काठमाडौं । नेपालमा एक अनौठो खालको नोट फेला परेको छ । ओखलढुंगाको एक निजी बैंकमा गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेपछि बबाल भएको हो । सनराईज बैंकको ओखलढुंगा शाखामा राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर नभएका नोट फेला परेको जनाइएको छ ।

कारोबारका क्रममा आइतबार देखिनै त्यस्ता नोटहरु फेला परेको सनराइज बैंकका प्रबन्धक ख्यामराज राना मगरले बताउनुभयो । त्यस्ता नोटमा अन्य कुनै फरक नरहे पनि हस्ताक्षर नभएकाले शंकास्पद भएको बैंकले जनाएको छ ।

आइतबारदेखि नै कारोबारका क्रममा त्यस्ता नोट भेटिएका हुन् । आइतवार दुई थान, सोमवार तीन थान र मंगलवार आठ थान पाँच सय रुपैयाँका नोट भेटिएको बैंकले जानकारी दिएको छ ।

स्थानीयले बैंकमा पैसा जम्मा गर्दा भेटिएका नोटहरु ग्लोबल आईएमई बैंक, एनआई सि एसिया र सिभिल बैंकबाट सिल भएर आएका बन्डलहरुमा पाइएको बताइएको छ ।

नोटहरुमा नेपाल राष्ट्र बैंकका गर्भनरको हस्ताक्षर मात्रै नभएको र नेपाली रुपैयाँमा हुनुपर्ने सबै मापदण्डहरु रहेकाले ती नोटहरु नक्कली नै हुन भनेर एकिन गर्न नसकिने बैंक बताउँछ । नोट पहिचानका लागि नेपाल राष्ट्र बैंकमा पठाउने तयारी भइरहेको छ ।

सम्बन्धित खबरहरु