पाल्पा । तानसेन नगरपालिका–२ नारायणस्थानस्थित अमरनारायण मन्दिर परिसरमा रहेको ऐतिहासिक ठूलो पोखरीमा १०८ गौमुखी धारा र एउटा शिवलिङ्ग स्थापना हुने भएको छ । गत चैतदेखि गौमुखी धारा स्थापना गर्न पोखरीमा आधार तय गर्ने काम भइरहेको वडाध्यक्ष वरुणप्रसाद रेग्मीले बताउनुभयो ।

 

भदौ महिनाको अन्तिमसम्म ३० ओटा धारा जडान गर्ने र बाँकी धारा चालु आवको असारमसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ । गत आवको रु ३० लाख बजेटबाट अहिले काम भइरहेको छ । यस आवमा पोखरीकै लागि रु १० लाख बजेट नगरपालिकाबाट विनियोजन भइसकेको वडाध्यक्ष रेग्मीले बताउनुभयो ।

 

 

पाँच किलोको तौल र ११ इन्चको लम्बाइ भएको गौमुखी धारा जडान हुनेछ । धाराबाट निस्केको पानी नालीमा झर्ने र सो नालीमाथि फलामको जाली बिछ्याउने काम हुने छ । बहुवर्षीय योजनाअनुसार जीर्ण तथा फोहोर पोखरीको तल्लो भाग सम्याउने, भित्तालाई व्यवस्थित गर्ने, पोखरी सरसफाइ, प्रवेश गर्ने सिँढी, रेलिङ, ट्याङ्कीलगायतका काम सकिएको वडासदस्य महेश्वर श्रेष्ठले बताउनुभयो ।

 

कोभिड–१९ का कारण योजना सम्पन्न गर्न केही ढिलो भएको छ । गौमूखी धारा जडानपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा अमरनारायण मन्दिरको थप पहिचान हुने स्थानीयवासीको जिकिर छ । यस कार्य पूरा हुँदा मुक्तिनाथको झल्को पाल्पाबाट दिइनेछ । अमरनारायण मन्दिर परिसरमा निर्माण गरिएको पूर्वाधारले पर्यटक आगमनमा वृद्धि हुने देखिएको वडा सदस्य शान्ति झेडीले बताउनुभयो ।

 

काजी अमरसिंह थापाबाट विसं १८६३ मा अमरनारायण मन्दिर र ठूलो पोखरी निर्माण भएको थियो । यस मन्दिर जिल्लाकै पर्यटकीय सम्पदाका रूपमा परिचित छ । अमरनारायण मन्दिरमा ऐतिहासिक काष्ठकलाको बेजोड प्रस्तुति देखिन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरु काष्ठकलाका प्रस्तुतिले लोभिन्छन र मन्दिर सेरोफेरोमा टहलिन बाध्य हुन्छन् ।

 

यस मन्दिरमा भाद्र कृष्ण अष्टमीका दिन जाग्राम बस्ने र नवमीका दिनमा रथ निकाली जात्रा गर्ने परम्परा छ । मन्दिर सञ्चालन गर्न गुठीको व्यवस्थासमेत गरिएको छ । काजी अमरसिंहले वार्षिक खर्च चलाउन माडी फाँटमा हजार मुरी माटो गुठीको व्यवस्था गरी अमरनारायणको मन्दिर निर्माण गराएका थिए । रासस

सम्बन्धित खबरहरु