याे सरकारले अन्तत: डा. गाेविन्द केसीकाे ज्यान लिने नै भयाे ! जुम्लाकाे रानीचाैरकाे माेष्टाे (मन्दिर) मा मृत्युसँग जुधिरहेका छन् - केसी ! साेच्दा पनि हृदय कम्पन भएकाे छ ....! लेखिरहदा पनि अस्थिर हुनपुगेकाे छु .. !! सरकारमा रहेकाहरु केसीकाे मृत्युकाे प्रतिक्षामा रहेजस्ताे भान भएकाे छ मलाई ... ! लाै न सबैले एकै आवाजमा बाेलाैं -- सरकार, डा. केसीलाई बचाऊ....? आजको जनबोलीमा एकजना फेसबुक प्रयोग कर्ताको स्टाटस लिएको छौ ।

समाचारपनि पढ्नुहोस् ।

 

डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

चिकित्सा शिक्षा सुधारका लागि आन्दोलनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ। चन्दननाथ नगरपालिका रानीचौरस्थित बाविरामष्ट मन्दिरमा १९ औं अनशन थालेको पाँच दिन बितिसक्दा स्वास्थ्य अवस्था बिग्रिए पनि डा. केसी अस्पताल जान भने मानेका छैनन्। चिकित्सकका अनुसार डा. केसीको शरीरमा अक्सिजन र पिसाबको मात्रा घट्दै गएको छ।

 

डा.केसीको नियमित स्वास्थ्य जाँच गरिरहेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा.प्रविण गिरीका अनुसार केसीको रक्तचापसमेत घटिरहेको छ। ‘संक्रमणको जोखिम भएकाले सत्याग्रह बसेको ठाउँमा भ्यान ओपन गरेर स्लाइन लगाउन सकिएको छैन। ‘तर उहाँ अस्पताल जान मान्नुहुन्न। उहाँले पाँचौ दिन शुक्रबारको जाँचमा सुगरको परीक्षण गर्न मान्नुभएन,’ उनले थपे।

 

चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. केसी सोमबारदेखि मन्दिरमा अनशन बसेका छन्। सत्याग्रहको समर्थनमा शुक्रबारदेखि नागरिक समाजले पनि हस्ताक्षर अभियान थालेको छ। ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएसलगायतका कार्यक्रम तत्काल सुरु गर्नुपर्ने डा. केसीको माग जायज छ,’ नागरिक समाजका अध्यक्ष राजबहादुर महतले भने, ‘माग पूरा नहुञ्जेल हस्ताक्षरसहित दबाबका कामहरु रोक्दैनौँ।

 

 

डा. केसीको माग संवोधन गरेर सत्याग्रह रोक्ने वातावरण बनाउनुपर्छ।’ बाविरामष्ट मन्दिर र चन्दननाथ ५ खलंगा बजारको कृष्ण मन्दिरमा ब्यानर राखेर हस्ताक्षर अभियान थालिएको हो। संकलन गरिएको हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइने तयारी भइरहेको युवा जागरण अभियानका कर्णाली प्रदेश संयोजक लालबहादुर जिसी बताउँछन्। उनले भने, ‘हामी आफैं सत्याग्रह बस्नुपर्ने हो, डा’साप आएर कर्णालीको मागका लागि सत्याग्रह बसेर जीवन समपर्ण गरिरहनुभएको छ।’ डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै कदम लिन तयार भएको प्रतिक्रिया दिए।

 

नयाँ शक्ति पार्टी कर्णाली प्रदेश समितिले पनि डा.केसीको सत्याग्रहका विषयमा सुर्खेतका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ। पार्टीका प्रदेश अध्यक्ष कर्णबहादुर बुढाले प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्। केसीले उठाएका माग कर्णालीको हितमा रहेको भन्दै माग पूरा गरी जीवन रक्षा गर्न सरकारसँग माग गरिएको बुढाले बताए।

 

प्रतिष्ठानमा एमबिबिएसलगायत कार्यक्रम सञ्चालन गर्नुपर्ने, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठनपाठन सुरु गरिनुपर्ने, प्रदेश २, गण्डकी प्रदेश तथा डोटी, डढेल्धुरा, उदयपुर, इलाम र पाँचथरमा सरकारी मेडिकल कलेज तथा अस्पताल सञ्चालनको लागि प्रक्रिया अघि बढाइनुपर्ने माग राख्दै केसी अनशनमा बसेका हुन्। २०७५ साउन १० गते भएको सम्झौता कार्यान्वयन हुनुपर्ने माग डा. केसीको छ।

 

सम्बन्धित खबरहरु