याहु उकालो लाग्यो, गुगल ओरालो

इन्टरनेट दुनियाँको ‘भगवान’ भनिने गुगलले गएको दशकमा एकछत्र राज गर्‍यो । एकपछि अर्को लोकपि्रय उत्पादन र त्यससँगै अर्बों डलरको आम्दानी । हरेक बर्ष उसले आफ्नो कमाईमा २० प्रतिशतको बृद्धि हाँसिल गरिरहेको छ ।
सर्च इन्जिन मात्र हैन, इन्ड्रोइडमार्फत् मोबाइल प्लेटर्फमममा समेत आफ्नो दबदबा कायम गरेको गुगलले स्वचालित कार, गुगल ग्लास लगायत धेरै नयाँ-नयाँ आबिस्कारमा समेत अर्बौं डलर लगानी गरिरहेको छ । लाग्छ, अझै दशौं बर्ष गुगलको साम्राज्य कसैले भत्काउन सक्दैन् ।
तर, बिपक्षीहरुले गुगलको नाभीमै प्रहार गरेका छन् । जसले गुगलको डाउनफल सुरु गराइदिएको छ । चुचुरोमा पुगिसकेपछि अब माथि चढ्ने ठाउँ हुँदैन । त्यसैले अब गुगलका लागि एउटा मात्रै विकल्प छ, त्यो हो तल झर्ने ।
गुगलको अवरोहका केही संकेतहरु देखापर्न थालिसकेका छन् र गुगल सर्च इन्जिन यसको उदाहरण हो । सर्च इन्जिनको बजारमा गुगलको हिस्सा सन् २००९ यताकै सबैभन्दा कम विन्दुमा झरेको ब्लुमबर्गको रिपोर्टले देखाएको छ ।

याहु र मोजिल्लाबीचको सहकार्यसँगै सर्च इन्जिनमा गुगलको प्रभुत्वमाथि ठूलो असर परेको तथा एप्पलसँगको टकरावले गुगलको अझै धेरै गिरावट निश्चित रहेको टिप्पणी गरिएको छ ।
गुगलको डिफल्ट सर्च इन्जिनको रुपमा रहेको मोजिल्लाले गएको नोभेम्बरमा याहुसँग ५ वर्षका लागि ऐतिहासिक सम्झौता गरेसँगै गुगललाई ठूलो मर्का परेको हो । त्योसँगै अमेरिकामा मोजिल्ला फायरफक्स याहुको डिफल्ट ब्राउजर बन्यो र यसको प्रत्यक्ष असर देखिइसकेको छ ।
अमेरिकामा ७९.२ प्रतिशत बजार हिस्सा रहेको गुगल सर्च इन्जिन ७५.२ प्रतिशतमा झरेको छ भने ७.४ प्रतिशत रहेको याहु सर्च इन्जिन १०.४ प्रतिशतमा उक्लेको छ ।
ब्लुमबर्गका अनुसार सम्भवतः सन् २००८ पछाडि अमेरिकी वेबसर्च मार्केटमा गुगलको यो सबैभन्दा ठूलो संकुचन हो भने याहुको सबैभन्दा ठूलो विस्तार । सर्च इन्जिनको अमेरिकी बजारमा भएको प्रगति याहुकी सिइओ म्यारिसा मायरका लागि खुसीको कुरा हो ।
mozilla-and-yahooगुगलका लागि चिन्ताको विषय अरु पनि छन् । जस्तो, एप्पलले समेत आइफोनको सफारी वेब ब्राउजारमा गुगललाई डिफल्ट सर्च इन्जिनको रुपमा नराख्ने विषयमा सोँच बनाइरहेको छ ।
एप्पलले गुगललाई हटाएर कसलाई आइफोनको डिफल्ट सर्च इन्जिन बनाउँछ भन्ने पक्का भैसकेको छैन तथापि याहु, बिंग वा आफ्नै सर्च इन्जिन जे ले प्रतिस्थापन गरेपनि त्यो गुगलका लागि ठूलो क्षति हुनेछ । वालस्टि्रट जर्नलको गएको डिसेम्बरको रिपार्ट अनुसार अमेरिकामा आधाभन्दा धेरै मोबाइल ट्राफिक सफारीबाट हुने गरेको छ ।
