कलेजकी केटी

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार ७ भदौ, २०७७

सधैँजस्तै कार्यक्रम सकिएपछि नजिकैको कफी सपमा अतिथि कविसँग कफी पिउँदै थिएँ ।
नमस्ते सर ! एक्कासी एक यौवना जम्लाहात गरेर सामुन्ने खडा भई ।
मैले पनि नमस्ते फर्काएँ । तर, चिनिनँ ।
आधुनिक स्टाइलको रङ्गीन र सिल्की कपाल । आँखाका दुबै छेउबाट गाजलको रेखा अलि पर निस्किएको । गर्मीको समय भएकोले होला शरीरमा थोरै कपडा, जिन्सको छोटो कट्टु । कम्मरमाथि खोपिल्टो पूरै देखिएको । थोरै प्रतिशत मात्र ढाकिएका छातीे । छड्के भिरेको लेदरको सानो कालो व्याग । खुट्टामा मोजाबिनाका कपडाका जुत्ता । पाकेको किम्बु जस्तै हल्का काला, रसिला ओठ र नशालु मुस्कान ।
उसलाई तलदेखि माथिसम्म पटक–पटक नियाल्दा मेरा हात त जोडिएका जोडियै भएछन् ।
“सरले मलाई चिन्नुभएन जस्तो छ ।” मसक्क मस्कँदै उसले भनि ।

                                  ***

मैले सर्माएझैँ भने “हँ, चिनिनँ त !”

“दुई–तीन वर्षमै बिर्सिनु भको ?

म जेनिसा होइन ?

तपाईंले ट्रिनिटी कलेजमा पढाउनुभको ।”

“ए लु चिनें”
“के गछ्र्यौ ?

कता पढ्छ्यौ ?

अनि याँ कताबाट ?”

मैले एकै चोटि अचम्म मान्दै सोधें ।

“के गर्नु सर, ट्रिनिटी त सुरुमा राम्रै थियो । पछि अनावश्यक टाइट गर्न थाल्यो । त्यो कलेज छोडेर अन्तैबाट प्लस टु सकें । अहिले बि. बि. ए. पढ्दै छु । सरले पढाको खुब मन पथ्र्यो । हँसाइ–हँसाइ पढाउनु हुन्थ्यो । अरूलाई नसम्झे पनि सरलाई सम्झिराछु ।”

उसले सबै कुरो उभिएरै भनी ।

 “सम्झेकोमा धन्यवाद जेनिसा !”

“वेलकम सर !”
यति भनेर ऊ क्याटवाकको लयमा कुनाको टेबलतिर लागी । त्यहाँ भर्खरै दुईटा केटा आएर बसेका थिए । उसले दुईटैसँग हग गरी । तिनीहरूले कफी अर्डर गरे । चुरोट मागे। म पूर्ववत् कफी पिउन लागें ।

***

डिल्लीबजार कालिकास्थान मन्दिरको सामुन्ने गोर्खा एफ. एम. को स्टुडियो । त्यसमा सुरुमा शनिवार र पछि बिहिबार बिहान आठ बजेदेखि नौ बजेसम्म म साहित्यिक कार्यक्रम चलाउँथे र कार्यक्रममा आएका अतिथिसँग एफ. एम. अगाडिको ‘अमोघ क्याफे’ मा केही समय कफी गफ चल्थ्यो । बस्ने ठाउँ भित्र पनि थियो र बाहिर पनि । पछाडिपट्टि खुला थियो । दुई–चारवटा स–साना भोगटे, सुन्तला र अम्बकका रुखहरू थिए । त्यसैले बिहानको समय घाम ताप्न र दिउँसो शीतलको लागि मान्छेहरू बढी त्यतै बस्थे । विशेष चुरोट तान्न पाइने भएकोले प्रायः ठिटाठिटीहरू बाहिरै हुन्थे ।

