काठमाडौ । नियमित प्रक्रियाबाट मुख्य सचिव हुने प्रावधान मिच्दै सरकारले आफू अनुकूलका व्यक्तिलाई मुख्य सचिव बनाउने तयारी गरेको छ । सरकारले मुख्य सचिव लोकदर्शन रेग्मीलाई केही दिनभित्रै राजीनामा दिन लगाएर परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीलाई मुख्य सचिव बनाउने गरी आन्तरिक गृहकार्य अघि बढाएको हो । प्रशासनीक रुपमा मुलुकको एक मात्र सर्वोच्च पदमा पुग्न वैरागीलाई भाग्यले नै साथ दिएको छ ।

 

सरकारको इच्छाबमोजिम मुख्य सचिव रेग्मीले राजीनामा दिए निजामती सेवाको सर्वोच्च पद मुख्य सचिवका लागि आधा दर्जन सचिव प्रतिस्पर्धामा भए पनि अन्ततः परराष्ट्र सचिव वैरागीले बाजी मार्ने निश्चित छ । मुख्य सचिव रेग्मीलाई भने राजीनामा दिन लगाएर बेलायतको राजदूत बनाउने तयारी गरिएको छ ।

 

मुख्य सचिव रेग्मीको तीन वर्षे कार्यकाल आगामी ६ कात्तिकमा सकिँदै छ । तर उनलाई त्यसअगावै राजीनामा दिन लगाई परराष्ट्र सचिव वैरागीलाई मुख्य सचिव बनाउने गरी गृहकार्य अघि बढाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

 

वैरागीलाई मुख्य सचिवका लागि बाटो खुलाउन रेग्मीले २२ असोजअगावै राजीनामा दिइसक्नुपर्छ । मुख्य सचिव रेग्मीले राजीनामा नदिएको अवस्थामा वैरागीले २२ असोजमा अवकाश पाउनेछन् ।

 

नियमित प्रक्रियाबाट मुख्य सचिव परिवर्तन हँुदा प्रशासन सेवाकै सचिव चन्द्रकुमार घिमिरे मुख्य सचिवको पहिलो दाबेदारका रूपमा रहन्छन् । तर, मुख्य सचिव रेग्मीले आफ्नो पदावधि सकिनुभन्दा झन्डै तीन साताअघि नै राजीनामा दिने गरी सहमति जुटेकाले घिमिरेको मुख्य सचिव हुने बाटो करिब करिब बन्द हुने भएको छ ।

 

वैरागीलाई सहज हुने गरी १५ देखि २० असोजसम्म मुख्य सचिव रेग्मीले राजीनामा दिने निश्चित जस्तै भएको छ । मुख्य सचिवको दौडमा परराष्ट्रसचिव वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी, सार्वजनिक खरिद अनुगमन कार्यालयका मोहनकृष्ण सापकोटा, उद्योग सचिव चन्दकुमार घिमिरे, वन सचिव विश्वनाथ ओली र सहरी विकास सचिव मधुसूदन अधिकारी लगायत छन् ।

 

मुख्य सचिव रेग्मी ६ कात्तिकसम्ममा नै पदमा रहँदा मुख्य सचिवको दौडमा रहेका वैरागी त्यसअघि नै सेवानिवृत्त हुने भएकाले मुख्य सचिव रेग्मीलाई तीन साताअघि नै राजीनामा दिलाउन लागिएको हो ।

 

परराष्ट्र सचिव वैरागी, पर्यटन सचिव अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव सापकोटाको पदावधि २२ असोजसम्म मात्रै रहेको आजको राजधानी दैनिकमा खवर छ ।

 

सम्बन्धित खबरहरु