काठमाडौं । नेपाल विद्युत् प्राधिकरणबाट विदा लिनु भएका नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो चार वर्षे कार्यकालमा भएको सामूहिक प्रयासले प्राधिकरणको गरिमा उच्च बनेको बताउनु भएको छ । प्राधिकरण परिसरमा आयोजित उहाँको विदाई समारोहलाई सम्बोधन गर्दै घिसिङले जनताको प्रेरणा नै आफ्नो सक्रियताको स्रोत भएको बताउनु भयो ।

 

प्राधिकरण नेतृत्वमा पुनः आउने वा नआउने बहस जनचासो बढिरहेका बेला उहाँले नेतृत्वको निरन्तरता वा परिवर्तन स्वाभाविक प्रक्रिया रहेको टिप्पणी गर्दै यसलाई सबैले आत्मसात गर्नुपर्ने धारणा राख्नुभयो ।

 

 

घिसिङले आफू प्राधिकरणको कार्यकारी निर्देशक हुनु पहिले र कार्यकाल सम्पन्न हुँदा समयको तुलनात्मक विश्लेषण गर्दै संस्था बलियो र गर्व गर्न लायक बनेको वताउनु भएको थियो । घिसिङले प्राधिकरणको सफलता र प्रगतिको कारक आफूमात्र नभएर आम जनताको विश्वासदेखि आफ्ना कार्यकालका तीन प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी शर्मा ओलीसम्मको योगदान रहेको उल्लेख गर्नुभयो ।

 

आफ्ना कर्मचारीको इच्छाशक्ति, उच्च मनोबल र सक्रियताको सस्मरण गर्दै घिसिङले यस्तै जोस जाँगर र सक्रियतासाथ काम गरे प्राधिकरणको भविष्य अझै उज्वल हुँदै जाने उल्लेख गर्नुभयो । घिसिङले ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा आर्थिक वर्ष (आव) २०७३÷७४मा ८८.१९, आव ०७४÷७५मा ८७.९८, आव ०७५÷७६ मा ८६.८२ र आव २०७६÷७७ मा ८७.५५ प्रतिशत प्राप्त भएको उल्लेख गर्नु भयो ।

 

घिसिङलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको मन्त्री परिष्दले २०७३ साल भदौ २९ गते ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । गोरखापत्र अनलाइन

 

 

सम्बन्धित खबरहरु