काठमाडौं । भोलि (शनिबार) धार्मिक रुपमा एक महत्वपूर्ण दिन परेको छ । हरिपरिवर्तिनी एकादशीलाई जयन्ती एकादशी र वामन एकादशी पनि भनिन्छ । पापहरुको नाश गर्न यस एकादशीको ब्रत भन्दा ठुलो अरु कुनै उपाय नभएको शास्त्रीय मान्यता रहेको छ । हरिपरिवर्तिनी एकादशीमा निष्ठापूर्वक व्रत लिनाले वाजपेय यज्ञको फल प्राप्त हुने विश्वास रहेको छ । पौराणिक कथन अनुसार भदौ महिनाको शुक्लपक्ष एकादशीको नाम हरिपरिवर्तिनी एकादशी हो ।

 

आषाढ शुक्ल हरिशयनी एकादशीमा सुत्नु भएका भगवान बिष्णुले निन्द्रा अवस्थामा कोल्टेफेरेको दिन भएकाले यस एकादशीलाई हरिपरिवर्तिनी एकादशी भनिएको हो । शेषनागको पिठ्यूँमा यसै एकादशीका दिन कोल्टे फेरेका कारण तीनै लोकका स्वामी भगवान विष्णुकोआज पूजा गर्ने गरिन्छ । पूजापछि ताँबो, चाँदी, चामल र दही दान गरिन्छ ।

 

 

त्रेतायुगमा विरोचन नामक दैत्यका छोरा बलि विष्णु भगवानको परम भक्त थिए । तर उनले ईन्द्रसित पुर्वाग्रहरहेका कारण ईन्द्रलोक तथा सम्पूर्ण देवताहरूलाई पराजित गरेका थिए । बृहस्पति सहित ईन्द्रादि देवता बिष्णु समिप पुगी वेद मन्त्रद्वारा स्तुति गर्न थालेपछि बलिबाट देवगणलाई मुक्त गराउन बिष्णुले आफ्नो पाँचौं अवतारका रुपमा वामन रूप धारण गर्नुभयो । तेजस्वी बलिसंग आफ्नो पाईताला राख्न तीन पाइला भूमिको याचना गर्नुभयो ।

 

महाबलीले ती तीन पाइला जमीन आफ्ना लागि अत्यन्तै सानो याचना ठानेर तीन पाइला भूमि दान दिने संकल्प गर्नुभयो । तर बिष्णुले आफ्नो त्रिविक्रम रूपलाई फैलाएर भूलोकमा पद, भुवर्लोकमा जंघा, स्वर्गलोकमा कम्मर, महः लोकमा पेट,जनलोकमा हृदय, यमलोकमा कण्ठ, सत्यलोकमा मुख राख्नुभयो भने दोश्रो पद स्वर्गलोकमा राख्नुभयो ।

 

अब तेस्रो पद कहाँ राखुँ भनेर बलिलाई सोध्दा बलिले बाचा स्वरुप आफ्नो शिर झुकाए र बिष्णुलेआफ्नो तेश्रो पद उनको टाउकामा राखेर मर्त्यलोक पाताल पुर्याईदिनुभयो । बिष्णुभक्त बलिले पाताललोकमा पनि बिष्णुसंगै रहने याचना गरेपछि भाद्रपद शुक्ल एकादशीका दिन बलिको आश्रममा बिष्णु स्वरुप रहनुभएको पौराणिक कथा अनुसार हरिपरिवर्तिनी एकादशीको मान्यता स्थापित हुन पुगेको हो ।

 

सम्बन्धित खबरहरु