काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमण भएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको उहाँको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको हो । महामन्त्री कोइरालाले रिपोर्ट पोजिटिभ आएको आफैँ जानकारी गराउनु भएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीका अनुसार उहाँलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । सचिव तिवारीका अनुसार कोइरालाले घरमै आइसोलेसनमा बस्ने जानकारी दिएका छन् ।

का‌ंग्रेस महाधिवेसनको सरगर्मी सुरु भएपछि उनी अहिले टोखाबाट सरेर महाराजगन्जस्थित निवासमा बस्न थाल्नु भएको थियो । दैनिक दर्जनौं नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने गर्नुभएको थियो ।

उहाँसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ । महामन्त्री कोइरालाले गर्नुभएको ट्वीट यस्तो रहेको छः

आज गरिएको परीक्षणका क्रममा म मा कोरोना संक्रमण पुष्टि भएको छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुको सल्लाह अनुसार हाल म होम आइसोलेसनमा बसेको छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्दछु।

https://twitter.com/DrShashankKoir1/status/1303304226261536769

सम्बन्धित खबरहरु