काठमाडौं । महाभूकम्प २०७२ बाट क्षति पुगेको ऐतिहासिक तथा पुरातात्विक सम्पदा रानीपोखरी पुननिर्माण सम्पन्न भएको छ । जहाँ आजबाट पानी भरीभराउ भएको छ । पुनर्निर्माणअन्तर्गत पोखरी पिंधमा कालो माटो र इँटा ओछ्याउने तथा पानी रहने भागको पर्खाल निर्माण सकिएसँगै वर्षाको पानी जम्मा गरिँदै आएको थियो । आज भने बाग्मतीको पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ ।

 

 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पुरातत्वविज्ञ राजुमान मानन्धरले अब आज चार बजेसम्म पानी भरिसक्ने अनुमान सुनाए । ‘यसअघि आकासेपानी १ करोड लिटर भरिएको थियो, बाँकी २ करोड २२ लाख पानी सुन्दरीजलबाट ल्याएर भर्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेकै अवस्थामा आइतबार चार बजेसम्म भरिसक्ने अनुमान गर्न सकिन्छ ।’ पुनर्निर्माण प्राधिकरणले बाग्मतीको पानी पोखरीमा जम्मा गरेर ९ इन्चको पाइपबाट भरिरहेको हो । रानीपोखरीमा ३ करोड २२ लाख लिटर पानी भर्नुपर्नेमा शनिबार साँझसम्म ७५ लाख लिटर बाँकी रहेको थियो । यसअघि, आकाशबाट खसेको पानी दरबार हाइस्कुलको छानाबाट पोखरीमा खस्ने व्यवस्था गरिएको थियो ।

 

 

 

प्राधिकरणले यसअघि मेलम्चीको पानी रानीपोखरीमा हालेर झार्ने योजना पनि अघि सारेको थियो । अहिले भने बाग्मतीको पानी हालेर भरिएको छ । प्राधिकरणले उपभोक्ता समितिमार्फत रानीपोखरीको पिंध र पानी रहने भागको पर्खाल निर्माण काम सम्पन्न गराएको थियोे । २०७५ फागुनमा गठन गरिएको उपभोक्ता समितिले पोखरीको सतह र वरिपरिको पर्खालमा १५ देखि १८ इञ्च कालो माटो हालेर त्यसमाथि इ“टा ओछ्याएको छ ।

 

 

प्राधिकरणले रानीपोखरी पुनर्निर्माण १२ वैशाख २०७७ अर्थात पाँच वर्षअघि भूकम्प गएकै दिन सक्नेगरी गरिरहेको थियो । कोरोना भाइरससँगै लकडाउनका कारण पूर्वनिर्धारित समयमा भने काम सम्पन्न हुन नसकेको हो ।

 

 

प्राधिकरणका विज्ञ मानन्धरका अनुसार रानीपोखरी पुनर्निर्माणअन्तर्गत अब सरसफाईलगायत केही काममात्र बाँकी छन् । मानन्धरले दसैंअघि नै रानीपोखरी पुनर्निर्माण सम्पन्न भइसक्ने जानकारी दिए । गजुर आइसके पनि हाल्न बाँकी नै छ । २८–२९ किलो सुनको गजुर हालिनेछ । सुन लेपन काम सकिनेबित्तिकै पुजापाठसहित राखिने छ । रानीपोखरीको पिंध पुनर्निर्माणका लागि सुरुमा भक्तपुरबाट कालिगढ ल्याइएको थियो भने त्यसपछि सीप हस्तान्तरण गरी काठमाडौंका कालिगढ सहभागी भएका थिए ।

 

 

रानीपोखरीबीच रहेको बालगोपालेश्वर मन्दिर, त्यहाँसम्म जाने पुल तथा पोखरी वरिपरिको सौन्दर्यीकरण जारी छ । यसअघि, रानीपोखरी पुननिर्माण काठमाडौं महानगरपालिकाले अघि बढाउने तयारी गरेको थियो । तर, सिमेन्टलगायत प्रयोगपछि विवादका कारण पुनर्निर्माण अघि बढ्न सकेन । सरकारले पछि मन्त्रिपरिषद्स्तरीय निर्णय गर्दै रानीपोखरी पुनर्निर्माण जिम्मा प्राधिरकण र पुरातत्व विभागलाई सुम्पेको थियो ।

 

 

सम्बन्धित खबरहरु