काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै मापदण्ड उल्लङ्घन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रियालाई तीव्र बनाउने छ ।

 

निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले भीडभाड गरेर यात्रु ओसारपसार गराएको, तोकिएको दिन र समयभन्दा बाहेकको समयमा पनि पसल खोल्ने, भीडभाड गर्ने, मास्क नलगाइ हिँड्ने जस्ता क्रियाकलाप भएको भन्दै प्रशासनले मापदण्ड पालनामा कडाइ गर्ने भएको हो ।

 

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगर्नेलाई कडा कारबाही नगरी नहुने अवस्था सिर्जना भएको बताउनुभएको छ । उहाँले हिजोमात्रै जोरबिजोर नमान्ने एक हजारभन्दा धेरै गाडीलाई कारबाही गरिएको बताउनुभयो ।

 

यस्तै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सरकारले तोकेको मापदण्ड र निर्देशन नमानेमा जो कोहीलाई पनि कारबाही हुने चेतावनी दिनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयले जारी गरेको १९ बुँदे मापदण्ड पालना भएरनभएको बारे अनुगमन भइरहेको भन्दै सरकारी निर्णयलाई अक्षरस पालना गर्न आग्रह गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु