हुम्ला । हुम्लाको लाप्चा बगरमा चीनले नेपाली भूमि कब्जा गरेको स्थलगत अध्ययन गर्न पुगेको टोली निरिह भएर फर्किएको छ । हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली देखेपछि चिनियाँ सेनाले यो भूमि हाम्रै हो, वार्ता गर्ने भए सीमामा आउ भनेर माइकिङ गरेपछि त्यो सुनेको नेपाली टोली फर्किएको छ ।

 

 

अध्ययनका लागि गएको टोलीका एक सदस्यले चीनले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेपछि आफुहरु त्यहाँबाट फर्किएको बताए । हामीले त्यहाँका स्थानीयसँग कुरा गर्यौँ । इमान्दारसँग भन्नुपर्छ भोगचलन गरिरहेकाहरुको कुरा सुन्दा भूमि नेपाली हो । नक्सा भिडाउँदापनि नेपाली नै हो भन्ने देखिन्छ । तर चीनले आफ्नो दावी गरिरहेको छ । अब यो राज्य स्तरबाट समाधान खोज्नुपर्ने विषय देखियो उनले भने ।

 

 

नेपाली भूमि अतिक्रमण गरेर संरचना बनाएको खबर आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा टोली स्थलगत अध्ययनमा गएको थियो । टोलीसँगै गएका नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङका अनुसार चिनियाँ पक्षले आफ्नै भूमि भएको दाबी गरेको छ ।

 

 

‘हामी चीनले भवन बनाएकै ठाउँसम्म पुगेका थियौं । त्यो ठाउँबाट दायाँ एक घण्टाको दुरीमा छ १२ नम्बर पिल्लर’ गाउँपालिका अध्यक्ष तामाङले भने, उहाँहरुले यो भूमि हाम्रै हो । तपाईहरुको केही कुरा भए बोर्डरमा गरौंला भन्नुभयो ।’

 

 

अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीलाई सेनालाई खबर गरेको थियो । एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो ।

 

 

चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ । गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन ।

 

११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनले बताए । ‘११ नम्बरको पिल्लर नेपाल सरकारले खोजेको छैन, कहाँ छ भनेर यकिन भएको छैन’ उनले भने, ‘१२ नम्बरको पिल्लरका आधारमा घर बनाइएको क्षेत्र चिनियाँ भूमि हो कि नेपाली भनेर यकिन गर्न सकिन्न ।’

 

यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ । नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ । केही बर्ष अघिको भवन पशु परीक्षण केन्द्र हो दुबै देशको लाभका लागि बनाएको भन्दै चीनले जवाफ दिएको थियो । तर अब त्यहाँ ब्यपारिक केन्द्र नै बनाएको छ ।

 

सम्बन्धित खबरहरु