काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) ले शैक्षिक क्षेत्रमा पारेको समस्यालाई निर्मुल गर्ने ध्यायले विश्वविद्यालय अनुदान आयोग र नेपाल टेलिकमबीच सम्झौता भएको छ । शैक्षिक सत्रलाई समयको माग अनुसार संचालन गर्न विश्वविद्यालय अनुदान आयोगले वैकल्पिक शिक्षा प्रणालीलाई सहज बनाउन तयारी गरी सम्झौता भएको हो ।

 

सम्झौताअनुसार देशका सबै विश्वविद्यालय र तीअन्तर्गतका आंगिक क्याम्पसहरूमा अध्ययन, अध्यापन र अनुसन्धानमा संलग्न सबैलाई नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक उपलब्ध गराउने जनाइएको छ । यो प्याक नेपाल टेलिकमले प्रदान गर्ने जिएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत आफूलाई उपयुक्त हुने कुनै पनि समयमा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

 

 

यसअन्तर्गत दुई प्रकारका प्याकेज रहने र यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने जनाइएको छ । प्याकेजअन्तर्गत ३ सय १५ रुपैयाँमा २४ जिबी र ५ सय रुपैयाँमा ३५ जिबी डाटा उपलब्ध हुने टेलिकमले जनाएको छ । २४ जिबी डाटामध्ये २० जिबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने जनाइएको छ ।

 

यसैगरी, ३५ जिबी डाटामध्ये ३० जिबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जिबी डाटा अन्य कुनै पनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिनेछ । सम्झौतामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र विश्वविद्यालय अनुदान आयोगका प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र ढुंगेलले हस्ताक्षर गरेका थिए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु