खोज पत्रकारिता केन्द्रका लागि शिव गाउँले, कृष्ण आचार्य र रामु सापकोटा ।  अमेरिकी सरकारको वित्तीय निगरानी संयन्त्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातबाट देखियो — नेपालका ९ वटा ब्यांक र १० वटा व्यापारिक कम्पनीमार्फत ११ वर्षमा रु.३४ अर्ब ८४ करोड शंकास्पद धन विभिन्न मुलुकमा ओसारपसार भएको छ ।

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ। अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले यो खुलासा गरेको हो।

 

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएका कारोबारको खुलासा हो। यो अवधिमा ब्यांकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक गतिविधि बारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका थिए। ती जानकारीहरू प्राप्त गरी ‘बजफिडन्यूज’ र आईसीआईजेले विश्वभरिका आफ्नो नेटवर्कमा रहेका पत्रकारहरूसँगको सहकार्यमा गरेको  खोजलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको हो।

 

‘फिनसेन फाइल्स’ का अनुसार, सन् २००६ को डिसेम्बरदेखि २०१७ को मार्च महीनासम्म ११ वर्षभित्र नेपालका ९ वटा ब्यांक, १० वटा कम्पनी र विभिन्न व्यक्तिहरूले सीमापार व्यापारका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो। सुन, अलकत्रा, पुरातात्विक सामग्री, दूरसञ्चार उपकरण सामग्रीको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली संयन्त्रहरू जोडिएको देखिन्छ।

 

शंकास्पद धनको कारोबार र ओसारपसार गरेको भन्ने ‘फिनसेन फाइल्स’ को सूचीमा स्ट्याण्डर्ड चार्टर्ड ब्यांक, प्राइम कमर्सियल, ब्यांक अफ काठमाण्डू, नेपाल इन्भेष्टमेन्ट ब्यांक, एभरेष्ट ब्यांक, मेगा ब्यांक, हिमालयन ब्यांक, कास्कीको एपेक्स डेभलपमेन्ट ब्यांक र नेपाल बाङ्लादेश ब्यांकको नाम उल्लेख छ।

 

यसैगरी ‘फिनसेन फाइल्स’ अनुसार, यस्तो कारोबार र ओसारपसारमा प्रत्यक्ष संलग्न १० कम्पनीहरूमा रौनियार ब्रदर्स एण्ड कम्पनी, शुभ समृद्धि टे«डर्स प्राइभेट लिमिटेड, सास्ता ट्रेडिङ कम्पनी, सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालि, एलडी इन्टरनेशनल प्रालि, फेल्ट एण्ड यार्न प्रालि, ओमन्स पेपर क्राफ्ट कम्पनी, नेपाल इन्भेष्टमेन्ट, एक्मी मनी ट्रान्सफर कम्पनी र सन्नी इन्टरप्राइजेज छन्।

 

यसमध्ये केही कम्पनीहरूले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता नै नगरी रकम ल्याउने र लैजाने काम गरेको समेत देखिन्छ। यस बाहेक पनि झन्डै एक दर्जन जति नेपाली कम्पनीहरू अप्रत्यक्ष रूपमा धनको कारोबार र ओसारपसारमा संलग्न छन्। तर, हामीले सोधेको प्रश्नमा यी ब्यांक तथा कम्पनीहरूले ‘उल्लिखित काममा आफूहरूको कुनै संलग्नता नरहेको’ दाबी गरे।

खुलासा अनुसार ११ वर्षको अवधिमा नेपालका यी ब्यांक र कम्पनीहरूबाट कुल २९ करोड २७ लाख ९६ हजार ३८७ अमेरिकी डलर (रु.३४ अर्ब ८४ करोड २७ लाख ७० हजार १०२) शंकास्पद धन कारोबार र ओसारपसार भएको छ। यो रकम आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट बराबर हो। आईसीआईजेबाट खोज पत्रकारिता केन्द्र (खोपके)लाई प्राप्त कागजातहरू विश्लेषण गर्दा नेपाल जोडिएर तीन प्रकृतिमा कारोबारहरू भएको देखिन्छ। पहिलो, यो अवधिमा नेपालबाट कति शंकास्पद रकम बाहिरियो र कति रकम भित्रियो भन्ने खुलासा हुन्छ।  दोस्रो, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको एकमुष्ट शंकास्पद कारोबारको रकम फेला पर्छ, तर त्यसमध्ये नेपाल जोडिएको यकिन अंक कति हो भन्ने खुल्दैन।

 

तेस्रो, नेपाली नाम, थर, ठेगाना उल्लेख गरेका व्यक्ति तथा कम्पनीले विदेशमै शंकास्पद धन कारोबार र ओसारपसार गरेको देखिन्छ। यसमा नेपालका ब्यांक तथा वित्तीय संस्था र कम्पनीहरू प्रयोग भएको देखिंदैन। पहिलो प्रकृति अनुसार नेपाल भित्रिएको र नेपालबाट बाहिरिएको कुल रकम १७ करोड ७६ लाख ६० हजार ७६५ अमेरिकी डलर (रु.२१ अर्ब १४ करोड १६ लाख ३१ हजार ५८) हुन आउँछ। यो रु.२१ अर्बमध्ये १० करोड ३० लाख ३९ हजार ८६७ अमेरिकी डलर (रु.१२ अर्ब २६ करोड १७ लाख २४ हजार २६२) नेपालबाट बाहिरिएको छ। यसैगरी ७ करोड ४६ लाख २० हजार ८९७ अमेरिकी डलर (रु.८ अर्ब ८७ करोड ९८ लाख ८६ हजार ७९६) नेपाल भित्रिएको देखिन्छ।

 

त्यसैगरी दोस्रो प्रकृतिको, नेपालसहित विश्वका विभिन्न मुलुकमा भएको अवैध कारोबार र ओसारपसारको एकमुुष्ट रकम भने ४ करोड ८२ लाख ५४ हजार ५७६ अमेरिकी डलर (रु.५ अर्ब ७४ करोड २२ लाख ९४ हजार ५८६.८४) देखिन्छ।  ‘फिनसेन फाइल्स’ ले यो रकम नेपालसहित विभिन्न मुलुकमा कारोबार र ओसारपसार भएको उल्लेख गरे पनि नेपालमार्फत ठ्याक्कै कति कारोबार भयो भन्ने खुलाएको छैन।

 

त्यस बाहेक तेस्रो प्रकृतिको कारोबारमा विदेशमा बसेर नेपाली मूलका व्यक्तिहरूले ६ करोड ६८ लाख ८१ हजार ४५.८६ अमेरिकी डलर (रु.७ अर्ब ९५ करोड ८८ लाख ४४ हजार ४७५) कारोबार र ओसारपसार गरेको पनि खुल्न आउँछ। ‘फिनसेन’ ले यी तीनै थरी कारोबारलाई ‘सस्पिसियस एक्टिभिटिज रिपोर्ट’ शंकास्पद गतिविधि सम्बन्धी प्रतिवेदन (सार) को सूचीमा राखेको छ। ती विवरणहरू केलाउँदा नेपालका ब्यांकहरू ‘आफ्ना प्रत्येक ग्राहकले गर्ने कारोबारको निगरानी राख्नुपर्ने’ अनिवार्य दायित्वबाट चुकेको देखिन्छ। यसले सम्पत्ति शुद्धीकरणको अन्तर्राष्ट्रिय मूल्यांकनमा नेपाललाई ‘थप बदनाम’ र ‘उच्च जोखिमयुक्त मुलुकको सूचीमा पार्ने चुनौती’ थपेको छ।

 

विभिन्न व्यापार, व्यवसाय र कारोबारका नाममा शंकास्पद रकम बाहिर लैजाने र भित्र्याउने काम पटक–पटक भएको देखिन्छ। यतिसम्म कि कला, संस्कृति र पुरातात्विक महत्वका वस्तुहरूको समेत तस्करी गरेर आर्जन गरिएको धनलाई बैंक प्रयोग गरेर शुद्धीकरण गर्ने प्रयास भएको खुलासा गर्छ ‘फिनसेन फाइल्स’ ले।

 

‘स्ट्याण्डर्ड चार्टर्ड’ मार्फत अत्यधिक प्रवाह
‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, सबैभन्दा बढी शंकास्पद रकम ल्याउने र लैजानेमा नेपालको स्ट्याण्डर्ड चार्टर्ड ब्यांक देखिएको छ। त्यस्तो कारोबार गर्दा ब्यांकले विदेशस्थित स्ट्याण्डर्ड चार्टर्डकै शाखाहरू प्रयोग गरेको छ। कतिपय कारोबारमा अन्य ब्यांकहरूमार्फत पनि यस्तो काम भएको देखिन्छ।

 

ग्राहक– १, रौनियार
यो ब्यांकमार्फत सबभन्दा धेरै शंकास्पद कारोबार गर्नेमा वीरगञ्ज उपमहानगरपालिका–१२ मिनाबजार पर्सा, मेनरोडका दुई कम्पनी छन्। एक, रौनियार ब्रदर्स एण्ड कम्पनी। दोस्रो, शुभ समृद्धि टे«डर्स प्राइभेट लिमिटेड। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वर स्रोतले उपलब्ध गराएको विवरण अनुसार, पहिलो कम्पनी वीरगञ्जका नारायण जी रौनियार र उनका चार छोराहरू– श्याम बाबु, ज्योति बाबु, प्रकाशकुमार र दीपकुमार बाबुको नाममा दर्ता छ। दोस्रो, कम्पनी भने नारायणजीका छोरा ज्योति बाबुको नाममा मात्र दर्ता छ।

 

शंकास्पद गतिविधि गर्ने प्रमुख व्यक्ति भने प्रकाशकुमार रौनियार हुन्, जो धेरैजसो दुबईमा बस्छन्। उनको प्रमुख योजनामा दुबईकै ‘काइट इन्टरनेशनल’, ‘एफजेई’ र अन्य विभिन्न सिपिङ (पानीजहाजमार्फत सामान ओसारपसार गर्ने)कम्पनीहरू मार्फत शंकास्पद कारोबार भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ। दुबईको ‘काइट इन्टरनेशनल’ कम्पनीले अलकत्रा, सवारी साधनमा प्रयोग हुने मोविल, लुब्रिकेन्ट लगायत तेल, रबर प्रोसेसिङ आयल जस्ता पेट्रोलियम पदार्थको आयात र निर्यात गर्छ।

 

दुबईका यी शंकास्पद कम्पनीहरू मार्फत रौनियार परिवारले नेपालमा अलकत्रा र पेट्रोलियम पदार्थको आयात निर्यातका नाममा शंकास्पद धनको कारोबार र ओसारपसार गरेको खुलेको हो। रौनियारका उल्लिखित दुई कम्पनीले २८ सेप्टेम्बर २०१० देखि ४ सेप्टेम्बर २०१४ भित्र स्ट्यान्डर्ड चार्टर्ड ब्यांक काठमाडौंबाट पटक–पटक प्रतितपत्र खोलेका छन्। यी दुई कम्पनीले यो अवधिमा ७ करोड १४ लाख ५ हजार ५३३ अमेरिकी डलर (रु.८ अर्ब ४९ करोड ७२ लाख ५८ हजार ४२७) रकम दुबई लगायत विभिन्न देशमा भुक्तानी गरेको देखिन्छ।

 

फिनसेनले औंल्याएअनुसार रौनियारको कम्पनीले अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाइएका मुलुकबाट सामान ल्याएको तर कागजात भने प्रतिबन्ध नलगाइएकै मुलुकहरूबाट सामान ल्याएको देखिने गरी तयार गरेको छ। ‘फिनसेन’ ले यसलाई शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) को सूचीमा राखेको छ।

 

त्यसको उदाहरण २८ सेप्टेम्बर २०१० देखि १ फेब्रुअरी २०११ सम्म भएका कारोबार हुन्। २८ सेप्टेम्बर २०१० मा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले दुबईस्थित काइट कम्पनीबाट २ लाख २५ हजार अमेरिकी डलर (रु.२ करोड ६७ लाख ७५ हजार) मूल्य बराबरको अलकत्र खरीद गर्न प्रकाशकुमार रौनियारका नाममा प्रतितपत्र जारी गरेको थियो।

 

उक्त ‘अर्डर’ अनुसारका सामान २८ सेप्टेम्बर २०१० मा ‘एमएससी जमाइमा’ र ‘एमएससी पेगी’ पानीजहाज कम्पनीमार्फत पूर्वी अफ्रिकी मुलुक जिबुटी र खाडी राष्ट्र बहराइन पुर्‍याइएको थियो। जुन सामग्री ‘फर्नेस आयल’ रहेको विवरणमा उल्लेख छ। त्यहाँबाट कोलकाता हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाह ल्याइएको कागजातहरूले देखाउँछन्।

 

ती कागजातका आधारमा १७ जनवरी २०११ देखि १ फेब्रुअरी २०११ सम्ममा स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले २ लाख ४३ हजार ५५४.६३ अमेरिकी डलर (रु.२ करोड ८९ लाख ८३ हजार) काइटलाई भुक्तानी गरेको थियो। यो कम्पनीका प्रतितपत्रहरूमाथि २०१६ अक्टोबरमा बेलायतको गैरनाफामूलक संस्था, इन्टरनेशनल म्यारिटाइम ब्यूरो (आईबीएम) ले अनुसन्धान गरेको थियो।

 

उक्त संस्थाले अन्तर्राष्ट्रिय व्यापारका क्रममा हुने सबै प्रकारका सामुद्रिक अपराध, ठगी र गलत अभ्यासबारे खोज्ने काम गर्छ। उसको अनुसन्धानबाट नेपालका कम्पनीहरूले चार पटक ‘इरानको बन्दरगाह बान्डर अब्बासबाट सामान लोड गरिएको’ फेला पार्‍यो। तर, कागजपत्र चाहिं ‘दुबईको जेबिल अली बन्दरगाहमार्फत सामान लोड भएको’ भन्ने बनाइएको थियो। यस आधारमा ‘फिनसेन’ ले यसलाई शंकास्पद कारोबारको सूचीमा राखेको हो।

 

‘काइट’ को वेबसाइटमा उल्लेख भए अनुसार, यो एक कम्पनीहरूको समूह (ग्रुप अफ कम्पनिज्) हो, जसको केन्या, जाम्बिया, मोजाम्बिक, नेपाल र अमेरिकामा उपस्थिति छ। काइटको वेबसाइटमा भएको विवरण अनुसार, यो कम्पनीले ‘नेपालमा उच्च शिक्षाका लागि नयाँ परियोजना शुरू गरेको’ छ। तर नेपालका सरकारी अधिकारीहरू ‘काइट’ ले शिक्षा क्षेत्रमा कुनै परियोजना सञ्चालन नगरेको बताउँछन्।

 

यी काम कारबाहीबारे प्रतिक्रिया लिन हामीले दुबईस्थित काइटको कार्यालयलाई इमेल मार्फत सम्पर्क गर्‍र्यौं । तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन। उल्लिखित दुई कम्पनीका सञ्चालक मध्येका एक नारायणजी रौनियारले हाल आफ्ना दुवै कम्पनी बन्द भएको बताए। “अहिले कम्पनी छैन, चार पाँच वर्ष जति भयो होला बन्द भइसक्यो” उनले भने, “पहिले अलकत्राको काम गथ्र्यौं, अहिले गर्दैनौं।” फिनसेनले भनेको कारोबारमा संलग्न मुख्य व्यक्ति उनका छोरा प्रकाशकुमार रौनियार हुन्। उनी युएईमा रहेकाले उनको फोन नम्बर र इमेल प्राप्त हुन सकेन।

 

ग्राहक– २, दाना डेरी ग्रुप लिमिटेड
‘फिनसेन’ का अनुसार, स्ट्याण्डर्ड चार्टर्ड ब्यांक नेपाल हुँदै स्वीट्जरल्याण्डमा रकम पठाएर शंकास्पद कारोबार गर्ने अर्को ग्राहक हो– दाना डेरी ग्रुप लिमिटेड। ७ अप्रिल २०१५ मा २७ हजार ६७२ अमेरिकी डलर (रु.३२ लाख ९२ हजार ८६८) स्ट्याण्डर्ड चार्टर्ड ब्यांक काठमाडौंले दाना डेरी ग्रुप लिमिटेड, स्वीट्जरल्याण्डलाई पठाएको देखिन्छ। उक्त रकममध्ये २७ हजार ११२ अमेरिकी डलर (रु.३२ लाख २६ हजार ३२८) मात्रै २८ जुलाई २०१५ मा दानाले स्वीट्जरल्याण्डमा प्राप्त गर्‍यो। दाना डेरीले दुग्धजन्य पदार्थको उत्पादन, खरीद, बिक्री र वितरण लगायतको काम गर्छ। दाना डेरीको वेबसाइटमा उल्लेख भएअनुसार, १६ देशमा यसका उत्पादन कारखाना छन्। यसले नेपालसहित ५६ मुलुकमा आफ्ना उत्पादन निर्यात गर्छ। नेपालबाट कसले र किन यो पैसा स्वीट्जरल्याण्ड पठायो भन्ने विवरण चाहिं खुल्न सकेन।

 

ब्यांकको कारोबार तथा कम्पनीहरूको संलग्नताबारे स्ट्याण्डर्ड चार्टर्ड ब्यांकका ‘ब्रान्ड एण्ड मार्केटिङ हेड’ (कर्पोरेट अफेयर्स) प्रनु सिंहले आफूहरूले ‘फिनसेन’ को शंकास्पद कारोबार रिपोर्ट (सार) सम्बन्धी गोपनीयताको दायित्वलाई गम्भीर रूपमा लिएको बताइन्। उनले कुनै केस विशेषमा टिप्पणी गर्न नचाहेको पनि बताइन्।

 

इमेलमार्फत उनले ‘सार’ प्रतिवेदन आफैंमा ग्राहक, ब्यांक वा अन्य कुनै संस्थाको गलत कामको प्रमाण नभएको दाबी गरिन्। “ब्यांकको जिम्मेवारी भनेको विश्वव्यापी वित्तीय प्रणालीको रक्षा गर्न प्रभावकारी अनुगमनको कार्यक्रम बनाउनु हो” उनले भनिन्, “वित्तीय अपराध विरुद्ध लड्ने कामलाई हामी हाम्रो जिम्मेवारीका रूपमा लिन्छौं र शंकास्पद धन बारेको रिपोर्टिङ गर्ने कार्यक्रमका लागि पर्याप्त लगानी गर्छौं।”

 

उनले स्ट्याण्डर्ड चार्टर्ड ब्यांकले अनुगमन र अनुसन्धानको काममार्फत अपराधीलाई सजाय दिन योगदान पुर्‍याएको दाबी गरे पनि कम्पनी र कारोबारको विषयमा कुनै कुरा खुलाउन चाहिनन्। उल्लिखित कारोबारको विषयमा हामीले स्वीट्जरल्याण्डको दाना डेरी ग्रुपलाई इमेल मार्फत सोधेका थियौं। उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

 

सुन भित्र्याउने कम्पनीलाई प्राइम र ब्यांक अफ काठमाण्डूको सहयोग
‘फिनसेन’ का अनुसार, तत्कालीन ललितपुर उप–महानगरपालिका–८, बालकुमारी ठेगाना उल्लेख गरेको सास्ता ट्रेडिङ कम्पनीले अमेरिकाको स्ट्याण्डर्ड चार्टर्ड ब्यांकबाट नेपाल हुँदै शंकास्पद धन दुबई पुर्‍याएको भेटिएको छ। स्ट्याण्डर्ड चार्टर्ड ब्यांक, न्यूयोर्क शाखाको समीक्षा भन्दै फिनसेनले उल्लेख गरे अनुसार, १ जनवरी २००८ देखि २९ अगष्ट २०१२ सम्म सास्ता टे«डिङ कम्पनी प्रालिसहित चार विदेशी कम्पनीले दुई अर्ब ७७ करोड ८५ लाख ९ हजार ४४५ अमेरिकी डलर (रु.३ खर्ब ३० अर्ब ६४ करोड २६ लाख २३ हजार ९५५) शंकास्पद कारोबार गरेका हुन्।

 

जसमध्ये सास्ता ट्रेडिङले ८ जुलाई २००९ देखि १४ जनवरी २०११ सम्म ५३ वटा कारोबारमार्फत ३ करोड १५ लाख ७२ हजार ८६४ अमेरिकी डलर (रु.३ अर्ब ७५ करोड ७१ लाख ७० हजार ८१६) प्राप्त गरेको देखिन्छ। सो रकम काठमाडाैं, न्यूरोडको प्राइम कमर्सियल ब्यांक र कमलपोखरीको ब्यांक अफ काठमाण्डूमा रहेकाे सास्ताको खातामा जम्मा भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ। तर दुई ब्यांकमा कति कति रकम जम्मा भएको भन्ने विवरणबाट खुल्दैन।

