काठमाडौं । गम्भीर प्रकरणमा संलग्न भएको आरोप लगाउँदै भारतले एक नेपालीलाई समातेको छ । दिल्ली प्रहरीले जासुसीको अभियोगमा एक नेपाली पुरुष, चिनियाँ महिला र भारतका एक पत्रकारलाई पक्राउ गरेको हो । दुई जनाविरुद्ध भारतीय पत्रकार राजीव शर्मालाई आर्थिक प्रलोभनमा पारेर शर्मा मार्फत महत्वपूर्ण दस्ताबेज लिन खोजेको आरोप लागेको छ ।

यसअघि १४ सेप्टेम्बरमा सुरक्षा तथा विदेश मामिला हेर्ने भारतीय पत्रकार शर्मालाई दिल्लीस्थित स्पेशल सेलले नियन्त्रणमा लिएको थियो । यसै प्रकरणमा आज एक नेपाली र चिनियाँ नागरिक समातिएका हुन् ।

उनीविरुद्ध सुरक्षा दृष्टीले महत्वपूर्ण दस्तावेजहरु चीन सरकारका लागि जासुसी गरेको अभियोग लागेको छ । प्रहरीका अनुसार नेपाली युवाले ती दस्तावेजहरु चिनियाँ महिलालाई उपलब्ध गराउने गरेका थिए । त्यसबापत उनीहरुमार्फत ती पत्रकारले राम्रो रकम पनि पाउने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

पक्राउ पर्ने नेपाली युवको पहिचान शेर सिंहका रुपमा भएको छ । अर्कोतिर चिनियाँ महिलाको पहिचान किङ्ग शी को रुपमा गरिएको छ । उनीहरुको साथबाट ठूलो परिमाणमा मोबाइल सेट, ल्यापटपसहितका महत्वपूर्ण सामाग्रीहरु बरामद गरिएको प्रहरीको भनाई छ । बरामद गरिएका मोबाइल तथा ल्यापटपलाई रिकभर गरेर थप अध्ययन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

पीटीआईका अनुसार राजीव शर्माले डेढ बर्षमा झण्डै ६४ लाख नेपाली रुपैयाँ अर्थात भारु ४० लाख लिएका छन् । चिनियाँ गुप्तचर संस्थालाई गोप्य जानकारी दिएवापत्त उनले यत्रो रकम प्राप्त गरेका हुन् । प्रत्येक जानकारी साझा गर्न उसले एक हजार अमेरिकी डलर अर्थात नेपाली ११ हजार भन्दा धेरै नेपाली रुपैयाँ पाउँने गरेको बताइएको छ ।

प्रहरीका अनुसार राजीव शर्माले नियन्त्रण सीमा रेखामा सेना खटाउने र भारतीय सीमाको रणनीतिबारे चिनियाँ गुप्तचर संस्थालाई जानकारी दिने गरेका थिए । दिल्ली प्रहरीको सोधपुछको क्रममा राजीव शर्माले आफ्नो डिजिटल च्यानलहरुबाट चिनियाँ ह्यान्डलर माइकल र जर्जलाई चीनको कुनमिङ्गमा संवेदनशील जानकारी पठाउँने गरेको स्विकार गरेका छन् ।

दिल्लीको पिताम्पुरा निवासी राजिव शर्माले यसअघि युनाइटेड न्युज अफ इन्डिया, द ट्रिब्युन, फ्रि प्रेस जर्नल र अन्य धेरै पत्रिकामा लेखिसकेका छन् । उनी दुई देशकदेखि सुरक्षा र वैदेशिक मामिला बिटमा कलम चलाउँछन् । भारतीय सञ्चारमाध्यमका अनुसार शर्माले चीनको सरकारी अखबार ग्लोबल टाइम्सका लागि पनि लेख लेखेका थिए ।

केही समयअघि मात्रै उनले बेइजिङ र दिल्लीले वार्ताका लागि नयाँ रोडम्याप अघि सार्नुपर्ने तर्क गर्दै ग्लोबल टाइम्समा लेख लेखेका थिए । ग्लोबल टाइम्ससँगै उनले बामपन्थी निकट पत्रिका द क्विन्ट, डेली जिरोलगायतमा पनि लेख्ने गरेका थिए । २२ सेप्टेम्बरमा उसको जमानत याचिकामा पटियाला हाउस अदालतमा सुनुवाइ हुने जनाइएको छ ।

सम्बन्धित खबरहरु