लन्डन । बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको ज्यान जान सक्ने उल्लेख गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले फेला पारेको एक गोप्य प्रतिवेदनमा कोभिड नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । तर, विद्यालयहरू भने खुलाइराख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

उक्त दस्तावेज बीबीसी न्युज नाइटले फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।

दस्तावेजको मुख्य अनुमानमा विद्यालय खुला रहनेछन् र सरकारको ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइन परिधि कोभिड संक्रमण रोक्न घरपरिवार बाहिर ४० प्रतिशतमात्र प्रभावकारी हुने उल्लेख छ । प्रतिवेदनले जुलाई २०२० देखि मार्च २०२१ सम्मको सबैभन्दा बढी मृत्युलाई अड्कल गरेको छ ।

जाडोयाममा अन्य रोग भएका बिरामीसमेत मर्ने प्रतिवेदनको आकलन छ । यसले इंग्ल्यान्ड र वेल्समा कोभिडका कारण ८१ हजार जना र कोभिडबाहेक अन्य रोगले २७ हजार मर्न सक्ने जनाएको छ । स्कटल्यान्डमा २ हजार ६ सय र नर्दन आयरल्यान्डमा १ हजार ९ सय जनाको कोभिड–१९ का कारण मृत्यु हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल हेनेगनले उक्त दस्तावेजमा गरिएका अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट केही नसिकिएको देखाएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

यसअघि गत जुलाईमा बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने खतरासँग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आह्वान गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु