काठमाडौ । भारत सरकारले प्याजको निर्यात रोकेपछि नेपाली बजारमा प्याजको मूल्य आजैदेखि तेब्बर भएको छ । भारत सरकारले निर्यात रोकेपछि बजारमा अभाव हुने आशंकाले व्यापारीले प्याज लुकाउने तथा उपभोक्ताले अनावश्यक सञ्चित गर्नाले मूल्य दोब्बर भएको हो । एक साताअघि प्रतिकेजी ४० रुपैयाँ रहेको प्याजको मूल्य बढेर अहिले एक सय रुपैयाँसम्म पुगेको छ । बजारमा अहिले प्याजको अभावसमेत देखिएको छ ।

 

आयात रोकिएपछि पुरानो सामानलाई पनि कृत्रिम अभाव गराएर दोव्बर तेव्बर मूल्य लिएको उपभोक्ताको गुनासो छ । वुद्धनगरका व्यापारी शिव अधिकारीले बजारमा प्याज नै अभाव भएकाले मूल्य बढ्न गएको बताए । अहिले होलसेल पसलमा समेत प्याज नपाइएकाले मूल्य बढ्न गएको उनको भनाइ छ ।

 

 

प्रतिकेजी प्याजको मूल्य ८० देखि ९० रुपैयाँ पुगेको उनको भनाइ छ । भारतले प्याज निर्यात रोकेको भन्सार विभागले जानकारी दिएको छ । भारतबाट २९ भदौदेखि प्याज नआएकाले नेपालमा अभाव भएको व्यापारीहरू बताउँछन् । भारतबाट प्याज आउन छोडेपछि मूल्य बढ्न गएको व्यवसायीले जानकारी दिएका छ ।

 

भारतले निर्यात रोकेको बहानामा व्यापारीहरूले स्टकमा रहेको प्याजको कृत्रिम अभाव सिर्जना गर्दै महँगोमा बेचिरहेको उपभोक्ताको गुनासो छ । भारत सरकारले प्याजको मूल्य अत्यधिक बढेको भन्दै निर्यात बन्द गरेको हो । निर्यात बन्द गरेपछि बजारमा प्याज प्रशस्त पाइने र मूल्य पनि कम हुने भारत सरकारको विश्लेषण छ ।

 

यसअघि सन् २०१९ मा पनि भारत सरकारले प्याजको निर्यात बन्द गरेको थियो । उत्पादन कम भएपछि भारतले प्याज निर्यातमा रोक्ने गर्छ । त्यतिबेला बजारमा प्याजको मूल्य प्रतिकेजी तीन सय रुपैयाँसम्म पुगेको थियो । स्थानीय उत्पादनले माग धान्न नसकेपछि भारतबाट ठूलो परिमाणमा प्याज आयात हुने गर्छ ।

 

 

सम्बन्धित खबरहरु