गुगलका लागि यो खराब समय एकैचोटि आएको भने होइन । सन् २०१२ मै एप्पलले गुगल म्यापलाई हटाएर आफ्नै एप्पल म्याप एप सुरु गर्‍यो । एप्पल म्याप एप सुरुमा निकै असफल सावित भएपनि एप्पलले यसबाट धेरै कुरा सिक्यो । म्याप डाटालाई निरन्तर रुपमा सुधार्दै गर्‍यो ।
गुगलको असफलताका केही कारणहरु
सवै अण्डा एउटै टोकरीमा- गुगल अहिले पनि आम्दानीको एउटै श्रोतमाथि बढि निर्भर छ, त्यो हो सर्च इन्जिनको विज्ञापन । खुद राजश्वको दुई तिहाइ गुगल साइट्सहरुको विज्ञापनबाटै आउने गरेको छ र बाँकी एक तिहाइमात्र अन्य गुगल नेटवर्कका साइटहरु र सफ्टवेयर बिजनेसबाट ।
आम्दानीको लागि सर्च इन्जिनमै निर्भर रहेको गुगलका लागि सर्च इन्जिनको हिस्स्ाा घट्दै जानु असफलता सुरुवात हो ।
घट्दो निर्भरता- गुगल सर्चको हिस्साभन्दा महत्वपूर्ण कुरा व्यवसायिक सर्चमा हुने हिस्सा हो जसमा प्रयोगकर्ताहरुले कुनै प्रडक्ट किनिरहेका वा अनुसन्धान गरिरहेका हुन्छन् । कुनै विज्ञापनमा यस्ता कुरा खोज्नका लागि प्रयोगकर्ताले क्लिक गरेसँगै गुगलले पैसा कमाउँछ ।
तर, इन्टरनेट प्रयोगकर्ताहरु कुनै प्रडक्टका बारेमा जान्न वा खरीद गर्नका लागि गुगल सर्च इन्जिनको प्रयोग गरिरहनु आवश्यक छैन र अन्य वैकल्पिक साइटहरु झनै लोकपि्रय, आधिकारिक र प्रभावकारी बनिरहेका छन् । अमेजन, सोसल नेटवर्क साइटहरु तथा एल्प जस्ता मोबाइल एपहरु गुगलका लागि चुनौति बनिरहेका छन् ।
भडकिए बिज्ञापनदाता- गुगलका लागि अर्को चुनौतिको विषय भनेको विज्ञापनदाताले गुगलमा राखेको विज्ञापनमा प्रति क्लिकको लागि तिर्ने रकममा कटौति गर्नु हो । गुगल विज्ञापनमा प्रयोगकर्ताको नाममा हुने क्लिकहरु धेरै फर्जी हुने र त्यस्ता क्लिकहरु अस्वभाविक तथा अनावश्यक समेत हुने भएकाले क्लिकको आधारमा विज्ञापनदाताले गुगललाई तिर्ने शुल्कमा पछिल्लो वर्ष ६ प्रतिशतले कमी आएको छ ।
फेसबुकको चुनौती- यु ट्युबको प्रस्पिर्धीको रुपमा फेसबुक अगाडि आउनु पनि गुगलका लागि चुनौति हो । विश्वको सबैभन्दा ठूलो भिडियो साइट यु ट्युबमा भिडियो विज्ञापन गुगलको अबको सबैभन्दा ठूलो व्यवसाय हुनेवाला छ । तर भिडियो विज्ञापन सेवामा फेसबुकले समेत फड्को मारिरहेको छ ।
फेसबुकले सुरु गरेको अटो प्ले भिडियोलाई विज्ञापनदाताले मन पराएका छन् र प्रयोगकर्ताले समेत अस्विकार गरेका छैनन् । फेसबुकमा सिधै पोष्ट गरिएका भिडियोको संख्या फेसबुकमा पोष्ट गरिने यु ट्युब भिडियो भन्दा बढि रहेको तथ्यले समेत यसलाई पुष्टि गर्छ ।
