सप्तरी । कोरोना सङ्क्रमणबाट आइतबार दिउँसो मृत्यु भएकी सप्तरीको विष्णुपुर गाउँपालिका–३ की ६२ वर्षीया महिलाको लाश अझै उठ्न सकेको छैन । रुघाखोकी र ज्वरो लागेपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएकी महिलाको आइतबार दिउँसो सङ्क्रमण रिपोर्ट पोजेटिभ आएको केही घण्टामा नै मृत्यु भएको थियो ।

सम्बन्धित स्थानीय तहले लाश लैजान नसक्दा रातभरि लाश आइसोलेशन केन्द्रमा नै रहेको कोभिड–१९ व्यवस्थापन संयोजकसमेत रहेका गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा रणजीतकुमार झाले बताउनुभयो ।

 

शुक्रबार अस्पताल भर्ना भएकी महिलाको आइतबार रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशन केन्द्र पु¥याएलगत्तै साँझ ५ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । लाश व्यवस्थापन नहुँदा मृतकका परिवारका सदस्य र गाउँले अस्पताल परिसरमा बसेका छन् । उनीहरुले व्यवस्थापन गर्न नसक्ने भए लाश जिम्मा दिन माग गरेका छन् ।

कोभिड– १९ का कारण मृत्यु भएका व्यक्तिको लाश व्यवस्थापन कार्यविधि– २०७६ मा लाशलाई चाँँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पु¥याउनुपर्ने उल्लेख छ । कोरोना सङ्क्रमितको मृत्यु भएमा नेपाली सेनाले सम्बन्धित स्थानीय तहको भौतिक सहयोगमा व्यवस्थापन गर्दै आएको छ । यसअघि मृत्यु भएका लाशको व्यवस्थापन अन्य स्थानीय तहमा नगर्न दबाब दिँदै स्थानीय तहका प्रमुखले आआफ्नो स्थानीय तहमा गर्नुपर्ने भन्दै आवाज उठाएपछि लाशको व्यवस्थापन आफ्नै पालिका क्षेत्रमा गरिँदै आएको छ ।

लाश व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यकपर्ने गाउँपालिकाको जेसिभी सर्भिसिङमा भएकाले लाश व्यवस्थापन गर्न समस्या भएको विष्णुपुर गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताउनुभयो । अन्य स्थानीय तहसँग माग्दा पनि जेसिभी उपलब्ध नभएकाले आज लाश व्यवस्थापनको प्रयास भइरहेको बताउनुभएका अध्यक्ष यादवले मृतककै गाउँ मुसहरनियामा लाश व्यवस्थापन गरिने जानकारी दिनुभयो । सप्तरीमा योसँगै मृत्यु हुनेको सङ्ख्या दुई महिलासहित १० जना पुगेको छ ।

 

सम्बन्धित खबरहरु