काठमाडौं । गुल्मीमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्याङ्कले जिल्लामा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको देखाएको हो । आव २०७४÷७५, ०७५÷७६ र ०७६÷७७ मा कूल दुई हजार ४४३ जनाले सुरक्षित गर्भपतन गराएका छन् ।

तीमध्ये १९६ जना २० वर्षभन्दा कम उमेरका छन् भने दुई हजार २४७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार आव ०७४÷७५ मा जिल्लामा कूल ६६७ जनाले सुरक्षित गर्भपतन गराए ।

तीमध्ये १८ जना २० वर्षभन्दा कम उमेरका र ६४९ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् । ०७५÷७६ मा जिल्लामा कूल ८१५ जनाले गर्भपतन गराएका छन् । तीमध्ये ७८ जना २० वर्षभन्दा कम उमेरका र ७३७ जना २० वर्षभन्दा बढी उमेरका रहेका छन् ।

आव ०७६÷७७ मा कूल ९५१ जनाले गर्भपतन गराएका छन् । तीमध्ये २० वर्षभन्दा कम उमेरका १०० जना र २० वर्षभन्दा बढी उमेरका ८५१ जना रहेका छन् । चालू आवको साउन महिनामा मात्रै जिल्लामा ३० जनाले सुरक्षित गर्भपतन गराएको कार्यालय फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो । जिल्लामा दुई नगरपालिका र १० गाउँपालिका गरी १२ स्थानीय तह छन् ।

तीमध्ये सबैभन्दा धेरै रेसुङ्गा नगरपालिकाका महिला रहेका छन् । तीन आर्थिक बर्षमा नरपालिकाका एक हजार २६७ जनाले गर्भपतन गराएका छन् । ती मध्ये १२४ जना २० बर्षभन्दा कम उमेरका र एक हजार १४३ जना २० वर्षभन्दा बढी उमेरका रहेको उहाँले जानकारी दिनुभयो । तीन आवमा पनि इस्मा गाउँपालिकाका महिलाले गर्भपतन गराएका छैनन् ।

तम्घास अस्पतालका डा सुष्मा थपलियाले सुरक्षित गर्भपतन पनि शारीरिक हिसाबले हानिकारक भएको जानकारी दिनुभयो । गर्भपतन गराउँदा रगत धेरै जान सक्ने, सफा गर्दा पाठेघरमा गम्भीर प्रकारको असर हुनसक्ने, आन्द्रामा चोट लाग्नेलगायतको समस्या देखिने उहाँले बताउनुभयो । त्यस्तै एकपटक गर्भपतन गराइसकेपछि लामो समयसम्म बच्चा नरहने सम्भावना पनि भएकाले सकेसम्म गर्भपतन नगराउन उहाँले सुझाव दिनुभयो ।

सम्बन्धित खबरहरु