
कविता
जनावर
– बिक्रम मुडभरी
न दया, न माया, न कुनै समवेदना
न प्रेम, न भावना, न कुनै चेतना
मदहोस, बेहोस आफ्नै अनुभूतिमा
मन नै निर्लज्ज भएपछि के अर्थ ?
ढाकेर कपडा शरीरमा
दुई खुट्टा टेकेर उभिँदैमा
जनावर मानिस हुँदैन ।
कुनै जनावरको लासमाथि
झिनाझम्टी गरिरहेका गिद्ध हुन या
शक्ति र सम्पतिको झिनाझम्टी गरिरहेका मानिस
गिद्धले त मरेका जनावरको शिकार गर्छ
तर यहाँ त
जिउँदा मानिसहरुनै शिकार भईरहेछन्
घृणा, रिस र अहङ्कारको आगो झोसेर
पशुपतिमा आरती गर्दै
बागमतीमा पाप पखाली रहेछन्
आँखाभरि सपना सङ्गालेर
जीवनमा खुसियाली, हरियाली भर्न
छिरेको थिएँ म पनि
यो निर्मम जनावरहरुको वस्तीमा
न पुछियो आँसु, न भरियो चोट
न पुरियो मनको घाउ
न जल्यो आशाको दियो
यो दलालहरुको बस्तीमा
मान्छेको लासमा पनि
भ्रष्टिकरण देखेँ
के पँहेलो गेरु बस्त्र पहिरेर
आफैँलाई भगवान घोषित गर्दैमा
जनावर मानिस हुन्छ ?
आँँखाबाट आँसुको समुन्द्र बगेर गए पनि
आलो घाउमा
नुन, खुर्सानी छर्नेहरुलाई के भनुँ !
मैले त आफ्नो मनलाई नै
मन्दिर बनाएको थिएँ
तर जसलाई मानेको थिएँ भगवान
उही सैतान बनेपछि के गरुँ !
चाहे रुद्राक्ष लगाउ घाँटिमा
चाहे हातमा त्रिशुल बोक
चन्दनको ठाडो टीका लगाउ निघारमा
जनावर कहिल्यै मानिस हुन सक्दैन ।