 

सास्ताले कहाँबाट के प्रयोजनका लागि रकम प्राप्त गरेको थियो भन्ने नखुले पनि उक्त रकम दुबईको ‘कालोटी ज्वेलरी इन्टरनेशनल डीएमसीसी’ र हङकङको ‘अडिट ओभरसिज’ लाई भुक्तानी भएको देखिन्छ। बिस्कुट आकारको सुन र चाँदी आयातका लागि २७ जुलाई २००९ देखि १४ जनवरी २०११ भित्र ५१ पटकमा कालोटीलाई नै ३ करोड ७ लाख १८४ अमेरिकी डलर (रु.३ अर्ब ६५ करोड ३३ लाख २१ हजार ८९६) पठाएको देखिन्छ। बाँकी ८ लाख ७२ हजार ६८० अमेरिकी डलर (रु.१० करोड ३८ लाख ४८ हजार ९२०) सास्ताले हङकङको अडिट ओभरसिजलाई ७ अगष्ट २००९ मा र ८ अप्रिल २००९ मा पठाएको थियो।

 

फिनसेनले राखेको विवरण अनुसार सुनको मात्रै शंकास्पद कारोबार ५ खर्ब १४ अर्ब ९९ करोड ६० लाख ५१ हजार १८८.२० अमेरिकी डलर बराबरको छ। नेपालको सास्ताले सुन कारोबार गरेको कालोटी ग्रुपले मात्रै सन् २००७ देखि २०१५ सम्ममा ४ हजार ५५७ पटक कारोबार हुँदा ९ अर्ब ३२ करोड २२ लाख ८१ हजार ८५३.०७ डलर (रु.११ खर्ब ९ अर्ब ३५ करोड १५ लाख ४० हजार ५१५) शंकास्पद कारोबार गरेको फिनसेनले उल्लेख गरेको छ।

 

सन् २०१४ मा भएको एउटा ‘लिक्स’ अनुसार, कालोटी चोरी तस्करी, आपराधिक क्रियाकलाप र द्वन्द्वमा प्रयोग भएको सुन खरीद गर्ने काममा संलग्न भएको देखिएको थियो। सन् २०१२ मा कालोटीले सुन खरीद गर्न ५.२ बिलियन अमेरिकी डलर नगद भुक्तानी गरेको थियो। सो ‘लिक्स’ अनुसार, ब्यांकिङ प्रणालीबाट कारोबार हुँदा शंकास्पद धनको पहिचान हुने संभावना छल्न यसरी नगद कारोबार भएको हो।

 

यही कम्पनीसँग नेपालको सास्ता ट्रेडिङले सुनको कारोबार गरेको ‘फिनसेन फाइल्स’ ले खुलासा गरेको हो। कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका अनुसार, ‘सास्ता’ का लगानीकर्ताहरूमा काठमाडौं महानगरपालिका–२७ की शान्तिप्रभा तुलाधर, त्रिकालधर तुलाधर, त्रिभुवनधर तुलाधर, तुलसाधर तुलाधर र सम्यकधर तुलाधर हुन्।

 

उल्लिखित सेयर सदस्यहरूमध्ये व्यापारको मुख्य काम त्रिभुवनधर तुलाधरले हेर्ने गरेको उनी निकट स्रोत बताउँछ। तुलाधर नेपाल चाइना चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका अध्यक्ष हुन्। उनीसँग सम्पर्क गर्दा ‘आफू बैठकमा रहेको र एक घण्टापछि फोन गर्न’ भने। त्यसपछि पटक पटक प्रयास गर्दा उनले टेलिफोन उठाएनन्।

 

उल्लिखित कारोबार बारे प्राइम ब्यांकका सूचना अधिकारी अमृतचरण श्रेष्ठले आफूहरूले राष्ट्र ब्यांकको नियम अनुसार कारोबार गरेकाले शंकास्पद नभएको बताए। “सास्ता कम्पनी हाम्रो ब्यांकको पुरानो ग्राहक हो। कम्पनीले हाम्रो ब्यांकबाट चाँदी आयातको प्रतितपत्र (एलसी) मात्रै खोल्छ। उसले अरू धेरै ब्यांकबाट पनि कारोबार गर्छ। शंकास्पद भए अन्ततिर होला” श्रेष्ठले भने, “हामीले राष्ट्र ब्यांकको नियम अनुसार काम गरेका छौं, कुनै कैफियत भएको जानकारी छैन।”

 

सास्ता संलग्न अर्को ब्यांक– ब्यांक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यसबारे धेरै कुरा गर्न चाहेनन्। उनले भने, “यसबारे मलाई केही जानकारी छैन। केही भयो भने म तपाईंलाई पछि कल गर्छु।” यो कारोबारमा जोडिएको दुबईको कालोटीले आईसीआईजेलाई प्रतिक्रिया दिंदै उल्लिखित आरोपलाई अस्वीकार गरेको छ।

 

इन्भेष्टमेन्ट बैंक र जेडटीईको साँठगाँठ
‘फिनसेन’का अनुसार, चीनको सबैभन्दा ठूलो दुरसञ्चार सामग्री आपूर्तिकर्ता कम्पनी ‘जिहोङसिङ् टेलिकम्युनिकेसन इक्वीपमेन्ट कर्पोरेशन’ (अहिले जेडटीई मात्र भनिने) ले १७ मार्च २०११ देखि १ मार्च २०१७ सम्म २१ करोड ३३ लाख ८१ हजार ४६१.२४ अमेरिकी डलर (रु.२५ अर्ब ३९ करोड २३ लाख ९३ हजार ८८७) नेपालसहितका अन्य मुलुकमा पठाएको थियो।

 

जेडटीईले बेइजिङस्थित चाइना कन्स्ट्रक्सन ब्यांक मार्फत उक्त कारोबार गरेको थियो। उसले गरेको कारोबार रकम शंकास्पद भएको चाइना कन्स्ट्रक्सन ब्यांकको अमेरिकास्थित न्यूयोर्क शाखाले पत्ता लगाएको थियो। ४ नोभेम्बर २०१३ देखि २७ फेब्रुअरी २०१७ सम्मको तीन वर्ष चार महीनामा नेपाल इन्भेष्टमेन्ट ब्यांकमा जेडटीईले रकम जम्मा गरेको भेटिएको ‘फिनसेन’ले उल्लेख गरेको छ।

 

नेपाल इन्भेष्टमेन्ट ब्यांकको काठमाडौंस्थित कार्यालयमा ५ हजार ७०९.०९ अमेरिकी डलर (रु.६ लाख ७९ हजार ३८१), ५ हजार २४४.७७ अमेरिकी डलर (रु.६ लाख २४ हजार १२६), ४० हजार ३५७.७५ अमेरिकी डलर (रु.४८ लाख २ हजार ५७२) र १० अमेरिकी डलर (रु.१ हजार १९०) जेडटीई कर्पोरेसनले जम्मा गरेको विवरणमा उल्लेख छ।

 

फिनसेनले विभिन्न सञ्चारमाध्यमलाई हवाला दिंदै पाँच वर्षकोे अनुसन्धानमा जेडटीईले अमेरिकाले लगाएको प्रतिबन्धबाट बच्न ‘अनेक षडयन्त्र गरेको भेटियो’ भनेको छ। कम्पनीले ‘अमेरिकाबाट दूरसञ्चारका सामग्री खरीद गर्ने र ती सामग्रीलाई जेडटीईको उपकरण भन्दै अवैधानिक रूपमा इरान पुर्‍याएर बिक्री वितरण गर्ने गरेको’ उल्लेख छ।

 

जेडटीई नेपालमा दूरसञ्चार उपकरण निर्यात गर्ने एक प्रमुख कम्पनीमा पर्छ। २०७२ वैशाखको भूकम्पलगत्तै एनसेलको टावर निर्माणका लागि उपकरण आयात गर्दा उसले रेडक्रसका स्टिकर टाँसेर राहत सामग्री भन्दै व्यावसायिक प्रयोजनका सामग्री भित्र्याउन खोजेको थियो। भन्सार जाँचपास गर्ने क्रममा उक्त कुरा पत्ता लागेपछि रु.१ करोड १० लाख भन्सार महसुल बुझाएर उसले ती सामान छुटाएको थियो।

 

जेडटीईसँगको रकम कारोबारको सम्बन्धमा नेपाल इन्भेष्टमेन्ट ब्यांकका ‘डेपुटी जनरल म्यानेजर’ बिजेन्द्र सुवालले प्रतिक्रियाका लागि शंकास्पद भनिएको कागजात नै पठाउनुपर्ने बताए। उनले ब्यांक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसार आफूहरूले ब्यांक र ग्राहकबीचको सम्बन्ध खुलाउन नसक्ने बताए। इमेलमा हाम्रो प्रश्नको जवाफ दिंदै उनले भने, “उचित प्रमाणको अभावमा गोपनीयता सम्बन्धी कानूनी दायित्वका कारण हामी हाम्रा ग्राहक सम्बन्धी जानकारी खुलाउन सक्दैनौं।” हामीले यस सम्बन्धमा जेडटीईलाई इमेल गरेर प्रश्न सोधेका थियौं। तर उसबाट कुनै प्रतिक्रिया प्राप्त भएन।

 

‘सेतीदेवी’ लाई एभरेष्टको सहयोग
‘ट्याक्स हेवन’ मुलुक ब्रिटिश भर्जिन आइल्याण्डस् टोरटोलाको एंग्लोट्रोन इंक कम्पनीको खाताबाट १० डिसेम्बर २०१३ मा एक लाख अमेरिकी डलर (रु.१ करोड १९ लाख) नेपालमा ‘ट्रान्सफर’ भयो।  ‘फिनसेन’ का अनुसार, फ्यांकफर्ट (जर्मनी)को ‘कमर्ज ब्यांक एजी’ ले न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड ब्यांकमा सो रकम पठाएको थियो। न्यूयोर्कबाट काठमाडौंको ठमेलस्थित सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिको नाममा एभरेष्ट ब्यांक, नयाँबानेश्वरबाट उक्त रकम प्राप्त भएको देखिन्छ।

 

 

५ फेब्रअरी २०१४ मा ६५ हजार अमेरिकी डलर (रु.७७ लाख ३५ हजार) र १४ अगष्ट २०१४ मा १ लाख २० हजार अमेरिकी डलर (रु.१ करोड ४२ लाख ८० हजार) सोही प्रक्रियाबाट सेतीदेवी एक्सपोर्ट इम्पोर्ट प्रालिले प्राप्त गरेको ‘फिनसेन’ ले उल्लेख गरेको छ।  सेतीदेवीले तीन पटक प्राप्त गरेको उक्त रकम ‘टेक्सटायल निर्यात’ वापतको रकम भएको जनाइएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा सेतीदेवी एक्सपोर्ट–इम्पोर्ट प्रालि दर्ता भएको अभिलेख भेटिएन।

 

एभरेष्ट ब्यांकका सूचना अधिकारी केशवराज पौडेलले ग्राहकको गोप्य विवरण भएकाले यस बारेमा राष्ट्र ब्यांकलाई मात्रै जानकारी दिन मिल्ने बताए। “तपाईंले बुझन खोज्नुभएको गोप्य कुरा हो। राष्ट्र ब्यांकमा रिपोर्ट गर्ने हो। मलाई भन्ने अधिकार हुँदैन” पौडेलले भने, “जुन कम्पनीले गरेको हो त्यसैलाई सोध्दा राम्रो हुन्छ। म हाम्रो ब्यांकको सिस्टममा चाहिं भनिदिन्छु।”

 

मेगामार्फत सेसल्स ४० लाख
काठमाडौंको एलडी इन्टरनेशनल प्रालिले २२ मे २०१५ मा ३३ हजार ७९८.७५ अमेरिकी डलर (रु.४० लाख २२ हजार ५१) मेगा ब्यांकमार्फत अमेरिकाको हबिब अमेरिकन ब्यांकमा पठाएको ‘फिनसेन’ ले उल्लेख गरेको छ। यो रकम इन्डोनेसियाको पिटी ब्यांक इन्टरनेशनल हुँदै ट्याक्स हेवन मुलुक सेसल्सस्थित इक्विटी वल्र्ड लिमिटेडले प्राप्त गरेको देखियो।

 

नेपालबाट बाहिरिएको यो रकम सामान आयात बापतको हो। ‘फिनसेन’ ले शंकास्पद गतिविधि सम्बन्धी रिपोर्ट (सार) मा उल्लेख गरेको यस सम्बन्धी विवरणमा सामानको आयात तथा प्रयोजनबारे भने स्पष्ट खुलाएको छैन। कारोबारमा संलग्न नेपाली कम्पनी एलडी इन्टरनेशनल प्रालि सौरभकुमार अग्रवालको नाममा दर्ता छ। सौरभ काठमाडौं महानगरपालिका वडा नं १ का बासिन्दा हुन्।

 

सौरभले आफ्नो कम्पनीको कुनै पनि कारोबार शंकास्पद नभएको बताए। “हामीले नियम अनुसार प्रतितपत्र (एलसी) खोलेर ब्यांकमार्फत कारोबार गरिरहेका छौं” उनले भने, “जे अनुसन्धान गर्दा पनि हुन्छ। व्यापार गरेको २० वर्ष भयो, १०० प्रतिशत ठीक छौं।” सौरभले भारत तथा विभिन्न देशहरूबाट उद्योगका लागि आवश्यक ‘केमिकल’ आयात गरी बिक्री गर्ने गरेको बताए।

 

बिओके र हिमालयन बैंक पनि
२० नोभेम्बर २०१५ मा जर्मनीको कमर्ज ब्यांक एजीमार्फत न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड ब्यांकमा १२७.७९ अमेरिकी डलर (रु.१५ हजार २०७) रकम जम्मा भयो। उक्त रकम नेपालको ब्यांक अफ काठमाण्डूमार्फत सुनिता शेर्पाले पाइन्। १४ डिसेम्बर २०१५ मा पनि तिनै ब्यांकहरूमार्फत सुनिताका नाममा ४२९.१० अमेरिकी डलर (रु.५१ हजार ६३) जम्मा भएको थियो। सोही दिन यही प्रक्रियाबाट ७१०.३१ अमेरिकी डलर (रु.८४ हजार ५२७) सुनिताको नाममा आयो। यसलाई पनि ‘फिनसेन’ ले शंकास्पद कारोबारको सूचीमा राखेको छ।

 

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार, सुनिताको नाममा ‘फेल्ट एण्ड यार्न प्रालि’ कम्पनी दर्ता छ। उनको यो कम्पनीका नाममा विभिन्न मितिमा हिमालयन ब्यांकमार्फत शंकास्पद रकम भित्रिएको देखिन्छ। ‘फिनसेन फाइल्स’ मा उल्लेख भए अनुसार, जर्मनीको कमर्ज ब्यांक एजी हुँदै न्यूूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड ब्यांक र त्यहाँबाट हिमालयन ब्यांक, काठमाडौंमार्फत ‘फेल्ट एण्ड यार्न प्रालि’ ले फरक फरक मितिमा ९ हजार ९८५ अमेरिकी डलर (रु.११ लाख ८८ हजार २१५) आठ पटक प्राप्त गरेको छ।

 

३० अक्टोबर २०१५, ९ नोभेम्बर २०१५, १६ नोभेम्बर २०१५, २० नोभेम्बर २०१५, १५ जनवरी २०१६, २० जनवरी २०१६, २२ जनवरी २०१६ र १ फेबु्रअरी २०१६ मा थप कुल ७९ हजार ८८० अमेरिकी डलर (रु.९५ लाख ५ हजार ७२०) नेपाल भित्रिएको हो। फिनसेनले ‘यो रकम शंकास्पद हुँदाहुँदै पनि ब्यांकले निगरानी र अस्वीकार गर्ने काम नगरेको’ भनेको छ। ब्यांक अफ काठमाण्डूका सूचना अधिकारी महेश मिश्रले यसबारे प्रतिक्रिया दिन चाहेनन्।

 

हिमालयन ब्यांकका सूचना अधिकारी सुशील जोशीले यसबारे भवानी घिमिरेसँग जानकारी भएकोले उनीसँग कुरा गर्न भने। घिमिरेले ‘केही पनि जानकारी नभएको र भए पनि ग्राहकको बारेमा भन्न नमिल्ने’ बताइन्। हामीले सम्पर्क गर्दा सुनिता शेर्पाले भनिन्, “अमेरिकामा पनि हामीले कम्पनी खोलेर कारोबार गरिरहेका छौं। करदेखि सबै कानूनी प्रक्रिया पूरा गरेर काम गरेका हौं।” उनले आफ्नो कम्पनीले न्यूजिल्यान्डको भेडाको ऊन ल्याएर पाँच हजार प्रकारका सामग्रीहरू बनाउने गरेको र त्यो विदेशमा समेत विक्री हुनेगरेको उल्लेख गर्दै भनिन्, “हाम्रो १०० जनाको टिमले यो काम गर्छ। गत वर्ष हामीले रु.१५ करोडको कारोबार गरेका थियौं।” उल्लिखित कारोबारमा संलग्न जर्मनीको कमर्ज ब्यांक एजीका प्रवक्ताले ब्यांकिङ गोपनीयता र सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐनका कारण आफ्ना ग्राहक र कारोबारको बारेमा टिप्पणी गर्न नचाहेको प्रतिक्रिया आईसीआईजेलाई दिएका थिए।

 

ब्यांक अफ काठमाण्डूको अर्को सहयोग
‘फिनसेन’ बाट प्राप्त विवरण केलाउँदा ब्यांक अफ काठमाण्डू (बिओके) ले नेपालको ‘ओमन्स पेपर क्राफ्ट कम्पनी’ को नाममा शंकास्पद रकम भित्र्याउन सहयोग गरेको देखिन्छ। कम्पनी रजिष्ट्रारको कार्यालयमा यो कम्पनी दर्ता भएको देखिंदैन। तर, ६ र २० नोभेम्बर २०१५ मा जर्मनीको कमर्ज ब्यांक एजी हुँदै न्यूयोर्कको स्ट्यान्डर्ड चार्टर्ड ब्यांक र त्यहाँबाट नेपालको ब्यांक अफ काठमाण्डू मार्फत सो कम्पनीले क्रमश ८७१.९९ अमेरिकी डलर (रु.१ लाख ३ हजार ७६७) र ७२४.६० अमेरिकी डलर (रु.८६ हजार २२७) प्राप्त गरेको थियो।

 

३ डिसेम्बर २०१५ मा सोही ब्यांकहरूको ‘रुट’ हुँदै ‘ओमन्स पेपर क्राफ्ट’ ले १ हजार १४६.५९ अमेरिकी डलर (रु.१ लाख ३६ हजार ४४४) प्राप्त गरेको देखिन्छ। उक्त कम्पनीले तिनै ब्यांकहरूमार्फत २२ डिसेम्बर २०१५ मा १ हजार १५२.८८ अमेरिकी डलर (रु.१ लाख ३७ हजार १९३) र ८ जनवरी २०१६ मा पनि ६२१.५२ अमेरिकी डलर (रु.७३ हजार ९६०) पाएको थियो।

 

जिन्दललाई बाङ्लादेश बैंकको सहयोग
न्यूयोर्कको ‘डच ब्यांक ट्रष्ट कम्पनी अमेरिकाज’ (डीबीटीसीए) ले ६ मे २०१६ देखि १ डिसेम्बर  सम्म ११६ पटकमा भारतको जिन्दल स्टिल एण्ड पावर लिमिटेड कम्पनीले ४ करोड २६ लाख २३ हजार ८२७.३२ अमेरिकी डलर (रु.५ अर्ब ७ करोड २२ लाख ३५ हजार ४५१) कारोबार गरेको जानकारी पायो।

 

‘फिनसेन’ ले यो कारोबारमा ‘जिन्दल स्टिल एण्ड पावर लिमिटेड’, नेपाली कम्पनी ‘नेपाल इन्भेष्टमेन्ट’ सहित १२ विदेशी कम्पनी, नेपाल बाङ्लादेश ब्यांक र अन्य १९ विदेशी ब्यांकसमेत संलग्न रहेको खुलासा गरेको छ।

 

भारतको नयाँदिल्लीमा मुख्य कार्यालय भएको ‘जिन्दल स्टील एण्ड पावर लिमिटेड’ को चीनको बेइजिङमा पनि शाखा छ। यसका संस्थापक भारतको हरियाणा कुरुक्षेत्रबाट लोक सभाका पूर्व सांसद नवीन जिन्दल हुन्। ‘फिनसेन’ का अनुसार, ‘उनी क्रिमिनल ब्रिच अफ ट्रष्ट (आपराधिक विश्वासघात) लगायतका आरोप लागेका व्यक्ति हुन्।’

 

२० जनवरी २०१३ को ‘बिजनेस स्ट्याण्डर्ड पत्रिका’का अनुसार नवीन जिन्दलको बझाङको माथिल्लो सेती जलविद्युत् आयोजनामा १५०० करोड भारु (रु.२४ अर्ब) लगानी गर्ने योजना थियो। तर, उनले इजाजत लिएर लामो समय यो आयोजना ‘होल्ड’ गरेपछि सन २०१० मा सरकारले दर्ता खारेज गरिदिएको थियो।

 

यस सम्बन्धमा बाङ्लादेश ब्यांकका सूचना अधिकारी तथा ‘अप्रेशन हेड’ सुरेश देवकोटाले उक्त कम्पनीको नाम पहिलो पटक सुनेको बताए। “हाम्रो ब्यांकमा कारोबार भएको छ/छैन पत्ता लगाएर मात्रै बोल्नुपर्छ”, उनले भने, “पुरानो कारोबार भएकोले तत्काल भेटिंदैन। खोज्न लगाएको छु। केही सूचना आयो भने तपाईंलाई भनौंला।”

 

इराकबाट भित्रियो शंकास्पद धन
१६ फेब्रुअरी २०१६ मा इराकको कुर्दिस्तान ठेगाना भएका हुसामहतिफ नुरले काठमाडौं महानगरपालिका वडा नम्बर–६, बौद्धका कोइसी शेर्पालाई १ हजार २२० अमेरिकी डलर (रु.१ लाख ४५ हजार १८०) पठाए। शेर्पाले नेपालमा रकम भने १ हजार १७५.९९७ अमेरिकी डलर (रु.१ लाख ३९ हजार ९४३) मात्र प्राप्त गरेको देखिन्छ। उक्त रकम बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनीले कामनपा–६, बौद्धकै एक्मी मनी ट्रान्सफर सर्भिसमार्पmत भुक्तानी गरिदिएको थियो। एक्मी राजेश लामाको नाममा दर्ता छ।

 

५ मार्च २०१६ मा कइस नजतजलालले इराकस्थित बगदादको अलनिबलअल अरबिया मनी ट्रान्सफर कम्पनी मार्फत अस्मान घिसिङलाई ८२० अमेरिकी डलर (रु.९७ हजार ५८०) पठाएका थिए। उक्त रकम कामनपाकै महाँकाल, सरस्वतीनगरस्थित कपनको सन्नी इन्टरप्राइजेज मार्फत भुक्तानी भएको थियो, ७८८.८९ अमेरिकी डलर (रु.९३ हजार ८७८)। जबकि कम्पनी रजिष्ट्रारको कार्यालयमा कपन ठेगाना उल्लेख गरेर सन्नी इन्टरप्राइजेज भन्ने कम्पनी दर्ता भएकै छैन।

 

१ फेब्रुअरी २०१६ मा बिक्रम गुरुङले इराकको बगदादस्थित अलनिबलअल अरबिया मनी ट्रान्सफरबाट २७० अमेरिकी डलर (रु.३२ हजार १३०) नेपाल पठाए। यो रकम पोखरा उपमहानगरपालिका वडा नं १ कास्की, हरिचौरको एपेक्स डेभलपमेन्ट ब्यांकको शाखामार्फत शान्ता गुरुङले २५४.८६ अमेरिकी डलर (रु.३० हजार ३२८) प्राप्त गरेको ‘फिनसेन’ले जनाएको छ। एपेक्स अहिले नेपाल क्रेडिट एण्ड कमर्स बैंकसँग मर्ज भइसकेको छ।

 

१० जनवरी २०१६ मा बिक्रमले इराकको सोही मनी ट्रान्सफरमार्फत मुस्तफा हुसामद्दिन एफखुदुरलाई १ हजार ५०० अमेरिकी डलर (रु.१ लाख ७८ हजार ५००) पठाएका थिए। खुदुरले इजिप्टको एलेक्जेन्ड्रियास्थित आईबीएजी मनी ट्रान्सफरको मोन्टाजा शाखाबाट उक्त रकम पाएका थिए। फेरि बिक्रमले सरब जफरलाई पनि ४१० अमेरिकी डलर (रु.४८ हजार ७९०) पठाएका थिए। जफरले स्वीडेनको स्टक होमस्थित होग्दलीन स्वक्स कम्पनीमार्फत उक्त रकम प्राप्त गरेको देखिन्छ। उल्लिखित कारोबारहरूमा कपनको सन्नी इन्टरप्राइजेज नामको कम्पनी समेतको संलग्नताले रेमिटेन्सको रूपमा पठाएको पैसा मात्र नहुन सक्ने देखिन्छ।

 

उल्लिखित कारोबारमा संलग्न नेपाली एक्मी मनी ट्रान्सफर कम्पनीका सञ्चालक राजेश लामाले सबै विवरण सोधेर मात्रै रकम भुक्तानी दिने गरेको तर शंकास्पदबारे जानकारी नभएको बताए। “सबै ग्राहकले आफ्नो परिचयपत्र लिएर आउँछन्। त्यसका आधारमा हामीले भुक्तानी दिने हो” उनले भने, “उसको कहाँ के के हुन्छ ? हामीलाई थाहा हुने कुरा भएन।”

 

नेपाल र एकमुष्ट ट्रान्सफर
‘फिनसेन’मा उल्लेख भए अनुसार, सम्पत्ति शुद्धीकरण र आर्थिक कारोबारका दृष्टिले उच्च जोखिमयुक्त मुलुकहरूमा एकमुष्ट रकम ट्रान्सफर भएको देखिन्छ। एउटा उदाहरण हो ४ नोभेम्बर २०१५ देखि १९ जनवरी २०१६ सम्म लक्जेम्बर्गको डुओडिकड नामक आईटी कम्पनीले गरेको कारोबार– जसले १५ पटकमा २४ हजार ७१२.३५ अमेरिकी डलर (रु.२९ लाख ४० हजार ७६९) ‘ट्रान्सफर’ गरेको थियो। ‘फिनसेन’का अनुसार, उक्त रकम नेपाल, क्यानडा, कतार, जाम्बिया र हङ्गेरीका नाम नखुलेका पाँच व्यक्तिका नाममा जम्मा भएको छ।

 

डुओडिकड आईटी कम्पनी, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र लक्जेम्बर्र्गको सोसाइटी युरोपेनी डी ब्यांक एस.ए कम्पनीले ७ अप्रिल २०१५ देखि २२ जून २०१५ सम्ममा २० पटक २९ हजार ८०५.२३ अमेरिकी डलर (रु.३५ लाख ४६ हजार ८२२) पठाएको देखिन्छ। उक्त रकम १८ पटकमा नेपाल, क्यानडा, हङ्गेरी र लक्जेम्बर्गका विभिन्न व्यक्तिका नाममा पठाइएको थियो।

 

२ डिसेम्बर २०१४ देखि २३ मार्च २०१५ सम्म ड्युडेकड, लक्जेम्बर्गको सोसाइटी युरोपेनी डी ब्यांक एस.ए, वित्तीय कम्पनी पेअनियरका एक ग्राहक र जर्मनीको यूनिक्रेडिट ब्यांक एजीले ४७ पटकमा २ करोड ९९ लाख ३९ हजार ५६.८४ अमेरिकी डलर (रु.३ अर्ब ५६ करोड २७ लाख ४७ हजार ७६४) ट्रान्सफर गरेको थियो। यसमध्ये डुओडिकड आईटीले ३६ पटकमा जोर्डन, बेलिज, नेपाल, क्यानडा, हङ्गेरी र बेलायतस्थित अर्थपोर्टका विभिन्न व्यक्तिलाई रकम पठाएको थियो।

 

डुओडिकड आईटीले पेअनियरका विभिन्न खाता प्रयोग गरेर १५२ पटकमा १ करोड ११ लाख ८२ हजार ९२९.६३ अमेरिकी डलर (रु.१ अर्ब ३३ करोड ७ लाख ६८ हजार ६२६) ट्रान्सफर गरेको थियो। जुन रकम कोस्टारिका, सिङ्गापुर, रोमानिया, चीन, रसिया, क्यानडा, अमेरिका, नेपाल, जर्मनी, युक्रेन, पोल्याण्ड, सेसल्स, कजाकिस्तान, युगाण्डा, हङ्गेरी, बाङ्लादेश, ग्वाटेमाला, नेदरल्याण्ड्स र फिलिपिन्सका विभिन्न व्यक्ति र संस्थालाई पठाइएको थियो।

 

सबै कारोबार गैरकानूनी भएकाले ‘फिनसेन’ ले शंकास्पदको सूचीमा राखेको हो। फिनसेनले उक्त कारोबार ‘नेपाल, भारत, पाकिस्तान, लेबनान, रसिया, इथियोपिया, इजिप्ट, नाइजेरिया, कम्बोडिया, क्यामरुन, युगान्डा, युएई, बहराइन, रुवान्डा र अफगानिस्तान जस्ता सम्पत्ति शुद्धीकरणको काम हुने उच्च जोखिमयुक्त मुलुकमार्फत भएको’ उल्लेख गरेको छ।

 

त्यसैगरी अमेरिकाको केन्टकीस्थित सुरक्षा सेवा प्रदान गर्ने एमएस सेक्युरिटी कम्पनी मार्फत नेपाल र शंकास्पद आर्थिक गतिविधि हुने उच्च जोखिमयुक्त मुलुकमा १७ लाख ३७ हजार ४५८.२९ अमेरिकी डलर (२० करोड ६७ लाख ५७ हजार ५३६) पठाएको देखिन्छ। यो कारोबारमा अमेरिकाको फस्ट फाइनान्सियलमार्फत अन्य ब्यांकहरू प्रयोग भएको ‘फिनसेन’ ले औंल्याएको छ।

 

उक्त कारोबारका बारेमा सम्बन्धित ब्यांकहरूको ‘एन्टी मनी लाउन्डरिङ’ निगरानी प्रणालीले सम्पत्ति शुद्धीकरणको गतिविधि भएको भन्दै सचेत गराएको थियो। उक्त कारोबारबारे ब्यांकहरूले गरेको समीक्षा अनुसार १८ अक्टोबर २०१३ देखि ११ फेब्रुअरी २०१४ बीचमा १२० पटक गरेर न्यूनतम ३०० देखि अधिकतम १ लाखसम्म गरी कुल ११ लाख ७२ हजार ४०५.९१ अमेरिकी डलर (रु.१३ करोड ९५ लाख १६ हजार ३०३) कारोबार भएको थियो।

 

धेरैजसो कारोबार पश्चिम अफ्रिकामा रहेका विभिन्न व्यक्तिका नाममा मासिक रूपमा पठाइएको सानो रकमको छ, जुन उही वा उस्तै आकारको छ। विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) मार्फत पठाइएको सानो आकारको रकम नेपाल, दक्षिण अफ्रिका, युएई, फ्रान्स, चीन, स्पेन, रिपब्लिक अफ आयरल्याण्ड, बेलायत, भारत, नेदरल्याण्ड्स र मोरिटेनियामा रहेका विभिन्न व्यक्तिका नाममा पठाइएको छ। उल्लिखित कारोबारका सम्बन्धमा लक्जेम्बर्गको डुओडिकड कम्पनीलाई हामीले इमेल मार्फत सोधेका थियौं। तर उसबाट कुनै प्रतिक्रिया प्राप्त हुन सकेन।

 

कारोबार नखुली भुक्तानी
८ अक्टोबर २०१५ देखि १६ मे २०१६ सम्म इडनबर्ग, स्कटल्याण्डको इपोक आफ्लुअन्ट भेन्चर कम्पनीले विभिन्न देशका कम्पनी तथा संस्थालाई ५६ पटक रकम पठाएको थियो। कम्पनीले पूर्व साेभियत मुलुक लाट्भियाकाे राजधानी रिगास्थित रिजनल इन्भेष्टमेन्ट ब्यांक र रसियाको मस्कोस्थित नोभिकोम ब्यांकमा रहेको आफ्ना खाताबाट ३६ लाख ६८ हजार २०८.११ अमेरिकी डलर (रु.४३ करोड ६५ लाख १६ हजार ७६५) पठाएको छ।

 

यो खुलासामा आईसीआईजे, बजफिड सहित ८८ देशका ११० सञ्चारमाध्यम आवद्ध ४०० भन्दा बढी पत्रकार सहभागी भएर थप खोज गरेका हुन्। खोजी गर्ने क्रममा पत्रकारहरूको समूहले सूचनाको हक सम्बन्धी निवेदन र अन्य स्रोतबाट वित्तीय संस्था र कारोबारसम्बन्धी थप १७ हजार ६४१ रेकर्डहरू प्राप्त गरेका थिए। कम्पनीले यो रकम नेपाल, चीन, हङकङ, अमेरिका, रसिया, डेनमार्क, कोलम्बिया, थाइल्याण्ड, पानामा, टर्की, इजरायल, बेल्जियम, जर्मनी, भियतनाम र नेदरल्याण्डका विभिन्न संस्था तथा व्यक्तिको ब्यांक खातामा पठाएको थियो। ‘फिनसेन’ का अनुसार, अमेरिकाको न्यूयोर्कस्थित ब्यांक अफ चाइनाले उक्त कारोबारलाई शंकास्पद भनेको छ।

 

शंकास्पद धनको कनेक्सन पुरातात्विक सामग्रीको तस्करीसँग
‘फिनसेन’ का दुई छुट्टाछुट्टै प्रतिवेदनले नेपालका पुरातात्विक सामग्रीहरूको चोरी पैठारीमा अवैध आर्जन जोडिने गरेको पत्ता लगाएको छ। प्रतिवेदनमा अमेरिकाको न्यूयोर्कमा रहेको स्ट्यान्डर्ड चार्टर्ड ब्यांकले ‘अमेरिकामा कलाकृति र पुरातात्विक सामग्रीको कारोबार गर्ने ‘न्यान्सी विनर ग्यालरी’ले शंकास्पद आर्थिक गतिविधि गरेको भनेर उसलाई शंकाको घेरामा राखेको’ उल्लेख छ।

 

‘फिनसेन’ले न्यान्सी विनर नाम गरेकी महिलाको न्यान्सी विनर ग्यालरी र अन्य धेरै कम्पनीले अन्तर्राष्ट्रिय तस्करहरूले लुटेका कलाकृति लाखौं डलरमा लिने र ती सामग्रीलाई अवैध रूपमा बिक्री गर्ने काममा संलग्न भएको देखाएको’ छ। ‘फिनसेन’का अनुसार न्यान्सी विनर ग्यालरीले भारतबाट कलाकृतिहरू तस्करी गरेर अमेरिका पठाउने काममा सहयोगीको भूमिका निर्वाह गर्ने सुवास कपुर हुन्। कपुर अमेरिकामा रहेको ‘आर्ट अफ दि पास्ट’ नामक आर्ट ग्यालरीका सञ्चालक हुन्।

 

फिनसेनका अनुसार, न्यूयोर्कमा रहेका बेला कपुरलाई १०७ मिलियन अमेरिकी डलर मूल्य पर्ने चोरीका हजारौं कलाकृतिका सामग्रीहरू राखेको आरोप लागेको थियो। यही आरोपमा कपुर ३० अक्टोबर २०११ मा जर्मनीको फ्र्याङफर्ट अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोलद्वारा पक्राउ परेका थिए। २३ मार्च २०१० देखि २ मार्च २०१७ सम्मको अवधिमा न्यान्सी विनर ग्यालरी लगायतका केही कम्पनीहरू संलग्न भएर ४१३ पटक गरी कुल २ करोड ७८ लाख ८६ हजार २०३.१० अमेरिकी डलर (रु.३ अर्ब ३१ करोड ८४ लाख ५८ हजार १६९) को कारोबार गरेका थिए। योमध्ये न्यान्सी विनर ग्यालरीले हङकङ र बेलायतमा भएको प्यानथियन लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको थियो।

 

कलाकेन्द्रका रूपमा परिचित अमेरिकाको न्यूयोर्कस्थित न्यान्सी विनर ग्यालरी यस्तो रकम पठाउने र लिने काममा संलग्न भएको देखिन्छ। यो कम्पनीले गरेको कारोबारमध्ये १६ मार्च २०१० को चलानी अनुसार, नेपालको १६औं शताब्दीका कास्य (काँचको धातुबाट बनेको सामग्री) बिक्री गरेको थियो।

 

‘फिनसेन’का अनुसार अमेरिकाको न्यान्सी विनर हमिल नामका व्यक्तिले प्यान्थियन वल्र्ड वाइड लिमिटेडलाई १ लाख ५० हजार अमेरिकी डलर (रु.१ करोड ७८ लाख ५० हजार) पठाएको विवरणबाट देखिन्छ। भुक्तानी कारोबार अनुसार ‘चलानी मिति १६ मार्च २०१० मा १६औं शताब्दीको कास्य नेपाल’, ‘१७औं शताब्दीको अर्हत (बुद्ध) को मूर्तिको आधा सेयर’ ‘जंगलमा राम, सीता र लक्ष्मण भएको देखिने पेन्टिङ्ग बिक्री’ भन्ने उल्लेख छ। त्यसका लागि तिब्बत, नेपाल, भारत, पूर्वी एशियाबाट भुक्तानी भएको देखिन्छ।

 

अर्को कम्पनी ‘प्यानथियन वल्र्ड वाइड’ ‘नेपाली थाङ्का’ र ‘३८ सेन्टीमिटर उँचाइ रहेको दोस्रो शताब्दीको गन्धारा बस्ने बोधिसत्वको मूर्ति खरीद गरे बापत’ रकम लिने काममा संलग्न भएको खुलेको छ। ‘फिनसेन’ले ‘जून २०१२ देखि मार्च २०१३ सम्ममा ब्रुकलिनको आर्ट डिलर नाइफ होम्सीले नेपाल र भारतका मन्दिरबाट चोरिएका पुरातात्विक महत्वका धार्मिक कलाकृतिहरू करीब ५ लाख अमेरिकी डलर (रु.५ करोड ९५ लाख) मूल्यमा बिक्री गरेको’ खुलासा गरेको छ।

 

‘यी लेनदेनहरू सम्भवतः कलाकृतिहरूको अवैधानिक स्थानान्तरणलाई सजिलो बनाउनका लागि प्रयोग गरिएको थियो’– ‘फिनसेन’ प्रतिवेदनमा भनिएको छ। ‘फिनसेन’ले समीक्षा गर्ने क्रममा यस्तै कारोबारमा नेइफहोम्सी (एलसीसी) ले प्यानथियन नामक कम्पनीबाट ३.६ मिलियन अमेरिकी डलर पाएको उल्लेख गरेको छ। ‘फिनसेन’ प्रतिवेदन भन्छ– ‘नेइफहोम्सीले ब्रुकलिन आर्ट डिलरको रूपमा काम गर्ने गरेको छ।’

 

आईसीआईजे आबद्ध भारतका पत्रकार श्यामलाल यादवले मूर्ति चोरीमा संलग्न कपुरका कानूनी सल्लाहकारसँग सम्पर्क गर्दा सुवास कपुर उपचारका क्रममा भएकाले कुनै प्रतिक्रिया दिन नसक्ने बताए। न्यान्सी विनरसँग सम्पर्क गर्ने प्रयास गरेर पनि हामीले कुनै प्रतिक्रिया प्राप्त गर्न सकेनौं।

 

नेपाली नाम, थर र ठेगाना उल्लेख
‘फिनसेन फाइल्स’ मा विदेशमा कारोबार गर्ने धेरै नेपाली अथवा नेपालीसँग मिल्दो नाम भएका व्यक्तिहरू पनि मुछिएका छन्। त्यस्ता कारोबारको संख्या झन्डै दर्जन हाराहारी छ। एउटा उदाहरण, १ जुलाई २०१३ देखि १३ सेप्टेम्बर २०१३ सम्मको कारोबारमाथि न्यूयोर्कको स्ट्याण्डर्ड चार्टर्ड ब्यांकले गरेको समीक्षामा विदेशमा बस्ने नेपालीको नाम भेटियो, जसलाई ‘फिनसेन’ ले शंकास्पद सूचीमा राखेको छ। ‘फिनसेन’ को विवरण अनुसार, अमेरिकाको ग्लोबल मनी ट्रान्सफर्स (जीएमटी) ले गरेको कारोबार सम्पत्ति शुद्धीकरण र शंकास्पद धनसँग सम्बन्धित छ। जीमएटीले यो अवधिमा ९३१ पटकमा ३ करोड ३९ लाख ४२ हजार २७२.८६ अमेरिकी डलर (रु.४ अर्ब ३ करोड ९१ लाख ३० हजार ४७०) रकम पठाएको ब्यांकले पहिचान गरेको थियो।

 

फिनसेनका अनुसार, यो कम्पनीले उक्त रकम पठाउन इजरायलको ‘इजरायल डिस्काउन्ट ब्यांक लिमिटेड’ लाई प्रयोग गरेको थियो। यो कारोबारमा स्ट्याण्डर्ड चार्टर्ड ब्यांक, न्यूयोर्कले मध्यस्थकर्ताको भूमिका खेल्यो। स्ट्याण्डर्ड चार्टर्डले उक्त कारोबार शंकास्पद रहेको २२ नोभेम्बर २०१३ मा मात्रै थाहा पायो। जीएमटी मार्फत भएको शंकास्पद कारोबारहरूमा नेपाली थर भएका व्यक्तिहरू संलग्न देखिन्छन्। उनीहरूको सम्बन्ध हङकङसँग देखिन्छ। हङकङमा ठेगाना रहेको एड्भान्स बिजनेस इन्टरनेशनल लिमिटेडले १ जुलाई २०१३ देखि १२ सेप्टेम्बर २०१३ सम्म ३१ पटकमा ४८ लाख ६७ हजार ५२८ अमेरिकी डलर (रु.५७ करोड ९२ लाख ३५ हजार ८३२) रकम पायो।

 

उक्त रकम हङकङको ह्याङ सेङ ब्यांक लिमिटेडमार्फत एडभान्स बिजनेसले प्राप्त गरेको हो। जुन रकम न्यूयोर्ककोे जेपी मोर्गन चेज ब्यांकमार्फत टीकाबहादुर चौलागाईले पठाएको ‘फिनसेन’ले उल्लेख गरेको छ।

 

चौलागाईले यस्तै अर्को कारोबार गरेको देखिन्छ। हङकङमा कार्यालय रहेको डायनामिक्स हङकङ लिमिटेडले ३ सेप्टेम्बर २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म १९ पटकमा ३७ लाख अमेरिकी डलर (रु.४४ करोड ३ लाख) पायो। उक्त रकम हङकङको विङ लङ ब्यांकमार्फत प्राप्त भएको थियो। अमेरिकाको न्यूयोर्कस्थित मोर्गन चेज ब्यांकमार्फत टीकाबहादुर चौलागाईले नै सो रकम पनि पठाएका थिए।

 

अर्को कारोबारमा पनि नेपाली थर भएका तीन व्यक्ति संलग्न छन्। हङकङमा रहेको गोर्खा मल्टी सेवा इन्टरनेशनल लिमिटेडले १९ अगष्ट २०१३ देखि १२ नोभेम्बर २०१३ सम्म ११ पटकमा ८ लाख ९९ हजार ७९२ अमेरिकी डलर (रु.१० करोड ७० लाख ७५ हजार २४८) रकम पायो। हङकङको इण्डस्ट्रियल कमर्सियल ब्यांक अफ चाइना एशिया लिमिटेडमार्फत उक्त रकम प्राप्त भएको थियो।

 

अमेरिकाको न्यूयोर्कमा रहेको मोर्गन चेज ब्यांकमार्फत कुलचन्द्र रिमाल, रामबहादुर केसी र तेन्जिन शेर्पाले उक्त रकम पठाएको ‘फिनसेन’ प्रतिवेदनमा उल्लेख छ। त्यस्तै स्वीट्जरल्याण्डकोे किकलेक्ट कम्पनीले १४ अगष्ट २०१३ देखि ४ नोभेम्बर २०१३ सम्म ११ पटकमा १ लाख ८६ हजार ९५८ अमेरिकी डलर (रु.२ करोड २२ लाख ४८ हजार २) रकम पाएको थियो। उक्त रकम स्वीट्जरल्याण्डको जुरिकस्थित युबीएस एजी नामक ब्यांकमार्फत प्राप्त भएको थियो।

 

अमेरिकाको वासिंगटन डीसीमा रहेको युबिएस एजी ब्यांकको शाखामार्फत सेन्दाङ जंग खड्गा, विनोद बिक र राजी विश्वकर्माले उक्त रकम पठाएका थिए। त्यस्तै हङकङमा ठेगाना भएका नगेन्द्रकुमार लिम्बूले १९ अगष्ट २०१३ मा एक पटकमा ६० हजार अमेरिकी डलर (रु.७१ लाख ४० हजार) रकम पाएका थिए। उनले उक्त रकम हङकङको ब्यांक अफ चाइना हङकङ लिमिटेडको खातामा प्राप्त गरेका थिए। न्यूयोर्कको ब्यांक अफ चाइनाबाट उक्त रकम कुलचन्द्र शर्माले पठाएका थिए। नेपाली नामसँग मिल्ने गरी स्थापना भएको एक विदेशी कम्पनीबाट पनि शंकास्पद आर्थिक क्रियाकलाप भएको ‘फिनसेन’ ले उल्लेख गरेको छ।

 

नाइजेरियाको इटिल्सन् मर्चेन्ट लिमिटेडले १८ डिसेम्बर २००६ देखि १० मे २०१२ सम्ममा २ करोड ८ लाख २१ हजार १८२ अमेरिकी डलर (रु.२ अर्ब ४७ करोड ७७ लाख २० हजार ६५८) शंकास्पद रकम कारोबार गर्दा नाइजेरियामा स्थापित ‘नेपाल आयल एण्ड ग्याँस सर्भिसेस लिमिटेड’ नामक कम्पनी संलग्न भएको देखिन्छ। यो कम्पनीले पेट्रोलियम पदार्थको व्यापार तथा निर्यातको काम गर्छ। यो नाइजेरियामा सन् २००४ मा दर्ता भएको कम्पनी हो।

नाइजेरियामा नेपाल र नेपाली जोडिने नाम भएको नेपाल आयल एण्ड ग्याँस सर्भिसेसको शाखा कम्पनी हो– नेपाल फ्लाई लिमिटेड। यो सन् २०१७ मा त्यहाँको कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको देखिन्छ। यसको वेबसाइट अनुसार, विदेशीले नै यो कम्पनी स्थापना गरेका हुन्। त्यहाँस्थित स्रोतले ‘नाइजेरियामा बस्ने केही नेपालीको समेत यो कम्पनीमा संलग्नता रहेको हुनसक्ने’ दाबी गरे पनि यसको पुष्टि हुन सकेन।

 

आर्थिक कारोबारको दृष्टिले सुशासनयुक्त मानिने अष्ट्रेलिया समेत शंकास्पद कारोबारमा नेपालसँग जोडिन पुगेको छ। फिनसेन प्रतिवेदन अनुसार, १ डिसेम्बर २०१४ देखि ६ डिसेम्बर २०१५ सम्म २० पटकमा विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) गरेर २४ लाख १ हजार ४०३.०३ अमेरिकी डलर (रु.२८ करोड ५७ लाख ६६ हजार ९५७) को कारोबार भएको छ। न्यूयोर्कको ‘डच ब्यांक ट्रष्ट कम्पनी अमेरिकाज’ मार्फत कारोबार भएको हो।

 

अष्ट्रेलियाको काठमाडौं पीटीवाई लिमिटेडले हङकङको सिनोवे इण्डस्ट्रियल लिमिटेडलाई अष्ट्रेलियाकै कमनवेल्थ ब्यांकमार्फत यो रकम पठाएको थियो। सिनोवेले रकम लिने क्रममा हङकङमा रहेको हङकङ एण्ड साङघाई ब्यांकिङ कर्पोरेसन र हङकङमा रहेको ब्यांक अफ चाइनालाई प्रयोग गरेको थियो। ग्राहकहरूलाई कम्पनीहरूको व्यापार र कानूनी विषयमा सूचना प्रदान गर्ने अमेरिकाको लेक्सिस्नेक्सिस्का अनुसार, काठमाडौं पीटीवाई लिमिटेड साउथ मेलबर्न ठेगाना भएको कम्पनी हो। यो खेलकुदका कपडाहरूको अनलाइन र खुद्रा बिक्रेता कम्पनी हो।

 

नेपाली ब्यांकका कानून उल्लंघन
नेपालमा ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन– २०६४’ अनुसार ब्यांक तथा वित्तीय संस्थाहरूले शंकास्पद कारोबारको जानकारी राष्ट्र ब्यांकको वित्तीय जानकारी इकाई (एफआईयू) लाई दिनुपर्छ। यसको अर्थ ब्यांक तथा वित्तीय संस्था यस्ता मामिलाका सूचक संस्था हुन्। जसले ‘आफ्नो ब्यांक मार्फत गर्ने व्यावसायिक कारोबार, खाता सञ्चालन, तोकिएको रकम भन्दा बढीको आकस्मिक कारोबार, विद्युतीय माध्यमबाट कोष स्थानान्तरण (वायर ट्रान्सफर) लगायतको काम गर्दा ती ग्राहकको निगरानी गर्नुपर्ने’ हुन्छ।

 

कानून अनुसार, ग्राहकले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न पाउँदैनन्। यदि कसैले वेनामी वा काल्पनिक नाममा कारोबार गर्न खोजे वास्तविक धनी समेत पहिचान गर्नुपर्ने कानूनी व्यवस्था छ। यसबाहेक राजनीतिक, प्रशासनिक तथा न्यायिक क्षेत्रका ‘उच्च पदस्थ व्यक्तिहरू र उनीहरूले गर्ने कारोबार’ को छुट्टै जानकारी राख्नुपर्छ। पहिचान गर्नका लागि सम्बन्धित व्यक्तिसँगै विवरण माग्ने, नभए तेस्रो पक्षसँग समेत जाँचबुुझ गर्नुपर्ने व्यवस्था छ। यसरी प्राप्त सूचना पाँच वर्षसम्म सूचक संस्थाले राख्नुपर्छ।

 