नक्कली एन्ड्रोइडको प्रयोग- एन्ड्रोइड अनियन्त्रित बन्दै जानु वा अनधिकृत रुपमा यसको प्रयोग बढ्दै जानु समेत गुगलको लागि चुनौतिको विषय बनिरहेको छ । स्मार्टफोन अपरेटिङ सिस्टमको अग्रणी एन्ड्रोइड प्रयोग भैरहेका २० प्रतिशत फोनहरुमा गुगलको स्विकृति बेगरका अनधिकृत एन्ड्रोइड सफ्टवेयर प्रयोग भैरहेको पाइएको छ । यस्तो खाले फोनहरु भारत तथा चीन लगायतका देशमा प्रयोगमा छन् । गुगलले आधिकारिक रुपमा बेच्ने एन्ड्रोइडको साटो यस्तो अनधिकृत प्रडक्टको प्रयोग हुँदा कम्पनीको आम्दानीमा ठूलो असर पुगिरहेको पक्का छ ।
कानुनी लफडा- युरोपेली युनियनले गुगलप्रति लिएको कडा नीति समेत गुगलका लागि टाउको दुखाइ बनिरहेको छ । सर्च इन्जिन तथा अनलाइन विज्ञापनमा वर्षौँदेखि आफ्नो प्रभुत्वको दुरुपयोग गरेको विषयमा इयुले गुगलमाथि छानविन गरिरहेको छ । युरोपेली संसदले डिसेम्बरमा एक प्रस्ताव पारित गर्दै अनलाइन विजनेसलाई टुक्राउनका लागि सर्च इन्जिनहरुलाई बाध्य पार्ने एक प्रस्ताव पारित गरेको छ ।
युरोपेली संसदले गुगलको एकाधिकार तथा प्रभुत्वमाथि अंकुश लगाउने तथा उसको आम्दानीको १० प्रतिशत सम्म जरिवाना गर्नसक्ने हैसियत राख्ने भएकाले पनि युरोपमा गुगलका भावी दिन अनिश्चित देखिने विश्लेषकहरु बताउँछन् ।
राम्रा मान्छे गुमाउँदै- प्रतिभा पलायनको समस्याले पछिल्लो समयमा गुगललाई ठूलो असर पारिरहेको छ जुन गएको दशकमा माइक्रोसफ्टले बेहोरेको थियो । गुगल सर्च इन्जिनको डिजाइनमा भूमिका खेलेकी म्यारिसा मायरले गुगल छाडेर सन् २०१२ मा याहुको सिइओ बन्न गइन् ।
गुगल प्लस संचालन गरेका वरिष्ठ अधिकारी भिक गुन्डोत्राले अपि्रलमा गुगल छाडे । गुगलको व्यवसाय लामो समयदेखि हेरेका निकेश अरोराले समेत जुलाइमा गुगललाई बाइबाइ गरे । एन्ड्रोइडको आविष्कार गर्ने एन्डी रुबिनले समेत अक्टोबरमा गुगल छाडेपछि गुगलमा प्रतिभावान जनशक्तिको खडेरी पर्न थालेको छ ।
बालुवामा पानी- ‘उडी चन्द छुने’ महत्वाकांक्षी परियोजनाहरु जसले गुगललाई आर्थिक रुपमा फाइदा गर्दैन त्यस्तोमा लगानी गर्ने गुगलको कार्यले गुगललाई झनै धरासायी बनाउने खतरा छ ।
गुगलको अनुसन्धान संस्था गुगल एक्सले बहुप्रसिद्ध स्वचालित कार, अन्तरीक्षमा बेलुन उडाएर विश्वभर इन्टरनेट पूराउने तथा गुगल फाइबर जस्ता परियोजनामा लगानी बढाइरहेको छ ।
पछिल्ला प्रडक्टहरु गुगल टिभी, गुगल प्लस, गुगल ग्लासहरु फ्लप भएको र दशक यता कुनै चर्चायोग्य प्रडक्ट ल्याउन नसकेको गुगलले यस्ता महत्वाकांक्षी तथा प्रत्यक्ष रुपमा कम्पनीको मुनाफालाई सकारात्मक प्रभाव नपार्ने कुरामा लगानी खन्याउँदा उसको मुख्य व्यवसाय झनै धरासायी हुने देखिन्छ ।

सम्बन्धित खबरहरु