काठमाडौं । पछिल्लो २४ घण्टामा थप दुई हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एकै दिन कोरोना सङ्क्रमित देखिएको यो अहिलेसम्मकै उच्च रहेको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६१ हजार ५९३ जना पुगेको छ । एघार दिन अघि सङ्क्रमितको सङ्ख्या ४६ हजार २५७ रहेको थियो ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ११ हजार ४५८ जनाको पिसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमित पुरुष एक हजार ३८१ तथा महिला ६३९ रहेका छन् ।

हालसम्म ४३ हजार ८२० जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएको उहाँले बताउनुभयो । पछिल्लो २४ घण्टामा ८७१ जना कोरोना निको भएर घर फर्किएका छन् । हालसम्म ८ लाख ९४ हजार जनाको पिसीआर गरिएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, भक्तपुर, मोरङ, सिरहा, सुनसरी, मकवानपुर, रुपन्देही र चितवन रहेका छन् । यस्तै हाल सङ्क्रमित नै नरहेका जिल्लामा रसुवा, डोल्पा, हुम्ला, मुगु, सोलुखुम्बु र मुस्ताङ रहेका छन् ।

हाल १७३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने ३६सङ्क्रमितलाई भेन्टिलेटरमा राखि उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १७ हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । हाल ९ हजार २९५ जना संस्थागत आइसोलेशनमा तथा ८ हजार ८८ सङ्क्रमित होम आइसोलेशनमा बस्दै आएका छन् ।

कहाँ कहाँ कति भेटिए सङ्क्रमित

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा बागमती प्रदेशका एक हजार ११६, प्रदेश नं ५ मा २०५, प्रदेश नं १ मा १८७, प्रदेश नं २ मा १७६, गण्डकी प्रदेशमा १४८, कर्णालीमा १४१ तथा सुदूरपश्चिममा ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश नं १ को उदयपुरमा २, भोजपुरमा दुई, ओखलढुंगामा एक, झापामा ६, मोरङमा ११८ तथा सुनसरीमा ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यस्तै प्रदेश नं २ को धनुषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ तथा सिरहामा १९ जनामा कोरोना देखिएको छ ।

यसैगरी बागमती प्रदेशको काठमाडौँमा ६९८, काभ्रेपलाञ्चोकमा ६, चितवनमा १९१, दोलखामा एक, धादिङमा १४, नुवाकोटमा ६, भक्तपुरमा ८२, मकवानपुरमा ३०, रामेछापमा ६, ललितपुरमा ७९ तथा सिन्धुपाल्चोकमा तीन जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ तथा लमजुङमा ६ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।

प्रदेश नं ५ को अर्घाखाँचीमा ९, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा २४, नवलपरासीमा ४१, पाल्पामा ३, प्युठानमा एक, बर्दियामा १८, बाँकेमा २, रुपन्देहीमा ८६ तथा रोल्पामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशको सुर्खेतमा ११७, रुकुम पश्चिममा २३ तथा दैलेखमा एक ,सुदूरपश्चिम प्रदेशको कञ्चनपुर ७, कैलालीमा १७, अछाममा १६, बाजुरामा ३, डोटीमा एक, बैतडीमा २ तथा बझाङमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकामा ८५९ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८५९ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता डा गौतमले जानकारी दिनुभयो । ती मध्ये काठमाडौँका ६९८, ललितपुरका ८२ तथा भक्तपुरका ७९ जना रहेका छन् ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार २३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच पुरुष तथा दुई महिला रहेका छन् ।

योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ३९० पुगेको छ । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा मोरङका ६६ वर्षीय दुई पुरुष, काठमाडौँकी ८५ वर्षीया महिला, काठमाडौँकै ८८ वर्षीय पुरुष, भक्तपुरका ८२ वर्षीय पुरुष, ललितपुरकी ६६ वर्षीया महिला र नवलपरासीका ३१ वर्षीय पुरुष रहेका छन् । रासस

सम्बन्धित खबरहरु