काठमाडौ । अष्ट्रेलियाले तीन खेलको रोयल लण्डन एकदिवसीय श्रृंखला जितेको छ । गएराती भएको तेश्रो एकदिवसीय खेलमा पाहुना टोली अष्ट्रेलीयाले ईङ्गल्याण्डमाथि ३ विकेटको जित निकाल्दै श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

 

 

जितसँगै अष्ट्रेलीयाले ५ वर्षपछि ईङ्गल्याण्डलाई उसैको घरमा हराउन सफल बनेको हो । अन्तिम पटक अष्ट्रेलियाले २०१५ मा ५ एकदिवसीय खेलको श्रृंखला ३–२ जितेको थियो । यस्तै ईङ्गल्याण्ड ५ बर्ष पछि आफ्नै देशमा एकदिवसीय श्रृंखला हारेको हो ।

 

 

ईङ्गल्याण्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले ४९ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । अष्ट्रेलियाका लागि एलेक्स क्यारी र ग्लेन म्याक्सवेलले शतक बनाए । यो क्यारीको पहिलो अन्तराष्ट्रिय एकदिवसीय शतक हो । अष्ट्रेलियालाई जित दिलाउने क्रममा म्याक्सवेलले आफ्नो करीयरको दोस्रो एकदिवसीय शतक पूरा गरे । ९० बलमा १०८ रन बनाएका म्याक्सवेल म्यान अफ द म्याच र म्यान अफ द सीरिज चुनिए ।

 

 

ईङ्गल्याण्डका लागि क्रिस वोक्स र जो रुटले समान दुई दुई विकेट लिए भने जोफ्रा आर्चर र आदिल रशीदले एक एक विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेका ईङ्गल्याण्डले पुरै ५० ओभर ब्याटिङ्ग गर्दै ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

 

पहिलो २ बलमा दुई विकेट गुमाएर खराव सुरुवात गरेको ईङ्गल्याण्डका ओपनर जोनी बारीस्टोले १ सय १२ रन बनाउदै टिमका लागी सम्मान जनक स्कोर बनाएका थिए । योसंगै उनी ईङ्गल्याण्डका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन् ।

 

बारिस्टो बाहेक साम विलिङसले ५७ र क्रिस वोक्सले ५३ रनको अर्धशतकिय पारी खेले । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जम्पाले समान तिन तीन विकेट लिए । श्रृंखला जित्ने क्रममा अष्ट्रेलियाले पहिलो खेल १९ रनले जितेको थियो भने दोस्रो दोस्रो खेलमा ईङ्गल्याण्डले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो ।

 

सम्बन्धित खबरहरु