काठमाडौ । रौतहट, मौलापुर नगरपालिका–३ गम्हरिया बस्ने रामप्रबेश यादवको छोरा ५ वर्षीय रबिकिशन कुमार यादवको सोही ठाउँस्थित खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेर शनिबार मृत्यु भएको छ । सोही स्थान बस्ने छोटेलाल यादवका छोराहरू ४ वर्षीय अमित यादव र ६ वर्षीय मेघनाथ यादवसँगै नुहाउने क्रममा तीनै जना डुबी अशक्त भएकाले उपचारको लागि बीरगंजतर्फ लैजाने क्रममा रबिकिशनको बाटोमै मृत्यु भएको हो । डुबेर अशक्त भएका अन्य २ जनाको नेशनल मेडिकल बीरगंजमा उपचार भइरहेको छ ।
कैलाली, जानकी गाउँपालिका–१ स्थित बिजुलिया नदीमा पौडी खेल्ने क्रममा डुबेर सोही गाउँपालिका बेलासपुर बस्ने शेर नाथ योगीको छोरा ९ वर्षीय शिषिर नाथ योगीको शनिबार मृत्यु भएको छ । डुबेर बेपत्ता भएका शिषिरलाई ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको लाश फेला पारेको हो ।
सर्लाही, बलरा नगरपालिका–३ स्थित पानीले जमेको खाल्डोमा डुबेर सोही ठाउँ बस्ने मुकेश कुमार चौधरीको छोरा १३ वर्षीय सुभम चौधरीको शनिबार मृत्यु भएको छ । नुहाउने क्रममा डुबेर अशक्त भएका सुभमलाई उद्धार गरी स्थानीय अस्पताल धुलिखेल बलरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
धनुकुटा, साँगुरीगढी गाउँपालिका–१ घण्टे बस्ने ७९ वर्षीय अमृत बहादुर राईको सोही ठाउँस्थित लेउती खोलाले बगाई शनिबार मृत्यु भएको छ । खोलाले बगाई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा सोही गाउँपालिका–७ स्थित फेदीमा लाश फेला परेको हो ।
सुनसरी, हरिनगरा गाउँपालिका–४ बस्ने २२ वर्षीय सुशिल मेहताको सोही ठाउँस्थित मारिया खोला तर्ने क्रममा डुबेर आइतबार मृत्यु भएको छ ।
रुपन्देही, सिद्धार्थनगर नगरपालिका–१० दोदगहरी बस्ने झिम्की कुर्मीको १० वर्षीय छोरा सुग्रिम कुर्मीको घरबाट करिब ४ सय मिटर टाढा बन्दै गरेको घरको सेप्टी ट्याङ्कीभित्रको पानीमा डुबेर आइतबार मृत्यु भएको छ । शनिबारदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त ट्याङ्कीमा लाश फेला परेको हो ।
धनकुटा, महालक्ष्मी नगरपालिका–२ चोक्टयाङ् झरनाटोल बस्ने खेमलाल चाम्लिङकी ३ वर्षीया छोरी प्रिन्सिका चाम्लिङ्को घरकै छेउमा रहेको पानी बग्ने कुलोले बगाउँदा मृत्यु भएको छ । शनिबार दिउँसो बगाएर बेपत्ता भएकी प्रिन्सिका आइतबार घरबाट करिब ८ सय मिटर टाढा मृत अवस्थामा फेला परेकी हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।