काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले नेपालसँग सीमा जोडिएको कुनै पनि ठाउँमा विवाद नरहेको बताएको छ । चीनले नेपाली भूमिमा बनाएको भनिएका भवनहरुको सत्यतथ्य जाँच गर्न नेपालले पनि सक्ने जनाएको छ । हुम्लाको लाप्चाबगरमा चीनले नेपाली भूमि अतिक्रमण गरेर भवनहरु बनाएको समाचार सार्वजनिक भएपछि चीनको यस्तो बयान आएको हो ।

काठमाडौंस्थित चिनियाँ दूतावासले एक प्रेस नोट जारी गर्दै भनेको छ, ‘चीन र नेपालबीच कुनै पनि क्षेत्रीय विवाद छैन । दुवै पक्षले सधैं सीमाबारे निकट सम्बन्ध बनाएका छन् ।’ नेपाल–चीन निकटका छिमेकी हुन् भन्दै चिनियाँ दूतावासले नेपालको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गरेको जनाएको छ ।

यसअघि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर २० तारिख नेपालका राष्ट्रपति विद्या देवी भण्डारीलाई बधाइ सन्देश पठाएर नेपालको राष्ट्रिय दिवसको शुभकामना व्यक्त गर्नुभएको थियो । सी चिनफिङले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबीच आपसी भ्रमण गरेबाट दौत्य सम्बन्धलाई विकास तथा समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनैतिक सहयोग साझेदारी सम्बन्धमा उकासिएको भन्दै यस वर्षयता दुई देशले मिलेर महामारीको विरूद्ध लडेबाट चीन र नेपालबीचको मित्रता अझ सुदृढ तथा गहिरो भएको देखिएको उल्लेख गरेका थिए ।

चीन–नेपाल सम्बन्ध विकासमाथि आफूले उच्च ध्यान दिनुका साथै राष्ट्रपति भण्डारीसँग चीन–नेपाल सम्बन्ध र विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई अरू विकास गरी दुई देश र दुई देशका जनतालाई अरू फाइदा पुर्याउने इच्छा लिएको पनि सीले बताएका थिए ।

सम्बन्धित खबरहरु