ललितपुर । रातो मच्छिद्रन्नाथको रथ भएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन जिल्ला प्रशासन कार्यालय, ललितपुरले निषेध गरेको छ । बिहीबार रथ तान्ने क्रममा स्थानीयवासी र प्रहरीबीच झडप भएपछि प्रशासन शुक्रबार कफ्र्यु आदेश जारी गरेको थियो ।

 

मच्छिन्द्रनाथको रथका सवालमा सम्भावित हुनसक्ने घटनालाई मध्यनजर गर्दै शनिबारदेखि निश्चित क्षेत्रमा बिहान ५ बजेदेखि बेलुकी १० बजेसम्म लागू हुने गरी पाँच जनाभन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको छ ।

 

 

पाँच जनाभन्दा कम मात्र हिंड्न अनुरोध गरिएको छ । पाँच जनाभन्दा बढी रथ आसपास हिंडडुल गर्न निषेध गरिएको छ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने, ‘पूर्वमा मदन स्मृति स्कुल अगाडिको चोक, पश्चिममा महानगरपालिकाको कार्यालय, दक्षिणमा सेन्ट जेभियर्स स्कुल अगाडिको चोक र उत्तरमा बल्खुडोलमा भेला हुन निषेध गरिएको छ । त्यस्तै, मिननाथको रथ रहेको क्षेत्र आसपास पनि पाँच जनाभन्दा बढी भेला हुन निषेध गरिएको छ ।

 

शुक्रबार प्रशासनको सहमतिबिना निषेधाज्ञाको समयमा रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न खोज्दा यो झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस प्रहार गरेका थिए ।

 

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेकप्रसाद राई र गुठी संस्थानका अधिकारी र १९ ओटा जातीय संगठनको बैठकले ‘संक्षिप्त रथयात्रा’ गर्ने निर्णय गरेअनुसार शुक्रबार क्षमा पूजा गरिएको हो ।

 

बैठकले संक्षिप्त विधिबाट मच्छिन्द्रनाथलाई बुंमती लैजाने सहमति भएको बैठकमा सहभागी गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । बैठकले सबै सरोकारवालाको सहमतिमा रातो मच्छिन्द्रनाथ जात्राका सबै विधि हाल रथ भएकै स्थानमा सम्पन्न गर्ने निर्णय पनि गरेको आजको राजधानी दैनिकमा उल्लेख छ ।

सम्बन्धित खबरहरु