कैलाली । सरकारी छाप दस्तखत किर्ते मुद्धाका फरार प्रतिवादी गोदावरी नगरपालिका-३ बस्ने ६३ वर्षीय ईश्वरी प्रसाद दाहाललाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला मालपोत कार्यालय बर्दियामा २०६५ सालमा खरिदार पदमा कार्यरत रहँदा दाहाल समेतका २ जनाले नेपाल सरकारका नाममा रहेको बर्दिया जिल्लाका विभिन्न स्थानका जग्गाको किर्ते कागजपत्र बनाई विभिन्न व्यक्तिहरुबाट आर्थिक लाभ समेत लिई किर्ते लालपुर्जा बनाई दिएका थिए ।

 

उक्त मुद्धामा जिल्ला अदालत बर्दियाको २०७३ मंसिर ३० गतेको फैसलाले ३ वर्ष ५ महिना कैद भई हालसम्म फरार रहेका उनलाई उनकै घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 

मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ
कैलाली । मोबाइल चोरीमा संलग्न रहेको अभियोगमा टीकापुर नगरपालिका-२ बस्ने १९ वर्षीय सन्देश बिक समेत अन्य २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

कैलाली टीकापुर नगरपालिका-४ मौरनियास्थित सोही ठाउँ बस्ने बलिराम थारुको मोबाइल ग्यालरीबाट भदौ ११ गते राति मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न रहेका उनीहरुलाई सोही ठाउँ बन्दिपुरस्थित सडकखण्डबाट ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट ८ थान विभिन्न कम्पनीका मोबाइल र चोरी गर्न प्रयोग हुने औजारहरु बरामद भएको छ । उनीहरु उपर चोरी मुद्धामा जिल्ला अदालत कैलालीबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सम्बन्धित खबरहरु