काठमाडौं । उज्यालो नेपालका नायकका रुपमा चर्चामा आउनु भएका कुलमान घिसिङ प्राधिकरणमा दोहोरिने सम्भावना बलियो बनेको छ । नेपाल विद्युत् प्राधिकरणको आगामी चारवर्षे कार्यकालका लागि पुनः घिसिङलाई जिम्मेवारी दिने सम्भावना बढ्दै गएको हो । घिसिङको कार्य कुशलता र पब्लिक सेन्टिमेन्टलाई मध्यनजर गर्दै उहाँकै कार्यकाललाई निरन्तरता दिनेगरी प्रस्ताव लैजाने तयारी भएको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

 

चार वर्षअघि २९ भदौ २०७३ मा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्नु भएका घिसिङको कार्यकाल सकिन लागेसँगै प्राधिकरणमा नयाँ नेतृत्व चयनको विषयले सबैतिर चर्चा पाएको छ । आगामी २९ भदौमा सकिन लागेको घिसिङको कार्यकाललाई लिएर सर्वसाधारण, कलाकारदेखि उहाँको पक्षमा रहेका नेता कार्यकर्ताले समेत घिसिङको कार्यकाल थप गर्नुपर्ने माग गर्दै आएका छन् ।

 

यसैबीच ऊर्जामन्त्रालय पनि प्राधिकरणमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा सकारात्मक रहेको दावा गरिन्छ । यसअघि ऊर्जामन्त्री पुनको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग भएको अनौपचारिक छलफलमा घिसिङलाई नै निरन्तरता दिने पक्षमा प्रधानमन्त्री ओलीसमेत सकारात्मक देखिएको बताइएको छ ।

 

त्यस्तै,नेकपाका अर्का अध्यक्ष प्रचण्डले पनि घिसिङको विकल्प नखोज्नुपर्ने पक्षमा रहेका छन् । जनतादेखि लिएर उच्च ओहोदाका व्यक्तिसमेत कुलमानको पक्षमा रहेकाले घिसिङलाई नै निरन्तरदिनुपर्ने पक्षमा रहेका कारण मन्त्रालयसमेत यो विषयमा सकारात्मक रहेको स्रोतले बतायो ।

 

दैनिक १८ घण्टाको लोडसेडिङ अन्त्य प्रमुख भूमिका निर्वाह गर्दै आम जनमानसमा लोकप्रिय बन्नु भएका घिसिङ पनि एक कार्यकाल दोहोर्याउने पक्षमा रहेको बताइन्छ । घिसिङले प्राधिकरणको ३५औं वार्षिकसाधारण सभामा प्रसारणलाइन, भारत र बंगलादेशमा विद्युत् बिक्रीलगायतका योजना कार्यान्वयनका लागि कार्यकाल थपको मनसाय राख्नु भएको थियो । केही दिन अघिदेखि सामाजिक सञ्जालमा पनि उहाँलाई प्राधिकरणको जिम्मेवारी थप चार वर्षका लागि दिनुपर्ने माग जोडतोडका साथ उठीरहेको छ ।

 

सम्बन्धित खबरहरु