‘भात खान नपाएपछि’ गर्भवतीले जीवनत्याग गरिन्

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १ असोज, २०७७

काठमाडौं । ‘भात खान नपाएपछि’ गर्भवतीले जीवनत्याग गरेकी छिन् । पेटमा ५ महिनाको गर्भ थियो । स्वाद फेरेर भात खान मन लागेको बताउने गरेकी थिइन् । सधैं रोटीले छाक टार्ने गरेकी उनले भदौ १६ को साँझपख भात खाने इच्छा व्यक्त गरिन् ।

 

तर, भात पकाउने विषयमा सासू–बुहारीबीच सहमति बनेन । अन्ततः दुवैबीच मनमुटाव गहिरिँदै गएपछि गुलरिया नगरपालिका–३ खैरीकी २३ वर्षीया नीलम गोडियाले घरभित्रै जीवनत्याग गरेको माइतीपक्षले आरोप लगाएका छन् ।

 

 

गोडिया परिवार खेतीपाती र मजदुरीमा निर्भर छ । दैनिक काम गरेर छाक जुटाउने गरेका थिए । लकडाउनले लामो समय काम नपाएपछि घरमा पर्याप्त चामल थिएन । भदौ १६ को साँझपख नीलमले सासू लक्ष्मीसित भात पकाउने अनुमति मागिन् । तर चामल कम रहेको र परिवारका अन्य सदस्यले पनि रोटी खाने भनेपछि भात पकाइएन ।

 

निलमका श्रीमान् ओमकारका अनुसार घरमा करिब १५ किलो चामल थियो । कहिलेकाहीं मात्रै भात खाने भन्दै उनीहरू दिनहुँ रोटीले गुजारा गरिरहेका थिए । आमाले बुहारीका लागि मात्र भात किन पकाउने भनेपछि त्यस दिन घरमा भात नपाकेको उनले बताए ।

 

त्यसपछि भात खानकै लागि नीलमले घरबाट ५० मिटरको दूरीमा सापटीका रूपमा एक किलोजति चामल माइतीमा लगिन् । एक किलोभन्दा धेरै चामल लगेको भन्दै सासू र बुहारीबीच फेरि भनाभन भयो ।

 

त्यसपछि नीलमले लगत्तै आफ्ना बाबु रमेशसँग चामल मागेर सासूलाई फिर्ता गरिदिइन् । लक्ष्मीले भने बुहारीले चामल माइत लैजाने बेला आफू घरमा नरहेको र बुहारीसँग विवाद नभएको दाबी गरिन् । उनले आफ्नी बुहारीले के कारणले जीवनत्याग गरिन् भन्ने कुरा आफुलाई जानकारी नभएको बताइन् ।

 

उनले रोटी खाने भनिए पनि त्यस दिन नीलमले आँगनमा मकै भुटेर सबैलाई बाँडिन् र घरभित्र पसिन् । धेरै बेरसम्म उनी बाहिर नआएपछि कोठाभित्र गएर हेर्दा उनको लाश फेला परेको ओमकारले बताए ।

 

नीलमले जीवनत्याग गर्दा कोठाका झ्यालढोका खुलै थिए । प्रहरीका अनुसार परिवार वा माइती पक्षबाट हालसम्म कुनै जाहेरी आएको छैन । प्रहरीले कसैको बयान लिन सकेको छैन ।

 

सम्बन्धित खबरहरु