काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

के हो टाइम–बाउन्ड होम एक्जाम ?

टाइम–बाउन्ड होम एक्जाम परीक्षार्थीले घरमै बसेर दिने परीक्षा हो । विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ ।

क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ । निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ ।

परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला यसबारे विस्तृत जानकारी सहितको निर्देशिका र परीक्षा कार्यक्रम यथाशीघ्र प्रकाशित गरिने बताउँछन् ।

मध्यपश्चिमाञ्चलमा अनलाइनर अफलाइन परीक्षा

मध्यपश्चिमाञ्जल विश्वविद्यालयले भने मध्यवर्ती परीक्षा अफलाइन र अनलाइन दुबै माध्यमबाट सञ्चालन गरेको छ । विश्वविद्यालयका परीक्षा व्यवस्थापन प्रमुख डा. आनन्दप्रसाद सुवेदी विद्युत र इन्टरनेटको पहुँचमा नभएका परीक्षार्थीका लागि अफलाइन परीक्षा दिने व्यवस्था मिलाइएको बताउँछन् । उनका अनुसार अफलाइन परीक्षा दिने विद्यार्थीहरूले प्रश्नपत्र पाएको भोलिपल्टसम्म लेखेर बुझाउन सक्छन् ।

गत साउन १६ गते बसेको मध्यमाञ्चल विश्वविद्यालय पदाधिकारी बैठकले वस्तुगत, विषयगत र ‘प्रोजेक्ट बेस्ड एसाइनमेन्ट’को आधारमा प्रश्नपत्र तयार पार्ने निर्णय गरेको थियो । परीक्षार्थीले विश्लेषणात्मक र आलोचनात्मक ढंगले जवाफ दिनुपर्ने गरी प्रश्नपत्र बनाइएको परीक्षा व्यवस्थापन प्रमुख डा. सुवेदी बताउँछन् । मध्यवर्ती परीक्षामा अनुपस्थित विद्यार्थी सेमेस्टरको अन्तिम परीक्षामा सहभागी हुन नपाउने उनले जानकारी दिए । मध्यमाञ्चल विश्वविद्यालयद्वारा सार्वजनिक तालिका अनुसार भदौ १९ गतेसम्म मध्यवर्ती परीक्षा सम्पन्न भईसक्नेछ ।

त्रिविमा डिन कार्यालयलाई जिम्मा

त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद्को बैठकले सेमेष्टर परीक्षाको जिम्मा सम्बन्धित डिन कार्यालयलाई दिने निर्णय गरेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । तत्काल परीक्षा सञ्चालन हुन नसक्ने भएपछि डिनहरूले अर्को सेमेस्टरको अनलाइन परीक्षा सुरु गरेका छन् ।

व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले मातहतका सम्पूर्ण क्याम्पस प्रमुख, विभागीय प्रमुख र निर्देशकहरूलाई यसअघि नै परिपत्र गरिसकेका छन् । परिपत्रमा स्थिति सहज भएपछि परीक्षा सञ्चालन गर्ने गरी अनलाइन कक्षा सञ्चालन गरिने उल्लेख छ । वार्षिक परीक्षा भने दशैंपछि मात्रै लिने निर्णय भएको त्रिविका परीक्षा नियन्त्रक जोशी बताउँछन् ।

सम्बन्धित खबरहरु