काठमाडौं । भारतमा तेन्जिङ नोर्गेलाई ‘भारत रत्न’ बाट सम्मान गर्नुपर्ने आवाज बुलन्द हुन थालेको छ । भारतीय लोकसभामा भारतीय जनता पार्टी (भाजपा) सांसदले नेपाली बोल्दै तेन्जिङ नोर्गेलाई ‘भारत रत्न’बाट सम्मान गर्नुपर्ने माग गरेका हुन् ।

भाजपाका लोकसभा सांसद राजु बिष्टले नेपाली भाषामा बोल्दै सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पालाई ‘भारत रत्न’बाट सम्मान गर्न माग गरेका हुन् । पश्चिम बंगालबाट निर्वाचित सांसद बिष्टले मंगलबारको लोकसभा बैठकमा यस्तो माग गरेका हुन् ।

हिन्दीमा ‘म पनि मेरो कुरा मेरो मातृभाषामा राख्दैछु’ भन्दै नेपालीमा बोलेका बिष्टले तेन्जिङ नै ‘भारत रत्न’ सम्मानको सर्वाधिक योग्य भएको बताएका छन् । उनले भने, ‘भारत वर्षले कुनै व्यक्तिलाई गर्ने सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ का सर्वाधिक योग्य उहाँलाई अझैसम्म सम्मान गर्न सकेका छनौँ ।

म सरकारलाई स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाज्यूलाई भारत रत्न सम्मान प्रदान गर्न अनुरोध गर्दछु ।’ उनले नेपाललगायत नेपालसहित विश्वका थुप्रै मुलुकले शेर्पालाई सर्वोच्च सम्मान प्रदान गरेको स्मरण समेत गरेका छन् । भारतमा अहिले गोर्खाल्यान्डको माग पति तिव्र रुपमा अगाडि बढेको छ ।

सम्बन्धित खबरहरु