सुनको कचौरा –विशाल कुमार शाह

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १५ भदौ, २०७७

कविता
सुनको कचौरा
– विशाल कुमार शाह
तीन करोडको हाम्रो सानो परिवार
सकेन कहिल्यै एउटै मालामा बाँधिन
लाखौ छन् परदेशमा पसिना बेच्दै
केवल हात र मुख जोड्न
किन छ यो अजङ्गको प्रेतरुपी दुख ?
यो सुनाखरीको देशमा ?

बुझ्न सकिन्न परदेशको पीडा
बाँझिएको भूमि र आँसु पिएको परिवार
कसरी सम्झाउँ यो देश सुनको हो भनेर ?
तैपनि सुनको कचौरा थाप्दै,
माग्न हिड्दैछन मेरा नेपाली दाजुभाइ
आफ्नो सामथ्र्य लुकाउदै, हात फैलाई

घोकेको ताजै छ अझै मगजमा
नेपाल कृषिप्रधान देश हो
तातै छ तालु
बीर गोर्खालीको गाथा रटेको,
बुद्धको उपदेशमा जीवन देखेको
कसरी सम्झाउँ यो देश, सुनको हो भनेर
माथमा हिमाल, छातीमा पहाड
आहा ! तराईमा अनाजको बहेली
के छैन र… मेरो देशमा
के सकिन्न र गर्न यहाँ ?
तर न गरे, न गर्न दिए  …
एक झुण्ड राजनीतिका धमिराहरुले
बाँच्दैछन ती धमिराहरु, परदेशी नेपालीहरुको पसिनामा
गाँस काटेर पठाएको रेमिट्यान्समा–
कसरी सम्झाउँ, यो देश सुनको हो भनेर ?
तैपनि सुनको कचौरा थाप्दै
भिख माग्दैछन मेरा नेता दाजुभाइ

अरे ! के गर्छौ ? आफ्नो मात्र तिजौरी भरेर ?
के गर्छौ ? आफ्नो मात्र लाज छोपेर ?
सक्छौ भने भर नेपाल आमाको पोल्टो
जोगाउ लुटिन लागेको आमाको अस्मिता
र भर सुनौलो रंग, दाग लागेको मातृभूमिमा
कसरी सम्झाउँ, यो देश सुनको हो भनेर ?
के माग्छौ ? ए मेरा दाजुभाइ
चाँदी ओढेर सुनमा सुकला गरेर
सुनको कचौरा थाप्दै, के माग्छौ ?
आफ्नो सामथ्र्य लुकाउदै, हात फैलाई ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७