काठमाडौं । पछिल्ला दिनहरुमा नेपालमा चीनसँगको सीमा विवादलाई लिएर पनि चर्चा हुने गरेको छ । आज मात्रै हुम्ला जिल्लामा चीनले नेपाली भूमिमा भवन निर्माण गरेर नेपालीहरुलाई प्रवेश गर्न नदिएको खबर सार्वजनिक भएको थियो ।

 

यो बीचमा चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका छन् । स‌ंविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन् ।

 

 

सन्देशमा सीले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणको पनि स्मरण गरेका छन् । भ्रमणबाट दौत्य सम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको बताएका छन् । दुई देशले कोरोना भाइरस (कोभिड–१९) महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताए ।

 

पत्रमा उनले भनेका छन, ‘चीन–नेपाल सम्बन्धको विकासमाथि उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ ।’ त्यस्तै चीनका प्रधानमन्त्री ली खछ्याङले पनि आइतबार नै समकक्षी केपी शर्मा ओलीलाई संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित खबरहरु