महिनाको अन्तिम दिन रचना वाचन गर्ने कार्यक्रम रहेकोले त्यस दिन रेडियोमा अतिथि थिएनन् । त्यसैले म एक्लै कफी पिइरहेको थिएँ ।
घरि–घरि भित्ताको टेबलतिर नजर दौडाउँदा तिनीहरू बहुत इत्तरिरहेका र एक–अर्कालाई हातले प्याट–प्याट हान्दै खित्खिताइरहेका देखिन्थे । एउटाले तानेको चुरोट अर्काले तान्थ्यो । केटा त तान्थे तान्थे, उप्परखुट्टी लाएर केटी पनि स्वाँइ..य पार्थी र नाकका पोरा फुलाएर धुवाँको मुस्लो निकाल्थी । म नदेखे जस्तो गरेर आँखा अन्तै डुलाउँथें ।

“आपूmलाई पढाउने शिक्षकको अगाडि अलिकति पनि मानभाउ नराख्ने यो कस्ती केटी हो ? हुन त अचेलका केटाकेटीहरू हाम्रो जमानाका जस्ता कहाँ छन् र ?” म मनमनै चित्त बुझाउँथें ।
रेडियो कार्यक्रम सकेर कफी पिउन आउँदा प्रायः जसो त्यो केटी त्यही भेटिन्थी । केटाहरू कहिले तिनै हुन्थे, कहिले अरू । उत्ताउलो हाउभाउका साथ तिनीहरू चुरोट तान्दै र कफी पिउँदै गफमा मस्त हुन्थे । जेहोस् भेट हुँदा नमस्ते गर्न भने ऊ चुक्तैनथी ।
वर्ष दिन जति भयो जेनिसासँग भेट भएको थिएन । त्यो क्याफेमा म आउने नियमित दिन र समय उसलाई हेक्का भइसकेको थियो । सायद त्यो समय बाहेक अरू नै बेला आउँथी कि !

एक चोटि अङ्ग्रेजी नयाँ वर्षको दिन ठमेलमा राति केही बेरसम्मको चहलपहल हेरौं र हल्का मनोरञ्जन पनि गरौं भनेर म श्रीमती सहित गएको थिएँ । केही समय वरपरको दृश्य हेर्दै सडक नापेपछि सात बजेतिर हामी गामबेंसी दोहोरीमा छि¥यौं र त्यसपछि नजिकैको एउटा गजल रेष्टुरेन्टमा गयौं । श्रृङ्गारिक गजलको प्रस्तुतिले होटलको वातावरण रोमाञ्चक भइरहेको थियो । एकातिर कुनामा बसेर हल्का पेय लिंदै गर्दा अर्को कुनामा मैले एउटा चिनेको अनुहार देखें उही जेनिसा ! अर्धनग्न अवस्थामा दुई जना केटाहरूका साथमा थिई ऊ । के के थरी स्न्याक्सका साथ तिनीहरू बियर तानिरहेका थिए । तिनीहरू एउटाको बियर अर्काले पिउँथे । लगत्तै अङ्गालो मारेर ओठ जोड्थे । हात कता–कता निषेधित क्षेत्रतिर पनि पु¥याउँथे । अनि बीचमा उठेर नाच्न जान्थे । सुरका तालमा नाच पनि त्यस्तै ! जेनिसा पाँ–पाँच सयका नोटहरू गाउनेतिर हु¥याइदिन्थी । यस्तो देख्ता ऊ धनाढ्यकै छोरी हो भन्ने लाग्थ्यो । नाच्दा–नाच्दै थाकेपछि उही पुरानै ठाउँमा बसेर तिनीहरू उही हर्कत दोहो¥याउँथे । फेरि नाच्न जान्थे । आएर उसै गर्थे ।

***

ठमेल दिउँसोभन्दा राति जागा हुने ठाउँ । त्यसमा पनि नयाँ वर्षको बेला त झन् विशेष चहल–पहल । बाहिर सडकदेखि लिएर डान्सबार र दोहोरी साँझहरूमा तन्नेरीहरूको बढ्ता नै घुइँचो । आखिर त्यहाँ रमाइलो गर्न र रमाइलो हेर्नै जाने हो । त्यहाँ पनि अन्त जस्तै कोही आफ्नै पार्टनरसँग, कोही साथीहरूको समूहमा र कोही परिवारसँग रमाइरहेका थिए । सबै मस्तसँग खाइरहेका, पिइरहेका, नाचिरहेका ।
जे होस् जेनिसाले मलाई देखिन । श्रीमतीसँग बसिरहेको मैले पनि उसलाई हेरिरहने कुरै भएन । उही घरि–घरि आँखा गएको मात्र हो ।
वातावरण अरू तात्दै र मात्दै गइरहेको थियो । एक–डेढ घण्टाको बसाइपछि हामी त्यहाँबाट बाटो लाग्यौं ।

 

जेनिसा कस्ती केटी हो ? पढ्दै छु पनि भन्छे । बाउ–आमा के गर्छन्, कहाँ छन् ? हुन त पहिला भेट हुँदा मैले यी कुराहरू सोधिनँ । तर मनमा भने लागिरह्यो – “हन, यो केटी किन यति बिघ्न निस्फिक्री र स्वतन्त्र छे ?”
त्यसको पाँच–छ महिनापछिको कुरा हो । एक दिन म बेलुका पाँच बजेतिर चावहिलमा घर फर्किनको लागि गाडी पर्खिरहेको थिएँ । ट्राफिकले एकतिर रोकी अर्कोतिर गाडी पास गरिरहेको थियो । त्यही गाडी रोकिएको बेला अचानक एउटा पुलिसको भ्यान मेरो अगाडि आयो । गाडीको पछाडिपट्टि खुला ठाउँमा केही थान कुण्डले केटाहरू थिए। तिनको बीचमा एउटी केटी थिई । आँखा पुगिहाले, यसो हेरेको त केटी त त्यै जेनिसा पो रहिछ । उसले पनि कसो–कसो मलाई देखिहाली । हाम्रा आँखा जुधे । उसले हतार–हतार शीर निहु¥याई ।
म जेनिसालाई सम्झेर र उसको हालत देखेर त्यस दिनभर रन्थनिरहें । राति अबेरसम्म पनि उसको तस्वीर मेरो अगाडि आइरह्यो– घरि चुरोट तान्दै गरेको । घरि बियर पिउँदै गरेको । घरि केटाहरूसँग ओठ जोड्दै गरेको । घरि पैसा फाल्दै नाच्दै गरेको ।

 

***

समय क्रमसँगै जीवनमा पात्रहरू कति जोडिन्छन् । कति छुट्टिन्छन् । कोही स्मृतिमा रहिरहन्छन् । कोही विस्मृतिमा गायब हुन्छन् ।
केही समयसम्म त जेनिसालाई सम्झिरहें । ऊ सुध्री कि त्यस्तै छे ? कि जेलमा छे ? एउटी कल्कलाउँदी केटी जसको अगाडि लामो भविष्य छ । धेरै सम्भावनाहरू छन् । तर, ऊ किन नियन्त्रणभन्दा बाहिर गई ? बढी नै स्वतन्त्र भई । अभिभावकहरूले बेलैमा किन सही बाटोमा हिंडाउन सकेनन् ? थोरै समय भए पनि ऊ आफ्नो विद्यार्थी भएको नाताले बेला–बेला यी कुराहरू मनमा आइरहे ।

समय आफ्नै गतिमा बगिरहेको थियो । म आफ्नै लयमा हिंडिरहेको थिएँ ।

एक दिन चक्रपथ भाटभटेनी अगाडि लुखुर–लुखुर हिंडिरहेको बेला कसैले बोलायो–
‘टङ्क सर !’ त्यो मीठो आवाज महिलाको थियो । यताउति हेरें ठम्याउन सकिनँ ।
ठ्याक्कै अगाडि एउटा गाडी रोकियो ।
“सर नमस्कार !” गाडीको झ्याल खोलेर एउटी महिलाले नमस्कार गरिन् । नचिनेकोले अकमक्क पर्दै मैले नमस्कार फर्काएँ ।
उनले चालकलाई गाडी छेउ लाउन भनिन् र गाडीबाट ओर्लिन् ।
राम्रो अनुहार । अग्लो ज्यान । टाउकोमा कालो चस्मा । जीउमा सारी–चोलो खुब सुहाएको ।
म हेरेको हेरै भएँ ।

“सरले मलाई पक्कै पनि चिन्नुभएन ।” मन्द मुस्कान फाल्दै उनी बोलिन् । मैले एकछिन सम्झन बल गरिरहें तर, सकिनँ । अनि भनें– “लु मलाई गा¥है भो !”
“म जेनिसा क्या सर ! सरले मलाई ट्रिनिटीमा पढाउनुभको ।” उनले कुरा खोलिन् ।
“ए जेनिसा ! डिल्लीबजारमा पनि भेट भाको थियो !”
“हो सर ⁄ अब चिन्नुभो ।”
“सरसँग एकछिन समय छ भने कफी पिऊँ न ! ” अगाडिको रिचबन्ड क्याफेतिर हेर्दै उनले अनुरोध गरिन् ।
“हुन्छ ।” मैले स्वीकृति जनाएँ । हामी त्यही क्याफेभित्र छि¥यौं ।
“सर अरू केही खाऊँ ?”
“हैन, कफी मात्रै ।”

उनले दुईटा कफी अर्डर गरिन् । “सर पढाउँदै हुनुहुन्छ ?” बात मार्ने मेलो सुरु भयो । “अहिले छोडें । अरू नै काम गर्छु ।” “सर त लेख्नु पनि हुन्छ । कहिले–कहिले पत्रिकामा आर्टिकल पढ्छु ।” “हो । अनि तिमी के गछ्र्यौ त आजकल ? धेरै वर्षपछि भेट भयो । मैले त ठम्याउनै सकिनँ । तर, तिमीले चिन्यौ ।” मैले भने । “हो सर ! सरसँग भेट नभएको सात–आठ वर्ष नै भयो होला । म अहिले सामाजिक काममा लागिरहेकी छु । सरलाई मैले धेरै कुराहरू भन्नु छ किनभने सरले मलाई प्रहरीको भ्यानमा दुव्र्यसनी केटाहरूसँग देख्नुभएको थियो ।” उनी गम्भीर भइन् । टेबलमा कफी आयो । मलाई कुरा सुन्ने उत्सुकता जाग्यो ।

***

“सर, म ट्र्याकबाट बाहिर गइसकेकी थिएँ । त्यो उमेर त्यस्तै रहेछ । कन्ट्रोल गर्न सकिनँ । अहिले यो अवस्थासम्म आउँछु भन्ने त कल्पना पनि थिएन । मैले सरकै अगाडि केटाहरूसँग डिल्लीबजारमा चुरोट तान्दा नै थाहा पाइसक्नुभएको थियो होला । फेरि मैले सरलाई प्लस टु सकेर बि. बि .ए. पढ्दै छु पनि भनें । वास्तवमा मैले त्यो बेला प्लस टु नै सकेकी थिइनँ । सरलाई ढाँटेकी हुँ । म ट्रिनिटी पढ्दै बिग्रिसकेकी थिएँ । त्यसैले बीचैमा कलेज छोडें । म बिग्रिनुको खास कारण के हो भने सर, मेरा बुबा–आमा अमेरिका हुनुहुन्थ्यो । काखको भाइ पनि उतै थियो । मलाई भने प्लस टु सकेर लाने योजना थियो । म यता होस्टलमा बसेकी थिएँ । यताका आफन्तहरू कहिलेकाहीं भेट्न आउनुहुन्थ्यो। बिदा भएको बेला म पनि जान्थें । सुरुमा त मेरो पढाइ राम्रै थियो । तर, बिस्तारै पढाइतिर रुचि जान छोड्यो । कलेज बङ्क गरेर केटा साथीहरूसँग हिंड्न थालें ।

 

चुरोट पिउन थालें । पैसाको कमी थिएन । अमेरिकाबाट बुबा–आमाले जति पनि पठाइदिने । म मात्र यता भएकोले उहाँहरूलाई मेरो मायाले निकै सताएको थियो । तर मलाई खराब लत लागिसकेको कारण बुबा–आमाको भावना बुझ्न सकिनँ । विभिन्न बहाना बनाउँदै उहाँहरूलाई झुक्याइरहें । बिस्तारै केटाहरू फेर्दै हिंड्न थालें । केटीहरूको त संगतै गर्दिनथें । पछि–पछि त वाइन–बियर हुँदै विभिन्न ब्राण्डका रक्सीहरू पनि खान थालियो । हुँदा–हुँदा पछिल्लो अवस्थामा लागू पदार्थको दुव्र्यसनी नै भएँ । एकचोटि केटाहरूसँग दिउँसै खुला चौरमा इन्जेक्सन हानिरहेको बेला प्रहरीले पक्रेर लग्यो । कति कुट्यो भनी साध्य छैन । रातैभरि चिसो भुइँमा बस्नुप¥यो । त्यही दिउँसो पुलिसले पक्रेर लगेको बेला सरले मलाई देख्नुभको हो । मैले पनि सरलाई देखें । निकै शरम लागेर आयो । यो कुरा बुबा–आमाले थाहा पाएपछि आफन्तलाई भनेर रिहाब सेन्टरमा राख्न लाउनुभो । त्यहाँ छ महिना बसेपछि म पूरै रिफ्रेस भएँ । यो मेरो पुनर्जन्म हो ।

 

अब नयाँ जीवन बाँच्छु भन्ने सोचाइ आउन थाल्यो । बुबा–आमा पनि पछि अमेरिकाबाट आउनुभो । रिहाबबाट निकालेर घर लानुभो । अमेरिका जान धेरै कर गर्नुभो । तर मैले मानिनँ । अब नेपालमै केही गर्छु । यो पुनर्जन्म सार्थक पार्छु । तपाईहरूको गुमेको प्रतिष्ठा फिर्ता गरी समाजले गर्व गर्न लायक बन्छु । बरु, तपाईंहरू मलाई सहयोग गर्नुस् भनेर उहाँहरूलाई कन्भिन्स गरें । त्यसपछि अहिले सात वर्ष भयो जोरपाटीमा एउटा पुनस्र्थापना केन्द्र खोलेर काम गरिरहेकी छु । कसो भगवानको कृपाले ‘एड्स’ चाहिं लागेनछ सर !” यति भनी सकेर उनी हल्का मुस्कुराइन् ।

उनका कुरा सुन्दा मलाई एउटा पूरा सिनेमा हेरे जस्तो भयो ।
“जेनिसा ! तिमी त्यस्तो अवस्थाबाट गुज्रेर पनि अहिले यो अवस्थामा आयौ । समाजका लागि उदाहरणीय काम गर्दैछ्यौ । तिमीप्रति मलाई पनि गर्व छ ।” मैले बल्ल मुख खोलें ।
“अब सर पनि त्यहाँ आउनुपर्छ । म एकदिन बोलाउँछु ।” यति भनेर उनले मेरो सम्पर्क नम्बर लिइन् । मलाई उनको कार्ड दिइन् ।
बेलुका पाँच बजिसकेछ । उनले सरको साधन छैन भने म छोडिदिन्छु त भन्दै थिइन् । मैले पर्दैन भनें । पछि फेरि भेट्ने सल्लाहका साथ हामी त्यहाँबाट छुट्यौं ।

***

केही दिनपछि मोबाइलमा फोन आयो– “सर नमस्कार ! म जेनिसा बोल्दै छु । सर मेरो सुधार गृहमा आउनुप¥यो । कहिले आउने, नत्र म आफैं सरलाई लिन आउँछु ।”
“ठीक छ । म भोलितिर आउँछु । लिन आउन पर्दैन । अलमलिएँ भने फोन गरुँला ।” मैले उनलाई आश्वस्त पारें। उनले लोकेसन बताइदिइन् ।
म भोलिपल्ट दिउँसोतिर जोरपाटी स्थित उनको सुधार गृहतिर लागेँ । उनी अर्थोपेडिक हस्पिटल छेउसम्म लिन आइन् । त्यहाँभन्दा केही पर अलि भित्रपट्टि रहेछ ।
तीन रोपनी जग्गामा फैलिएको ‘जागरण सुधार गृह’ । तीनवटा भवन । एउटा अलि ठूलो र दुइटा त्योभन्दा साना । एउटामा अफिस, एउटामा दुव्र्यसनीहरू र अर्कोमा तल चमेना गृह र त्यसको माथि प्रदर्शनी तथा कार्यक्रमको लागि पुस्तकालय सहितको ठूलो हल । बाहिर थरिथरिका रुख–बिरुवा । फलपूmलका मनमोहक बगैंचा । खेलकुदको लागि छुट्टै ठाउँ । कर्मचारी, रेखदेखवाला, सुरक्षा गार्ड, खाना पकाउने, सरसफाई गर्ने लगायत विभिन्न कामको लागि चौध–पन्द्र जना जनशक्तिहरू ।

सुधार गृहमा बस्नको लागि सय जनासम्मको कोटा रहेछ । योग गर्ने, ध्यान गर्ने, खाने, खेल्ने, आफन्तसँग भेट्ने, कविता÷गीत÷मुक्तकहरू लेख्ने सुनाउने, नाच्ने, गाउने, चित्र कोर्ने लगायत बिहान उठेदेखि सुत्ने बेलासम्मको आध्यात्मिक, सिर्जनात्मक तथा मनोरञ्जनात्मक जस्ता विभिन्न क्रियाकलाप सहितको निश्चित समय सारिणी । जुन बाहिर ठूलो बोर्ड बनाएर सबैले देख्ने गरी राखिएको थियो । बगैंचा गोडमेल गर्ने, पानी हाल्ने कामहरू तिनै सुधार गृहका केटाकेटीहरूले गर्दा रहेछन् । अनि बेला–बेला त्यहाँबाट पूरै सुधारिएर गएका व्यक्तिहरू आएर स्वयं सेवा पनि गर्दा रहेछन् ।

उनले सुधार गृहका विभिन्न ठाउँहरू घुमाइन् । ठूलो हलमा विभिन्न मेडल र सम्मान–पत्रहरू । त्यहाँ नियमित सामूहिक क्रियाकलाप र बेला–बेला विभिन्न क्षेत्रका ख्याति प्राप्त व्यक्तिहरू बोलाएर विशेष कार्यक्रमहरू गरिंदो रहेछ ।
यसको श्रोतबारे जिज्ञाशा राख्दा उनले भनिन् – “यसमा धेरै लगानी मेरा बुबा–आमाले गर्नुभएको छ । त्यसपछि सुधारका लागि आफ्ना केटाकेटीहरू राख्ने बाबु–आमा तथा अभिभावकहरूले स्वेच्छिक चन्दा दिनुहुन्छ । आर्थिक अवस्था कमजोर भएकाहरूबाट केही लिइँदैन । देशभित्र र देशबाहिर रहेका केही उदारमना व्यक्ति तथा संघसंस्थाहरूबाट दान दातव्य आउने गरेको छ । कोही भिजिटिङ्गमा आएका विदेशी व्यक्ति तथा संघसंस्थाहरूबाट बेला–बेला आर्थिक सहयोग प्राप्त हुन्छ र कहिलेकाही सरकारी निकायबाट पनि केही सहयोग पाइन्छ । यहाँ सडक बालबालिकाहरू पनि निकै छन्। यिनैलाई मध्यनजर गरेर आत्मनिर्भरताको लागि मोबाइल मर्मत, कुकिङ, प्लम्बिङ, बेकरी, सिलाइ–बुनाई जस्ता सीपमूलक तालिम पनि उपलब्ध गराइन्छ ।”

***

“अनि बिबाह गरेकी छैनौ ?” चिया–खाजा खाँदै गर्दा मैले उनलाई सोधें ।
“छैन सर ! बिबाह बारे सोचेकी छैन । कुराहरू नआएका होइनन् । तर, यो जिम्मेवारीले गर्दा त्यतातर्फ सोच्न भ्याएकी पनि छैन । पछि के हुन्छ भन्न सक्तिनँ । भरसक नगर्ने बिचारमा छु । फेरि जिम्मेवारी यहींमात्र पूरा गरेर पनि हुँदैन । यहाँबाट पुनस्र्थापनाको लागि फर्केपछि घर–परिवार र समाजमा उनीहरू के गर्दैछन् ? फेरि बिग्रिए कि ! अथवा यहाँ उनीहरूलाई सिकाए अनुसार समाजमा उदाहरणीय र आदर्श व्यक्ति पो बनेका छन् कि ! हामीले त्यहाँसम्म पनि बिचार पु¥याउनुपर्छ ।”
मैले स्वयं देखेको र उनको बारेमा उनी आफैंले सुनाएको कथा अनुसार जेनिसा यो अवस्थामा आउनु साधारण कुरो थिएन । उनी सम्पन्न बाबु–आमाकी छोरी थिइन् । अमेरिकै गएर बस्न सक्थिन् । उनमा आएको यो चेतना, यो जिम्मेवारी र यो त्यागको भावनाबाट म ज्यादै प्रभावित भएँ । बरु यत्रो पढे लेखेर, यत्रो जाने बुझेर पनि समाजको लागि केही काम गर्न नसकेकोमा उनको अगाडि आपूmलाई निकै बबुरो ठानें ।

“जेनिसा, तिम्रो यो महान् कर्मबाट म धेरै खुसी भएँ । थोरै समय भए पनि तिम्रो गुरु हुन पाएकोमा अहिले आएर गर्व बोध गरेको छु । यहाँ दुव्र्यसनीमा लागेर युवाहरू कति बिग्रिएका छन् । उनीहरूमध्ये कतिको भविष्य चौपट भएको छ । फेरि तिमीजस्ता युवा–युवतीहरू यो देशमा केही हुँदैन भनेर विदेशतिर पलायन हुनेको लर्को पनि त्यति नै छ। तिमीले यो पवित्र कर्म गरेकी छ्यौ । आफ्ना गल्तीबाट सिकेर धेरै माथि उठेकी छ्यौ । तिमीबाट आजका युवा पिंढीले पाठ सिक्नुपर्छ । तिमीलाई धेरै–धेरै धन्यवाद र शुभकामना !”
यति भनेर म जानको लागि उठें ।
“हुन्छ । म सरप्रति आभारी छु । यहाँसम्म आइदिन भो । मैले गरेको काम हेरिदिनु भो । सरलाई समय–समयमा हुने विशेष कार्यक्रमहरूमा म आमन्त्रण गर्नेछु । आइदिनुपर्छ ।”
उनले दुई हात जोडेर नमस्कार गरिन् र बाटोसम्म पु¥याउन आइन् ।
म उनको कामबाट अत्यन्त प्रभावित भई मनमनै पुलकित हुँदै बाटो लागें ।

 

टङ्क भट्टराई (२०२७) कविता, कथा र गीतमा कलम चलाउनु हुने भट्टराईका ‘साँझमा पहिलो तारा’ (कविता सङ्ग्रह–२०६८) र ‘म पनि बग्दैछु साप्सु’ (कथा सङ्ग्रह–२०७३) प्रकाशित कृतिहरू हुन । उहाँका दर्जनबढी गीतहरू समेत रेकर्डिङ भएका छन् । विभिन्न साहित्यिक पुरस्कार र सम्मान प्राप्त गर्नु भएका भट्टराईका थुप्रै फुटकर रचनाहरू प्रकाशित छन् । भट्टराईले विभिन्न साहित्यिक र अन्य पत्रपत्रिकाहरूको सम्पादन गर्नुका साथै थुप्रै साहित्यिक र गैह्र साहित्यिक संस्थाहरूमा नेतृत्वदायी भूमिकासमेत निर्वाह गर्नु भएको छ ।

 

 

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७