काठमाडौ । पार्टी विवाद समाधानसँगै नेकपा मन्त्रिपरिषद् पुनर्गठनको एजेन्डामा पसेको छ। स्थायी समितिले यो सरकारको बाँकी कार्यकाल साढे दुई वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीले नै नेतृत्व गर्ने टुंगो लगाएपछि मन्त्री हेरफेरको तयारी भएको हो।

 

प्रधानमन्त्री ओलीले नै आइतबार पहिलो पटक सचिवालय बैठकमा यो विषय प्रवेश गराएका छन्। सचिवालय बैठक आइतबार पार्टीको जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको थियो। बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिपरिषद् पुनर्गठनबारे सैद्धान्तिक छलफल मात्र भएको बताए । ठोस कुरा भने केही नभएको प्रवक्ता श्रेष्ठको भनाइ छ। ‘सैद्धान्तिक छलफल मात्र भएको छ, ठोस निष्कर्ष निस्किसकेको छैन’, प्रवक्ता श्रेष्ठले अन्नपूर्णसँग भने।

 

स्थायी समितिले भदौ २६ गते पार्टीमा पुरानो विवादमा नफर्किने निश्चित समय ‘कट अफ डेट’ निर्धारण गरी पुनः पुरानै अन्तरविरोधपूर्ण विवाद नगर्ने सुनिश्चित गरेको थियो। त्यससँगै पारित प्रस्ताव कार्यान्वयनका चरणमा नेकपाले मन्त्रिपरिषद् पुनर्गठनको विषय अघि बढाएको हो।

 

प्रधानमन्त्री ओलीले आइतबार बैठकको सुरुमै सरकार पुनर्गठनका विषयमा निर्णय लिन स्थायी समितिले आफूलाई अधिकार दिएको भन्दै त्यसका विभिन्न विकल्पमा सुझाव दिन आग्रह गरेका थिए। ‘सरकार पुनर्गठनमा हामीले छलफल गरौं। तपाईंहरूले पनि सुझाव राख्नुहोस्। यसमा अनेक विकल्प छन्’, बैठकमा प्रधानमन्त्रीले राखेको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले अन्नपूर्णसँग भने, ‘पहिलो विकल्प अहिलेका सबै मन्त्रीलाई हटाएर नयाँ व्यक्ति लैजाने। यो विकल्प कत्तिको उचित होला रु दोस्रो, दुई वर्ष पूरा भएका मन्त्रीलाई बिदाइ गर्ने, नयाँ ल्याउने। तेस्रो अहिले रिक्त रहेका मन्त्रालयमा नयाँलाई लैजाने र केहीकेहीलाई अहिले रहेकालाई झिकेर नयाँ राखेर जाने। कुन उपयुक्त हुन्छन्, सुझाव दिनुहोस्।’

 

पार्टी एकतापछि दोस्रो पटक पेरिसडाँडास्थित कार्यालय पुगेका ओलीले त्यस्तो धारणा राखेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बैठकका एजेन्डा प्रस्तुत गरेका थिए। ‘स्थायी समितिले निर्णय गरेका प्रस्तावको कार्यान्वयनका विषयमा छलफल गर्ने गरी बैठकको कार्यसूची छन्’, दाहालले भने, ‘एजेन्डा ४ ओटा छन्। पहिलो मन्त्रिमण्डल पुनर्गठन, दोस्रो संवैधनिक तथा राजनीतिक नियुक्तिबारे सुझाव, तेस्रो संगठनात्मक एकताका बाँकी काम र चौथो, विविध। यी एजेन्डामा रहेर सैद्धान्तिक छलफल गरौं।’

 

दाहालले मन्त्रिपरिषद्का एजेन्डामा पहिले छलफल केन्द्रित हुने भन्दै त्यसमा आफ्ना धारणा राखेका थिए। ‘सबै मन्त्रीहरू हटाएर जाऔं त म भन्दिनँ। राम्रा काम गरिरहेकाहरू पनि हुनुहुन्छ। उहाँहरूका हकमा बोल्न पनि हुन्न। पहिलाका सिनियर राम्रा काम गरेकाहरूलाई राखेरै जानुपर्छ। बाहिर पनि वरिष्ठ नेताहरू हुनुहुन्छ। उहाँहरूलाई पनि जिम्मेवारी दिएर प्रभावकारी सरकार सञ्चालन गर्ने गरी जानु राम्रो हुन्छ। नयाँ राख्दा वरिष्ठ, योग्य, क्षमतावान्, समावेशी बनाएर राख्नुपर्छ’, दाहालको भनाइ थियो, ‘तर, बोल्ड निर्णय आवश्यक छ। काम गर्ने र युवा पुस्तालाई अगाडि सार्नुपर्छ। जनतालाई काम गरेको अनुभूति दिने गरी पुनर्गठन गरेर जानुपर्छ। ’ यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

 

सम्बन्धित खबरहरु