काठमाडौँ । गाईबस्तुलाई सोत्तर बनाउने तीतेपातीबाट राम्रो आम्दानी हुन्छ भन्ने कमैलाई थाहा छ । त्यो पनि जापान निर्यात गरेर । तीतेपातीलाई प्रशोधन गरेर १२ वर्षदेखि जापान निर्यात गर्दै आएका एक व्यवसायीको कमाइ प्रतिरोपनी ५० हजार रुपियाँ रहेको बताइएको छ ।
१२ वर्षदेखि सुुकेको तीतेपातीको पातबाट एक प्रकारको भुवा ‘मोक्जा’ बनाएर जापान निर्यात गर्दै आउनुभएका यामासो प्रालिका निर्देशक ईश्वरराज बलामीको उद्यम फस्टाएको छ । उहाँले आफैँले मात्र नभई स्थानीयलाई समेत तीतेपाती आम्दानीको स्रोत बनाइदिनुभएको छ ।
नागार्जुन नगरपालिका–४, सरनपुरमा स्थापना गरिएको यामासो प्रालिले निर्यातका लागि प्रशोधन गर्न कच्चा पदार्थका रूपमा तीतेपातीको सुकेको पात प्रतिकेजी ५० रुपियाँमा किनिदिन्छ ।
अकुपञ्चरिस्टसमेत रहनुभएका बलामीले सन् १९९४ मा अकुपञ्चरसम्बन्धी तालिमका लागि उहाँ जापान जाँदा तीतेपातीको महत्व थाहा पाउनुभएको हो । उहाँले भन्नुभयो,अकुपञ्चरको तालिम लिँदा उपचार पद्धति मोक्जुवेसन, त्यसमा प्रयोग हुने जडीबुटीसम्बन्धी पनि जानकारी दिने गरिन्थ्यो ।
त्यस उपचार पद्धतिमा बिरामीको उपचार गर्दा मोक्जाको प्रयोग गर्ने विधि र मोक्जाको उत्पादनसम्बन्धी पनि बलामीले जानकारी लिनुभयो । तीन महिनाको तालिमपछि स्वदेश फर्केर सो उपचार पद्धतिसँग बलामी जोडिनुभयो ।
हाल दिव्य सञ्जीवनी हस्पिटलमा सेवारत उहाँले जापानमा सिकेको सीपमध्ये मोक्जाका लागि प्रयोग हुने कच्चा पदार्थ तीतेपाती नेपालको प्रायः सबै भूभागमा पाइन्छ भने यसको उत्पादन किन नगर्ने रु भनेर काम थालेको बताउनुभयो ।
त्यसका लागि जापानी साथीभाइलगायत विज्ञहरूको सहकार्यमा वैदेशिक ऋणको स्वीकृति गराएर नेपालमा मोक्जाको उत्पादन थालेको उहाँले जानकारी दिनुभयो ।
यामासोमा हाल प्रत्यक्ष १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने अप्रत्यक्ष रूपमा पात टिपेर सुकाएर बेच्ने धेरैले आम्दानी गरिरहेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।
सबैको जानकारीको सेयर गर्नुहोस !!