नुवाकोट । निजामती सेवाको पदमा नियुक्तिको लागि उपयुक्त उम्मेदवार छनोटगरी सिफारिस गर्ने संवैधानिक अधिकार प्राप्त निकाय लोक सेवा आयोग हो । यसबाहेक सुरक्षा निकाय र संघसंस्थाको परीक्षा सञ्चालन गर्ने संवैधानिक निकाय पनि लोक सेवा आयोग नै हो । लोक सेवा आयोगले स्वतन्त्र, निष्पक्ष र तटस्थ रुपमा कार्य सम्पादन गर्दै सबैको बिश्वास प्राप्त गरेको छ । यो सबैको आशा र भरोसाको केन्द्रबिन्दु बनेको छ । नेपालको संविधानको भाग २३ को धारा २४२ देखि २४४ सम्म लोक सेवा आयोगसम्बन्धी व्यवस्था छ ।

 

सार्वजनिक प्रशासनमार्फत राज्यले जनतालाई नियमित, विकासात्मक र आकस्मिक सेवा प्रदान गर्दछ । सार्वजनिक प्रशासन भनेको राज्य र जनताबिचको सेतु, सरकारको राज्य सञ्चालनको संयन्त्र हो । सार्वजनिक प्रशासन सञ्चालन गर्ने निजामती सेवाको पदमा पदपूर्ति गर्न लोक सेवा आयोगको स्थापना भई योग्यतामा आधारित प्रणालीमार्फत कर्मचारी छनोट तथा भर्ना गरिने व्यवस्था रहेको छ ।

 

 

नेपालको संविधान जारी भएपछि राज्य संघ, प्रदेश र स्थानीय तहमा विभाजन भयो । यी तीनै तहमा देशभर ८५ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत छन् । निजामती कर्मचारीको सेवाको सुरक्षा, वृत्ति विकास, तालिम, वैदेशिक अध्ययन भ्रमण, उपदान, निवृत्तभरण आदिको व्यवस्था गरी सार्वजनिक प्रशासनमार्फत प्रवाह गरिने सेवा जनमैत्री बनाउने प्रयास गरिएको छ ।

 

यस प्रकारको निजामती सेवामा प्रवेश पाउनका लागि निश्चय पनि लगनशीलताको आवश्यकता पर्दछ । निरन्तर अध्ययन, विषयबस्तुको ज्ञान, लेखन शैली, उच्च मनोबल, समसामयिक विषयवस्तुको जानकारी, पुराना प्रश्नपत्रको संकलन र उत्तर लेख्ने अभ्यास गर्ने बानीको विकास गर्न सकेमा लोक सेवा आयोगको परीक्षामा सफलता प्राप्त गर्न सकिने छ ।

 

लोक सेवा आयोगको परीक्षामा सफलता हासिल गर्न निम्नलिखित पक्षहरुमा ध्यान दिनुपर्नेछ :

१. तोकिएको पाठ्यक्रम क्रमबद्ध रुपमा अध्ययन गर्ने , नोट बनाएर अध्ययन गर्ने ।

२. अध्ययन गरिएको विषयवस्तुको गहिराइ (In depth) मा पुने ।

३.पाठ्यक्रमसंग सम्बन्धित विभिन्न पुस्तकहरु, प्रकाशनहरु, इन्टरनेट, बिभिन्न पत्रपत्रिकामा प्रकाशित प्रशासन र व्यवस्थापनसंग सम्बन्धित लेखकहरुको अध्ययन र टिपोट गर्ने ।

४. विषयबस्तुको अध्ययन र स्मरणका लागि सुत्रबद्ध गर्ने र मेडिटेसन (Meditation) गरी विषयवस्तुको स्मरण बढाउने ।

५. विषयबस्तुको अवधारणा (Concept), अर्थ (Meaning), परिभाषा (Definition), सिद्धान्त (Principle), दायरा तथा क्षेत्र (Area), महत्त्व (Importance), चरणहरु(Steps), वर्तमान अवस्था (Current Situation), अन्तर्राष्ट्रिय अभ्यास (International Practices), कारण (Cause), समस्या (Problem) र समाधानका उपायहरु (Solution), आगामी कार्यदिशा (Way Forward), निष्कर्ष (Conclusion), आदिमा स्पस्ट हुने।

 

६. मनोबल उच्च बनाउने (High morale), अध्ययन गर्ने वातावरण निर्माण गर्ने , विषयवस्तुको बुझाइको तह समान भएका दुईजना साथी मिलेर सिनर्जी प्रणाली ( Synergy approach) अवलम्बन गरी अध्ययन गर्ने ।

७. पुराना प्रश्नपत्रको अध्ययन गरी SMART शैली अपनाउने (Specific, Measurable, Achievable, Realistic and Time bound), उत्तरको सुरुवात गर्दा सुरुमा प्रश्नसँग सम्बन्धित महत्वपूर्ण कोटेशनमार्फत लेखन सुरु गर्ने र आकर्षक तथा सफा अक्षर, तथ्यपूर्ण बुँदा लेखन गर्ने ।

८. सान्दर्भिक तथ्यहरु , उदाहरण , तुलनात्मक , तर्कसहितको कारण र परिणाम प्रस्तुत गर्ने , लेखन यथार्थपरक र तथ्यमा आधारित हुनुपर्ने ।

९. पाठ्यक्रम अध्ययन गर्दा क्रमबद्द रुपमा अध्ययन गरी गहन र उचित तथा प्राविधिक शब्दावली प्रयोग गरी उत्तरपुस्तिकामा वजनदार प्रस्तुति गर्ने ।

 

१०. उत्तर लेख्दा प्रश्नको अंकभार र समयलाई आधार बनाई बुँदागत रुपमा प्रस्तुत गर्दा निर्धारित समयमा प्रश्नको उत्तर समेटन सकिने, कुनै पनि प्रश्न नछुटाई अनिवार्य रुपमा हल गर्नुपर्ने ।

११. आइ.क्यु. जस्ता विषयमा बढीभन्दा बढी अभ्यासको आवश्यकता पर्ने हुनाले त्यसतर्फ बढी ध्यान दिने र अन्य विषयहरुमा विषयवस्तुलाई एकअर्कोसँग Linkage गरी अध्ययन गर्ने ।

१२. परीक्षा केन्द्रमा जाँदा साथमा प्रवेश पत्र, समय हेर्न घडी, अन्य आवश्यक सामग्री लिएर समयमा नै उपस्थित हुनु पर्ने ।

 

१३. अन्त्यमा , सारांश लेख्दै उत्तरको बिट मार्ने र उत्तरपुस्तिकाको माथिल्लो भागमा लेखिएका बुँदा तथा परिच्छेदलाई Linkage गराउने ।

 

माथि उल्लिखित बुँदाहरुलाई ध्यानमा राखी दिनमा कम्तीमा २ घण्टा र परीक्षाको समयमा १० देखि १२ घण्टाको समय व्यवस्थापन गरी अध्ययन गरेमा लोक सेवा आयोगको परीक्षामा सफलता प्राप्त गर्न सकिने छ । पहिले अध्ययन गरेका विषयवस्तुलाई पुनरावलोकन (Revision) गर्ने, बेलुका सुत्ने समयमा र बिहान उठेपछि अध्ययन गरेका पाठहरू पुनरावलोकन गर्ने, उत्तरको अन्त्यमा सारांशसहित तर्क र सान्दर्भिक विषयवस्तुको प्रस्तुति गरी लेखन टुङ्ग्याउनु पर्छ ।

सम्बन्धित खबरहरु