लद्दाख । भारत र चीनबीच सीमावर्ती लद्दाखको चुशुलमा शुक्रबार ब्रिगेड स्तरका सैनिक अधिकारीहरुबीच वार्ता भएको छ । चीन र भारतका विदेशमन्त्रीबीच रुसको मस्कोमा द्वीपक्षीय वार्ता भएसँगै दुबै देशका सैन्य अधिकारीबीच वार्ता भएको हो । भारतीय सैनिक स्रोतले दुबै देशका सैन्य अधिकारीबीच बिहान ११ बजे शुरु भएको वार्ता अपराह्न ३ बजे समाप्त भएको जनाएको छ ।

 

चीन र भारत सीमा क्षेत्रमा केही समयदेखि उत्पन्न विवादका विषयमा बिहीबार चीनका विदेशमन्त्री वाङ यी र भारतका विदेशमन्त्री एस जयशंकरबीच रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो । दुबै विदेशमन्त्री सांघाई सहयोग संगठनको बैठकमा भाग लिन यतिबेला मस्कोमा हुनुहुन्छ । दुबै मन्त्रीबीचको भेटवार्ता करिब अढाई घण्टा चलेको थियो ।

 

भारतीय संचार माध्यमहरुका अनुसार भारतीय विदेशमन्त्री जयशंकरले पूर्वी लद्दाखको सीमाक्षेत्रमा उत्पन्न गतिरोधले दुबै मुलुकबीचको सम्बन्धमा व्यापक असर परेको बताउनुभएको थियो । विद्यमान परिस्थितिको जतिसक्दो चाँडो समाधान गर्न सकिए त्यो दुबै देशको हितमा हुने विचार पनि मन्त्री जयशंकरले चिनियाँ समकक्षीसमक्ष राख्नुभएको थियो ।

 

वार्तामा भारतीय पक्षले सीमा क्षेत्रको व्यवस्थापनका सन्दर्भमा यसअघि दुबै देशबीच भएका समझदारी र सम्झौता पालना गर्न भारत तत्पर रहेको बताएको थियो । स्रोतका अनुसार भारतीय विदेशमन्त्रीले सीमामा उत्पन्न विवाद समाधानका लागि चीन समक्ष पाँच बुँदे प्रस्ताव राख्नु भएको थियो ।

 

भारत र चीनबीच गत अप्रिल–मे महिनादेखि गल्वान उपत्यका, फिन्गर विन्दु, हट स्प्रिङ र कोङरुङ नाला क्षेत्रलाई लिएर विवाद जारी छ । गल्वान क्षेत्रमा गत जुन महिनामा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विवाद उत्कर्षमा छ । गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंह र चिनियाँ रक्षामन्त्री जनरल वाई फेङबीच पनि रुसको राजधानी मस्कोमा भेटवार्ता भएको थियो ।

सम्बन्धित खबरहरु