काठमाडौं । एक मन्त्रीको राजीनामापछि बसेको आजको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने आंकलन गरिएको थियो । तर, आजको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको नाम राष्ट्रियसभाको सदस्य पदका लागि सिफारिस गर्ने अनुमान गरिए पनि सो बारेमा छलफलसमेत नभएको एक मन्त्रीले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार बसेको नेकपा सचिवालय बैठकमा सरकारले नेता गौतमको नाम राष्ट्रियसभाका लागि सिफारिस गर्ने बताउनुभएको थियो । त्यसकारण आज बसेको मन्त्रिपरिषद बैठकबाट गौतमको नाम सिफारिस हुने धेरैले आकलन गरेका थिए । तर बैठकमा गौतमको प्रस्ताव प्रस्तुत भएन । ति मन्त्रीले भन्नुभयो, “मन्त्रिपरिषद बैठकमा नेता गौतमको नामको प्रस्ताव प्रस्तुत भएन, प्रधानमन्त्रीज्यूले आफै सिफारिस गर्नुहुन्छ कि भन्ने हामीलाई लागेको छ ।’

मन्त्रिपरिषद बैठकमा सो प्रस्ताव आउनेमा मन्त्रिहरुसमेत आशावादी भएका बेला प्रस्ताव नआएको ती मन्त्रीले बताउनुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्री फेर बदलको गलत उद्देश्यबाट चलाइएको हल्ला मात्र भएको बताउनुभएको थियो । ओलीले अहिले तत्काल कोही मन्त्रीको फेरबदल हुँदैन, ढुक्क भएर उच्च मनोबलका साथ काम गर्न निर्देशन दिनु भएको छ ।

सम्बन्धित खबरहरु