काठमाडौ । नेपाल वायुसेवा निगमले जापानबाट काठमाडौं आएको उडानमा एकजना पिसिआर परीक्षण नगरिएको यात्रु ल्याएको पाइएको छ । बुधबारको नारितादेखि काठमाडौंको नियमित उडानको क्रममा दुई सय १३ यात्रु ल्याएकोमा एकजना पिसिआर परीक्षणविनाका यात्रु ल्याएपछि सबै यात्रुलाई होटेल क्वारेन्टिनमा राखिएको छ । एकजना यात्रु जापानबाट पिसिआर परीक्षणको रिपोर्ट लिएर आउनुपर्नेमा आरडिटी रिपोर्ट लिएर आएको पाइएको हो ।

 

 

काठमाडौं विमानस्थलमा जहाज अवतरण गरेपछि सबैको रिपोर्ट जाँच गर्ने क्रममा एक यात्रुको आरडिटी मात्रै रहेको खुलेपछि सबैलाई होटेल क्वारेन्टिनमा पठाइएको छ । यसअघि एयरअरेबियाले पनि लापरबाही गरेर पिसिआर परीक्षणबिना यात्रु ल्याएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको थियो । त्यसमा रहेका सबै यात्रुको होटेलखर्च एयरलाइन्सलाई तिराउन पर्यटन मन्त्रालयले बुधबार निर्देशन दिएको छ । ‘एकजना यात्रु आरडिटी मात्रै रिपोर्ट लिएर आएको पाइएपछि सबैलाई होटेल क्वारेन्टिनमा राखिएको छ,’ निगमकी प्रवक्ता अर्चना खड्काले भनिन् ।

 

 

ती यात्रुको काठमाडौंमा पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएकोले सबैलाई घर पठाइनदिन आग्रह गरेको खड्काले बताइन् । जापान विमानस्थलमा निगमकै कर्मचारीको लापरबाहीका कारण उक्त यात्रु आएका हुन् । सरकारले जारी गरेको निर्देशिकाअनुसार पिसिआर नगरी यात्रु ल्याएमा होटेल क्वारेन्टिनमा सात दिन सबै यात्रु राख्नुपर्ने र सबै खर्च सम्बन्धित यात्रुलाई भराउन भनिएको छ । अब निगमले सबै यात्रुको होटेल खर्च व्यहोर्नुपर्नेछ । जसमा कम्तीमा पनि २६ लाख ८३ हजार रुपैयाँ फजुल खर्च हुने भएको छ ।

 

 

सरकारले नियमित उडान हुने गन्तव्यबाट आउने सबै यात्रुको अनिवार्य पिसिआर रिपोर्टको व्यवस्था गरेको छ । त्यस्तै उद्धार उडान मात्रै हुने देशबाट भने पिसिआर नभएका यात्रु पनि आउन पाउने, तर होटेल क्वारेन्टिनमा सात दिन बसेर पिसिआर परीक्षणपछि मात्रै घर जान पाउने व्यवस्था गरिएको छ । घर जान पनि १४ दिन होम क्वारेन्टिन बस्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

 

यस्ता छन् सर्तहरू
पिसिआर परीक्षण सहज भएका मुलुकहरू मलेसिया, युएई दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानडा र युरोपेली मुलुकबाट भदौ १७ बुधबारदेखि नियमित उडान सुरु भएको छ । साउदी अरब, कुवेत, कतार लगायत अन्य मुलुकबाट नियमित उडानबाट यात्रुहरू ल्याउन नपाइने व्यवस्था गरिएको छ । त्यस्ता मुलुक र नियमित उडानका लागि अनुमति नभएका श्रमिक रहेका मुलुकबाट चार्टर्ड उडानको सेड्य्ुल पनि तोकिएको छ । विगतमा दैनिक पाँच सय यात्रु मात्रै आउन पाउने व्यवस्था गरिएकोमा अहिले बढाएर आठ सयको कोटा तय गरिएको छ ।

 

नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ तथा कर्मचारीहरू, संयुक्त राष्ट्र संघ, विकास साझेदार संस्थाका कर्मचारी तथा प्रतिनिधिलाई मात्रै आउन अनुमति दिइनेछ ।

 

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फारम भरेर सोको बारकोड वा प्रिन्ट कपी र कम्तीमा सात दिन होटेल क्वारेन्टिनमा अनिवार्य बस्ने गरी होटेल बुकिङको प्रमाण साथमा लिई आउने सर्तमा उडान तालिका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको छ ।

 

पिसिआर पोजेटिभ भएको प्रमाणपत्र भएका यात्रु सबैलाई दर्ता र स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्ने व्यवस्था गरिएको छ ।

 

होटेल क्वारेन्टिनमा बस्नु पर्ने गरी हवाई उडानबाट नेपाल आउने यात्रुलाई हवाई टिकट जारी गर्दाकै अवस्थामा होटेल क्वारेन्टिनमा कम्तीमा सात दिन बस्दा लाग्ने खर्चसमेत सम्बन्धित यात्रुबाट लिइनेछ । यसरी उठाइएको होटेल क्वारेन्टिनबापतको रकम सम्बन्धित होटेललाई भुक्तानी गर्ने दायित्व सम्बन्धित एयरलाइन्सको हुने भएको छ ।

 

वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिहरूबाहेक अन्य तरिकाले उद्धार उडानबाट नेपाल आउने नेपाली नागरिक काठमाडौं उपत्यकाभित्रका होटेलमा आफ्नै खर्चमा कम्तीमा सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । तर, पिसिआर नेगेटिभ मात्र भएका उडानबाट आएका नेपाली नागरिकलाई १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धतासहित जान दिने र यसको अनुगमन स्थानीय तहले गर्नेछन् ।

 

एउटै उडानमा पिसिआर नेगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई मिसाएर ल्याउन नपाइने व्यवस्था गरिएको छ । पिसिआर नेगेटिभ भएका र पिसिआर परीक्षण नभएका व्यक्तिलाई एउटै उडानबाट ल्याएमा सबै यात्रु होटेल क्वारेन्टिनमा बस्नुपर्ने र होल क्वारेन्टिनमा लागेको खर्च सम्बन्धित एयरलाइन्सले नै व्यहोर्नुपर्नेछ । नयाँ पत्रिकामा खबर छ ।

सम्बन्धित खबरहरु