काठमाडौ । कोरोना महामारीको संकट बढ्दै जाँदा आइपर्ने सम्भावित सुरक्षा चुनौतीबारे सशस्त्र प्रहरी बलले आवश्यक तयारी थालेको छ । भविष्यमा आउनसक्ने सम्भावित चुनौतीको विश्लेषण गर्दै सशस्त्र प्रहरीले आवश्यक तयारी थालेको हो । सशस्त्र प्रहरी बलमा हाल ३७ हजारको हाराहारीमा जनशक्ति कायम छ । जसमा ६ सय बढी प्रहरी संक्रमित छन् । कोरोनाको अवस्था भयावह हुने सम्भावित अवस्थाको लागि भन्दै आफूहरुले पूर्वतयारी गरेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले बताए ।

 

सशस्त्रले सुरक्षा तयारीस्वरुप विभिन्न तयारी गरेको छ । जसमध्ये एक हो संकट बढेको अवस्थामा अवकाशप्राप्त सशस्त्र प्रहरी र युवालाई समेत स्वयम्सेवक बनेर कोरोना महामारीविरुद्ध सक्रिय हुन आव्हान गर्ने । प्रवक्ता अर्यालले भने,“यो अन्तिम अवस्थाका लागि गरिएको तयारी हो । कोरोना संक्रमणले हाम्रा काम कारवाही निकै प्रभावित भएमा हामीले अवकाशप्राप्त इच्छुक प्रहरीलाई स्वयम्सेवक बन्न आह्वान गर्छौँ । उनीहरुलाई विभिन्न जिम्मेवारीमा परिचालन गर्छौँ । तर यसका लागि सरकारसँग समन्वय हुन्छ । सकेसमम्म यस्तो अवस्था नआओस् भन्नेतर्फ सचेत छौं ।”

 

 

यसका लागि विभिन्न चरणहरु हुनेछन् । सबै चरणहरु पार गर्दा पनि समस्या भएमा मात्रै अन्तिम विकल्पका रुपमा स्वयम्सेवकको प्रस्ताव अघि सारिनेछ । सशस्त्र प्रहरीमा हाल १५२ वटा बोर्डर आउट पोष्ट (बीओपी) छन् । यसबाहेक आठवटा रिजर्भ गण, बाहिनी र मुख्यालयमा जनशक्ति छ । “अहिले नै सुरक्षामा समस्या भने आएको छैन,” उनले भने । आफूहरुले गर्दै आएको नियमित जिम्मेवारीका लागि जनशक्ति पुगेको प्रवक्ता अर्याल बताउँछन् ।

 

हाल सशस्त्र प्रहरीको ३१ हजार जनशक्ति कोरोनाविरुद्धको अभियानमा फिल्डमै परिचालित छ । सीमा सुरक्षा, राजश्व चुहावट, भिड नियन्त्रण, विपदमा उद्धारलगायत शान्ति सुरक्षाका मुख्य जिम्मेवारीमा सशस्त्र सक्रिय रहँदै आएको छ ।

 

सम्बन्धित खबरहरु