्ट्रप्रेम, वीरता प्रणय, प्रकृति जस्ता विशेषताको खानी पाइन्छ, उहाँका कवितामा ।

यसरी हेर्दा राष्ट्रकवि साँच्चै राष्ट्रकवि हुन्। युगयुग बाँचिरहने नेपाली साहित्यका ध्रुवतारा हुन्। उहाँलाई उहाँका सिर्जनाका शब्द–शब्द र हरेक पङ्तिबाट चिन्न सकिन्छ । र , उहाँका सिर्जनाबाट उहाँलाई चिन्न सक्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जलि हुनेछ ! उहाँलाई भेट्ने सपना मेरो पनि अधुरै रह्यो !
प्रकाश आचार्य "भावुक"
दिक्तेल खोटाङ

 

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु