कविता
बस्ती र बाढी

  • विजयराज न्यौपाने

पहाड भत्की पहिरो छ चल्दो
वस्तीहरुमा भय आज बढ्दो
बेतालको डोजरको विकास
विकास नै होइन यो विनाश ।

***

कुनै कतै छैन सचेतना नै
न जाँच माटो घर वास राख्नै
कम्जोर माटो कति चल्छ चल्छ
वर्षा र बाढीसँग आँसु बग्छ ।

***

पहाड वस्ती छरिदो छ धेर
कोरिन्छ बाटो धरती चिरेर
भत्काउँदो डोजरले पहाड
बल्झिन्छ वर्षा भरि नै विषाद ।

***

काडेर हाई हिउँदे सुताई
विकास सुत्दो दिन हा ! कटाई
असार आयो गतिमान् विकास
सक्नै चटारोपछि रे हताश ।

***

कतै त खोला नजिकै निवास
कतै त डाँडा मुनि नै निवास
वर्षानुवर्षी पहिरो र बाढी
बहाउँदो मानिस माल गाडी ।

***

ज्यूको छ नाशै धनको छ नाशै
दोहोरिदो मार छ सालसालै
सम्झे नि वर्षा भरि फेरि बिस्र्यो
यै छाँटले नै कति काल गुक्र्यो ।

***

वस्ती त एकीकृत खै विकास
पढ्नै र जुट्नै पनि नै छ त्रास
को ध्यान दिन्छन् तर्फ आज
नेता त देखे पनि लाग्छ लाज ।

***

बनौँ युवा हो खुब दूरदर्शी
फिर्दो छ पालो अब भोलि पर्सि
यो देश हाँक्ने र विकास गर्ने
नहोउँ धर्ती त विनाश गर्ने ।

विजयराज न्यौपाने (२०११) रागिनास, बोराङ, लमजुङमा जन्मनु भएको हो । उहाँका दुई कविता सङ्ग्रह, चार बालकविता सङ्ग्रह, चार खण्ड काव्य र अन्य विधाका दुई कृतिहरू प्रकाशित छन् । न्यौपानेका खोज अनुसन्धानमूलक लेख र थुप्रै फुटकर रचना प्रकाशित छन् । न्यौपानेका केही सम्पादित कृतिहरू पनि प्रकाशित छन् । उहाँले थुप्रै सम्मान तथा पुरस्कारहरू पनि प्राप्त गर्नुभएको छ । न्यौपाने मस्र्याङ्दी वाङ्मय प्रतिष्ठान लगायत थुप्रै संघ संस्थाहरूमा संलग्न हुनुहुन्छ ।

सम्बन्धित खबरहरु