रसुवा । छिमेकी मुलुक चीनसँग सीमा जोडिएको रसुवा जिल्लामा कोरोना सङ्क्रमित शून्य भएको छ । पछिल्लो समय जिल्लाभित्र कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन् ।

 

हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताउनुभयो । क्वारेन्टिनमा भने पटक पटक गरी ४७३ जना राखिएको थियो ।

 

 

अहिले ती सबै आआफ्ना घर गइसकेको जनाइएको छ । अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ । जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको प्रमुख श्रेष्ठले बताउनुभयो ।

 

जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि दुई अस्पताल, दुई आइसोलेशन र १८ स्वास्थ्य केन्द्र छन् । केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ । मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गर्नुभयो ।

 

सम्बन्धित खबरहरु