कविता -लाहुरे राजा

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १९ भदौ, २०७७

कविता
लाहुरे राजा
–चन्द्रमा पौड्याल
ओ लाहुरे राजा !
तिमीलाई प्रेम गर्दैछु म
ह्रदयको तल्लो फेदीबाट
अलिकति मेरो ख्याल गरेका त छौ होला नि !
ऐनामा हेर्दैछु
ठोट्नेको छहरो जस्तो निर्मल सिउँदो
तर देखिरहेछु तिम्रै सग्लो प्रतिविम्ब
खवरदार ! साटौला नि मेरो प्रेमलाई
तिम्रो बेरुवा औँठी र छापावाल सुनसँग
थोरै भए पनि प्रेमको जतन त गर्छौ होला नि !
ओ मेरो ह्रदयको झङ्कार !
रच्नु छैन मेरो प्रेमको नाममा
कुनै ताजमहल वा रानीमहल
बस् ह्रदयभरि चुली पारेर
पाथी भरिदिए पुग्छ प्रेमको
तिम्रो स्नेहको ओजले
मर्न पाउँ मात्र एक पटक
एक जीवनको मरण
अलि अलि स्नेह त साँचेका छौ होला नि !
सात समुद्रवारि छु म
हेर्दैछु रकेटको धुँवाले बनाएको सरल रेखा
सक्ने भए त्यही रेखा पछ्याउँदै
आइपुग्थें होला तिम्रो पाताली आँगनमा
तर कमजोर छन् मेरा मनका वायुपङ्खीहरु
छोड्न सक्दैनन् सेतै फुलेकी बुढीआमा
हिउँदको सेताम्मे पाखो
अनि सेता छाँगा र चिमाल
मनको कुनामा सम्झना पोक्याएकै छौ होला नि !

नीलकाँडाको बारजस्तै
प्रेमको दिवारभित्र
जोगाएकी छु स्निग्ध कौमार्य
जो एक बैंस र एक यौवनभरि
लुकामारी खेल्नेछ केवल
तिम्रै मायाप्रेमको घामछायाँमा
इन्द्रेणीले जस्तै जोड्नेछ
प्रेमका भञ्ज्याङ र टाकुराहरु
आरोपित हुने छैनन् मेरा सप्तरङ्गहरु
एक मुठ्ठी श्रद्धा त जोगाएकै छौ होला नि !
ओ मेरो ह्रदयराज !
माया र स्नेहको मतलब नहुने
त्यो मतलबी संसारको सुरम्य समुद्रमा
तिमी अवश्य हराएका छैनौ
पर्खनेछु म पुरै यौवन र युगै पनि
अपलक हेर्दैछु बाटो
कुनै दिन झुलुक्क झुल्किनेछौ मेरो आकाशमा
जहाँ असङ्ख्य तारामण्डलमा
एउटा तिमी र अर्को म हुनेछौं
झिनो बिश्वासको सलेदो जगाएकै छौ होला नि !

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७