विराटनगर । मोरङमा माछा पाल्ने पोखरीमा डुबेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । ग्रामथान गाउँपालिका–४ बनसखण्डीकी ३५ वर्षीय सीता अधिकारी, उनका १३ र ९ वर्षीया छोरीहरुको मृत्यु भएको हो ।

 

१३ वर्षीया छोरी पबित्रा र ९ वर्षीया कृतिका पोखरीमा डुबेपछि उद्धार गर्न गएकी सीताको पनि मृत्यु भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए ।

 

उनका अनुसार आइतबार दिउँसो माछा पाल्ने पोखरीमा सीताका दुई छोरी पसेका थिए । पोखरीको डिलमा कपडा खोलेर दुई छोरी पसेको देखिएको प्रहरीको दाबी छ । गहिरो पोखरीमा दुई छोरीहरु डुबेपछि उद्धारका लागि आमा गएकी थिइन् ।

 

ग्रामथान गाउँपालिका–२ का वडा अध्यक्ष बैजनाथ विश्वासका अनुसार दाजुको माछा पोखरीमा सीता चारो हाल्न गएकी थिइन् । उनीसँग दुई छोरीहरु पनि पुगेका थिए । गर्मीको समयमा कान्छी छोरी पौडी खेल्न भन्दै पोखरीमा पसिन् ।

 

 

उनका अनुसार कान्छी छोरी कृतिका डुबेपछि निकाल्न भन्दै पबित्रा पोखरीमा पसिन् । बहिनीलाई निकाल्न पसेकी पबित्रा पनि डुबेपछि सीता पोखरीमा पसिन् । तर पोखरी गहिरो भएका कारण तीनैजना निस्कन सकेनन् । घर नफर्किएपछि साँझमा खोजी गर्ने क्रममा पोखरी भित्र लाश भेटिएको थियो ।

 

प्रहरीका अनुसार सीता दुई छोरीसहित माइतमा बस्दै आएकी थिइन् । उनका श्रीमान नौ वर्षयता सम्पर्कविहीन छन् । घटनाबारे प्रहरीलाई बेलुका ६ बजे जानकारी भएको प्रहरी निरीक्षक ढकालले बताए । जानकारी पाएलगत्तै पुगेको प्रहरीले राति करिब ८ बजे लाश परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाएको थियो ।

 

‘घटनाको प्रकृति हेर्दा पोखरीमा डुबेर मृत्यु भएको देखिन्छ,’ प्रहरी निरीक्षक ढकालले भने, ‘प्रारम्भिक अनुसन्धानमा शंकास्पद विषय भेटिएको छैन ।’

 

उनका अनुसार कान्छी छोरीले कपडा लगाएकी छैनन् । १३ वर्षीया छोरीले भित्री बस्त्रमात्र लगाएकी थिइन् । आमाको लाश कपडा लगाएकै अवस्थामा भेटिएको थियो । दुई छोरीको कपडा भने पोखरीको डिलमै रहेको बताइएको छ ।

 

सम्बन्धित खबरहरु