तर, ‘फिनसेनले उल्लेख गरेका अधिकांश कारोबार शंकास्पद, वेनामी, अवैध कम्पनी र उच्च जोखिमयुक्त मुलुक मार्फत हुँदा पनि नेपालका ब्यांकहरूले सहजै स्वीकार गरेको देखिन्छ। ‘फिनसेन’मा उल्लिखित विवरणले स्पष्ट गर्छ कि नेपालका ब्यांकहरूले सम्पत्ति शुद्धीकरण सम्बन्धी कानूनको उल्लंघन गरेका छन्।

 

यस्तो कसुर गर्नेलाई ऐनले कारबाहीको व्यवस्था गरेको छ। जस अनुसार पहिलो चरणमा राष्ट्र ब्यांकले लिखित रूपमा सचेत गराउन सक्छ। ‘यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा जारी गरेको निर्देशिका वा दिएको आदेश वा निर्देशनको उल्लङ्घन गरेमा सोको गाम्भीर्यका आधारमा क्यासिनो व्यवसायी तथा वित्तीय संस्थालाई दश लाखदेखि पाँच करोड रुपैयाँसम्म र अन्य सूचक संस्थालाई एक लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना गर्ने’ ऐनको  दफा ७ (फ) मा भनिएको छ– ‘कारोबार, पेशा वा व्यवसाय गर्न आंशिक वा पूर्ण रूपमा रोक लगाउने, अनुमतिपत्र, इजाजतपत्र वा दर्ता निलम्बन गर्ने वा खारेज गर्ने।’

 

‘फिनसेन फाइल्स’ मा उल्लिखित विवरण अनुसार, नेपालका ब्यांक तथा संस्थाहरूले उक्त कानूनको मात्रै हैन सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अन्तर्राष्ट्रिय मान्यता विपरीतको काम गरेका छन्। शंकास्पद कारोबार इरान, उत्तरकोरिया, क्युबालगायत अमेरिकाद्वारा व्यापारमा प्रतिबन्ध लगाएका मुलुकहरूसँग सम्बन्धित छ। त्यसाे त उक्त मुलुकहरूलाई सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले उच्च जोखिमको सूचीमा राखेको छ। नेपाल एफएटीएफको सदस्य राष्ट्र रहेकाले उक्त ‘उच्च जोखिमयुक्त’ मुलुकहरूमा कारोबार गर्न नहुने प्रमुख दायित्व रहन्छ।

 

ब्यांक तथा वित्तीय संस्थामार्फत हुने सम्पत्ति शुद्धीकरणको मामिला निगरानी राख्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकलाई ‘रिपोर्टिङ’ गर्न र ग्राहकको निगरानी गर्न चुकेका ब्यांकहरूलाई कारबाही गरेको बताए। यस मामिलामा तीन बुँदामा उनको टिप्पणी यस्तो थियो।

 

एक– नेपालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सम्पत्ति शुद्धीकरण विरुद्धका कानूनहरू बनाएको छ। राष्ट्र ब्यांकभित्र वित्तीय जानकारी इकाई (एफआईयू) र बाहिर अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग छ। “कानूनी र संरचनात्मक व्यवस्था हुँदाहुँदै पनि सम्पत्ति शुद्धीकरणका घटना हुँदैनन् भन्ने होइन र कार्यान्वयनमा सशक्त छांै भन्ने अवस्थामा हामी छैनौं।”

 

दुई– सुशासन र विकासको हिसाबले कमजोर मुलुकहरूमा यस्ता घटना झन् बढी हुन्छन्। “हामी नगदरहित कारोबारमा निकै पछाडि छौं। एउटा व्यक्तिको सम्पूर्ण अभिलेख राख्ने राष्ट्रिय परिचयपत्र जस्तो प्रणाली हामीसँग छैन। यी दुई कारणले हामीकहाँ अवैध कारोबार हुने जोखिम बढी छ।”

 

तीन– ‘नो योर कस्टमर’ (केवाईसी) र सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी नराख्ने र रिपोर्टिङ नगर्ने ६ ब्यांक तथा वित्तीय संस्थालाई १० लाख रुपैयाँ भन्दा बढीका दरले ‘पेनाल्टी’ तिराइसकिएको छ। उनले भने, “कानूनी र संरचनात्मक व्यवस्था भइसकेको हुँदा राष्ट्र ब्यांक र सरकार सम्पत्ति शुद्धीकरण मामिलामा एकदमै कठोर छन्। यसमा कहीं कतै सम्झौता हुने छैन।”

 

के हो ‘फिनसेन फाइल्स’ ?
अमेरिकालगायतका देशमा हुने व्यापार व्यवसायका क्रममा कुनै व्यक्ति वा संस्थाले शंकास्पद वा अवैध आर्जन, कारोबार गरेर सम्पत्ति शुद्धीकरण र अन्य आपराधिक क्रियाकलाप गर्न खोजेमा ब्यांक तथा वित्तीय संस्थाले उक्त गतिविधि निगरानी गर्नुपर्छ। त्यस्तो देखिए ६० दिनभित्र ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) लाई जानकारी दिनुपर्छ। यो अमेरिकी सरकारको ‘डिपार्टमेन्ट अफ दी ट्रेजरी’ अन्तर्गतको निकाय, संघीय सरकारको राष्ट्रिय कोषको कार्यालय हो।

 

विभिन्न कागजातहरूबाट कुनै ग्राहकको बारेमा प्रश्न उठ्ने अवस्था आएपछि अमेरिकी ब्यांकहरूले त्यसबारे ‘फिनसेन’ लाई जानकारी गराउने गर्छन्। यस्तो निगरानीका क्रममा प्रत्येक वर्ष ‘फिनसेन’ मा शंकास्पद धनको कारोबार र ओसारपसार सम्बन्धी १० लाखभन्दा बढी प्रतिवेदनहरू तयार हुन्छन्।

 

‘फिनसेन’ का २ हजार १२१ शंकास्पद प्रतिवेदनहरू अमेरिकी सञ्चारगृह ‘बजफिड न्यूज’ ले प्राप्त गर्‍यो। उसले ‘फिनसेन’ बाट प्राप्त प्रतिवेदनहरूसहित २ हजार ६५७ फाइलहरू आईसीआईजेलाई उपलब्ध गरायो। त्यसका आधारमा आईसीआईजे, ‘बजफिड न्यूज’ र अन्य संचार संस्थाहरूबीच भएको सहकार्यमा १६ महीना लामो अनुसन्धानपछि यो खुलासा गरेको हो। जसलाई ‘फिनसेन फाइल्स’ नाम दिइएको छ।

 

‘फिनसेन फाइल्स’ सन् १९९९ देखि २०१७ सम्मको अवधिमा भएको कारोबारको खुलासा हो। यो अवधिमा ब्यांकहरूले आफ्ना ग्राहकको शंकास्पद आर्थिक कारोबार र ओसारपसारबारे निगरानी गरी ‘फिनसेन’ लाई जानकारी दिएका हुन्। फिनसेनले ब्यांकहरूबाट प्राप्त गरेको विवरण अनुसार, कुल २० खर्ब ९९ अर्ब ५८ करोड ५९ लाख २७ हजार २७५.४७ अमेरिकी डलरको शंकास्पद कारोबार भएको देखिन्छ।

 

आईसीआईजेले संयुक्त राष्ट्रसंघको ‘ड्रग एण्ड क्राइम अफिस’ ले गरेको संगठित अपराध र लागूऔषधको तस्करी गरेर आर्जन गरिएको अवैध धनबारे अध्ययन प्रतिवेदनलाई उद्धृृत गरेको छ। जसमा सन् २००९ मा आपराधिक तरिकाले गरेको आम्दानी विश्वको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३.६ प्रतिशत रहेको देखाएको थियो। जीडीपीको २.७ प्रतिशत अर्थात् १६ खर्ब अमेरिकी डलर रकम चाहिं शुद्धीकरण गरिएको अध्ययनको निष्कर्ष थियो। “सोही तथ्यांक विश्लेषण अनुसार विश्व अर्थतन्त्रको २.७ प्रतिशत रकम अवैध रूपमा आर्जन गरिएको धन हो” आईसीआईजेले भनेको छ, “यो रकम अन्तर्राष्ट्रिय वित्तीय प्रणाली मार्फत शुद्धीकरण गरियो। अहिले यो रकम २४ खर्ब अमेरिकी डलर बराबर हो।”

 

ग्राहकको निगरानी राख्ने फिनसेनले आईसीआईजे र अन्य कुनै पनि मिडियालाई औपचारिक प्रतिक्रिया दिन चाहेन। उल्टै फिनसेनले १ सेप्टेम्बर २०२० मा विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमले शंकास्पद गतिविधिसम्बन्धी प्रतिवेदन (सार) र सरकारका धेरै वर्ष पहिलेका संवेदनशील कागजपत्रमा आधारित रिपोर्टहरू प्रकाशित गर्न खोजेको बारेमा आफू सचेत भएको बताएको थियो।

 

फिनसेनले सारको अनधिकृत खुलासा भए अपराध हुने र त्यसले अमेरिकाको राष्ट्रिय सुरक्षामा असर गर्न सक्ने भनेको छ। “फिनसेनले यसको जानकारीलाई अमेरिकाको न्याय विभाग र ट्रेजरी विभागको महानिरीक्षकको कार्यालयलाई पठाएको छ”, विज्ञप्तिमा भनिएको छ।

 

(अरुण कार्की र प्रमोद आचार्यको सहयोगमा)

(स्पष्टीकरणः १ अमेरिकी डलरलाई नेपालीमा ११९ रुपैयाँले हिसाब गरिएको छ । आईसीआईजेले तथ्याङ्क प्रस्तुतिमा ठूला अंकको रकम मात्रै उल्लेख गरेको हुँदा यो समाचारमा उल्लिखित अंकहरू र उसले सार्वजनिक गरेका अंकमा सामान्य तलमाथि पर्न गएको छ । उल्लिखित शंकास्पद कारोबारमा संलग्न कतिपय संस्था तथा व्यक्तिहरूसँग प्रतिक्रिया लिने हाम्रो प्रयास सफल हुन सकेन । यो सामाग्री प्रकाशित भएपछि पनि उनीहरूबाट हाम्रो प्रश्नको जवाफ वा छुट्टै प्रतिक्रिया प्राप्त भएमा स्थान दिनेछौं । –सम्पादक, खोज पत्रकारीता केन्द्र)
थप सामग्री : https://www.himalkhabar.com/news/118626

सम्बन्धित खबरहरु