काठमाडौँ । दूरसञ्चार सेवा प्रदायकले प्रयोगविहीन सिमकार्ड एक वर्षसम्म बिक्री गर्न नपाउने भएका छन् । यसअघि प्रयोगमा नरहेको सिमकार्ड छ महिनापछि निष्क्रिय गर्नसक्ने र त्यसलाई ‘रिसाइकल’ गर्दै पुनः बिक्री गर्नसक्ने सुविधा सेवा प्रदायकलाई थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै मात्र सिमकार्ड प्रयोगसँग सम्बन्धित यो नयाँ व्यवस्था गरेको हो । ‘अब सिमकार्ड प्रयोग नभएको एक वर्षपछि मात्र सेवा प्रदायकले सिमकार्ड पुनः बिक्री गर्न पाउने छन्, प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भन्नुभयो ।

सिमकार्ड खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न प्राधिकरणले पहिलोपटक २०७१ चैत २ गते त्यस्तो निर्णय गरेको थियो । प्रयोगविहीन सिमकार्ड निष्क्रिय गर्नुपर्ने अवधि अहिले पनि छ महिना नै कायम छ तर त्यसरी निष्क्रिय गरेको छ महिनासम्म बिक्री गर्न नपाउने गरी प्राधिकरणले पछिल्लो निर्णय गरेको हो ।

छोटो समयमै सिमकार्ड पुनः बिक्रीको सुविधाले त्यही नम्बर प्रयोग गरिएको बैङ्क खाता, सामाजिक सञ्जाललगायतको डेटा असुरक्षित हुन सक्ने सम्भावनालाई ध्यानमा राखी यस्तो निर्णय भएको अर्यालले बताउनुभयो ।

नम्बर दुरुपयोग हुनसक्ने सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घले पनि प्राधिकरणलाई यस्तो अवधि दुई वर्ष पु¥याउन प्राधिकरणलाई अनुरोध गरेको थियो, उहाँले भन्नुभयो, “तर सिमकार्ड सीमित स्रोत भएकाले एक वर्षसम्म बिक्री गर्न नपाउने निर्देशन जारी गरेका हौँ । ”

प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार जेठसम्म तीनवटा सेवा प्रदायकले तीन करोड ७० लाख सिमकार्ड बिक्री गरिसकेका छन् । यद्यपि गत वर्ष मङ्सिरसम्म बिक्री भएको सिमकार्डको सङ्ख्या चार करोड २० लाख थियो ।

सेवा प्रदायकले यसबीचमा सिमकार्ड रिसाकइल गर्दै त्यसलाई पुनः बिक्रीमा ल्याएका थिए । यसरी बिक्री गर्दा पहिलेको प्रयोगकर्ताको संवेदनशील डेटा असुरक्षा हुने गुनासो बढेपछि प्राधिकरणले बिक्रीको समय थप गरेको जनाएको छ ।

सेवा प्रदायकलाई प्राप्त मोबाइल कोडबाट सिर्जना हुनसक्ने नयाँ सिमकार्ड नम्बरको सीमितता बढेपछि सेवा प्रदायकबीच पछिल्लो समय सिमकार्ड रिसाइकल गर्ने प्रवृत्ति बढेको थियो ।

एकैपटक सिमकार्ड रिसाइकल गर्दा सेवा प्रदायकले यसअघि देखाउँदै आएको आफ्नो ग्राहक आधार व्यापक घटेको थियो । यसले गर्दा मङ्सिरयता नै करिब ५० लाख मोबाइल प्रयोगकर्ता घटेको देखिएको छ । यो समाचार गोरखापत्र दैनिकबाट लिइएको हो ।

सम्बन्धित खबरहरु